हराए तीजका मौलिक भाका

डिसी नेपाल
९ भदौ २०८२ २३:०७
48
Shares

घोडाघोडी । कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो। दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे। दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो। ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन्। मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे।

घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिन्छिन्। उनी भन्छिन्, ‘रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे। सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो। अब त ती सबै हराउँदै गए।’

स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै छ। उनी भन्छिन्, ‘पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे। गीत गाउने माध्यम आफ्नै आवाज थियो। अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए।’

+समय फेरियो। मादलको स्थान ‘साउण्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो। मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको कैलाली जिल्ला समन्वय प्रमुख टीका चौधरी भुल बताउँछिन्। पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए।

स्थानीय ६५ वर्षीय मैती बुढाथोकीले विगत सम्झँदै भनिन्, ‘माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो। मादल मुजुरा जस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो। अब त मादलको भाका सुनिनै मुस्किल पर्छ।’

पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठूलो परिवर्तन आएको छ। भड्किलो दुई अर्थी शब्दहरूको प्रयोग बढेको घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी बताउँछिन्। चौधरीले भनिन्, ‘मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त देखिन छाडियो।’

मौलिकता हराउँदै जाँदा सबैभन्दा ठूलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ। यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छभने अर्कोतिर मादल बनाउने र बजाउने पेसा सङ्कटमा परेको छ। लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी भन्छन्, ‘तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो। मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्नै गाह्रो छ।’

तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन्। कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ। अघिल्लो वर्ष पनि आयोजना गरेको पालिकाले यस वर्ष सोमबार तीज प्रतियोगताको आयोजना गरेको हो। यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने नगरपालिकाका प्रमुख खड्क रावत बताउँछन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.