सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

डिसी नेपाल
१२ भदौ २०८२ १२:३३
1.5k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ चौडस्थित सडकमा ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ बस्ने १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्। साथै दुर्घटनामा घाइते भएका जिप चालक र जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ।

ललितपुरको गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दिपक बिष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.