लघुकथा: एकल निर्णय
नयाँ घरजम-चन्द्रेश र चंचलाको।
चन्द्रेश साहित्यमा रुचि राख्ने। लेख्ने पनि।
लमीले भनेकै थियो-“जागिरे मात्र होइन, केटा साहित्यकार पनि हो। साहित्यकारहरूका बीच खास पहिचान पनि छ-उसको।”
चंचलाको कुनै जागिरे केटासँग बिहे हओस् र उसले लगालग डिग्री पूरा गरोस् भन्ने चाहना थियो-उसका बाबुआमाको। चन्द्रेश जागिरे पनि थियो।
“केटो जागिरे हो। शहरमा बस्छ। अरु कुरा जेसुकै होस्।” लमी गई सकेपछि चंचलाको बाबुले घरसल्लाहमा भनेका पनि थिए।
र, चंचला र चन्द्रेशको बिहे भयो।
बिहे गरेर शहर फर्केको सत्रौं दिन।
तरकारी किन्न निस्केको चन्द्रेश उपन्यास लिएर ढिलो फर्कियो।
चंचलाको मन गहिरो किसिमले चसक्क गर्यो।
चन्द्रेशले भन्यो- “पैसाले कहिल्यै नपुग्ने। यो उपन्यास किन्न धेरै मन थियो। आज किनें। … तरकारी गुन्द्रुक पकाऊ– आज। यो राष्ट्रिय तरकारी मलाई त खुब मिठो लाग्छ। तिमीलाई नि?”
चंचलाले के भनोस्।
सिनेमा हेर्न जाँदा पनि त्यस्तै भयो।
डेराबाट हिँड्दै बजारको किताब पसलमा पुगेपछि चन्द्रेशले भन्यो-“कयौं दिनदेखि खोजेको कविता संग्रह यहाँ रहेछ। यो दुर्लभ किताब हो। यहाँ छ भन्ने सुइँको पायो भने अर्कैले उडाइदिन सक्छ।… अर्को कुनै दिन हेरौंला-सिनेमा। यो मेरो बचन भयो।”
चंचलाको मन आज पनि नराम्रोसँग चिसो भयो।
चंचलालाई लाग्यो : गाह्रो छ-यो सहयात्रा।
उसले छुट्टिने निर्णय गरी।
चंचलाको निवेदनको पेटबोलीमा मुख्य बुँदा थियो-“एकल निर्णय प्रक्रियाका विरुद्ध।”
















Facebook Comment