धनगढी टु दिपायल
रातको अन्धकारलाई चिरेर सूर्यको तेजिलो किरणले तराईको सम्म परेको मैदानमा उज्यालो छरिदिन्छ। म पनि त्यही शुभ-प्रभातिकरणसँगै हातमा कालो व्याग र निधारमा रातो टीका लगाएर दिपायलको लागि प्रस्थान गर्न लाग्छु।
धनगढी बजारमा चहल पहल सुरु भइसक्छ। रिक्सामा बसेर बसपार्क तिर लाग्छु। बसले लामो हर्न बजाइरहको हुन्छ। सायद छुट्नै लाग्यो क्यार। हतार हतार दिपायल सम्मको लागि एउटा टिकट लिएर बस भित्र छिरे। ए मेरी बास्सै! बसभित्र त यात्रुहरु भेडाबाख्रा हुलिए झैँ हुलिएका थिए। बसभित्र बसेका हैनौं कोचिएका थियौँ। ठिक सात बजे बस पांग्रा गुडाउँन थाल्छ।
बस एक तमासले गुड्दै अत्तरिया हुँदै गोदावरी पुगिसक्छ। तराईको मैदानी फाँटहरु छिचोलेर बस पहाडका उकलीहरुमा चढ्न थाल्छ। गोदावरी नदीको पुल क्रससँगै। बस गोदावरीका मोडहरु पार गर्दै हुन्छ, म बसको शिसाबाट तराईको हरियाली फाँटहरुको दृश्यावलोकन गर्न व्यस्त हुन्छु।
पूर्वको क्षितिजबाट आएको सूर्यको तेजिलो किरणले मलाई न्यानो स्पर्श दिन्छ। बसको घुम्तीहरु सँगै म पनि मेरा यी चञ्चल नजरहरु यताउता चारैतिर दौडाइरहन्छु। बसभित्र यात्रुहरु आ-आफ्नै ध्यानमा हुन्छन्। कोही गफमा व्यस्त त कोही निन्द्रादेवीसँग लुकामारी खेलिरहेका हुन्छन्।
कोही वीर पुरुषहरु चुरोटको लामो धुँवा उडाइरहेका हुन्छन् आफ्नै धुनमा। कसैको प्रवाह नगरी। मेरा नजरहरु बसभित्रको यस्तो वातावरणमा कैद हुन सकेनन्। प्रकृतिको स्वतन्त्र वातावरण नियाल्नमा आतुर हुन्छन्।
जति जति बस माथि उकालो चढ्दै थियो त्यति त्यति तराईका ति हरिया फाँटहरुको दृश्य स्पष्ट हुँदै जान्थ्यो। नागबेली झँै बग्दै गरेका ति नदीहरु अहा! कति सुन्दर।
बसभित्र बज्ने गितसंगितले यो मन झनै रोमाञ्चित बन्न पुग्छ। पहाडको उकालीसँगै चिसो चिसो हावाले शिशाको चियाँबाट भित्र पसेर चिमोठ्न थाल्छ। यो चिमोठाईमा पनि कति आनन्द आउँछ। बुढितोला, खानीडाँडा हुँदै बस भासुको भिरमा गुड्दै हुन्छ।
अहो ! कस्तो डरलाग्दो भिर? यहाँबाट खस्यो भने त, अहँ, यस्तो सोच्नै हुन्न। म झ्याल खोलेर राम्ररी नियाल्छु। सडकका किनारमा कतै कतै सानासाना स्मारकहरु बनाइएका थिए। सायद भासु सडकखण्डमा भएका सडक दुर्घटनामा ज्यान गुमाएका चालक वा अन्य कुनै व्यक्तिको सम्झनामा बनाइएका हुनुपर्छ, मैले अनुमान लगाएँ।
पहाडमा यात्रा गर्नुको मज्जै बेग्लै। हरिया डाँडाकाँडा बनैया चराचुरुङ्गीहरुको मिठो संगीतमय आवाजहरु। चिसो स्वच्छ हावा। जता हेरे पनि प्रकृतिका ति सुन्दर उपहारहरु। पतझर मौसम सिद्धिएर बसन्तको आगवन हुने बेला भैसकेको थियो। बनैया बोटवृक्षहरु नयाँ नयाँ बस्त्र आभुषण फेर्न सपिङ गर्न जाँदै आउँदै थिए।
मानव हुँदो हो त वर्ष दिनमा दर्जनौँ वस्त्र फेरी हिँड्दो हो। तर यी त बनैया बोटवृक्ष थिए। तैपनि प्रकृतिले यिनीहरुलाई पटक्कै ठगेको भान हुँदैन। वर्षमा एक पटक भए पनि नयाँ बस्त्र पहि¥याइ दिन्छ। बोटवृक्षहरुमा जवानी चढेको आभाष हुन्छ। हावाको वेगसँगै बोटवृक्षहरु पनि एक अर्कासँग स्पर्श गर्न पुग्छन्, चुम्वन गर्न पुग्छन्। बसबाट म यी दृश्यहरु हेरिरहन्थे।
विभिन्न घुम्तीहरु सँगै सहजपुर, फल्टुडे हुँदै बुडर आइपुग्छौँ। कैलालीबाट डोटीको भूमीमा प्रवेश गरिसकेका हुन्छौँ। बुडरको अलि माथी देखिने सल्लाघारी, अनि त्यसबिचमा सेताम्मे गाई बथान पुच्छर डोलाउँदै चरिरहेको दृश्यले अष्ट्रेलियाको भेडाफार्मको धीत मार्दथ्यो।
घडीमा एघार बजीसकेको हुन्छ क्यार। बस टक्क अडिन्छ , बसभित्रको त्यो हुल भेडा गए झैँ होटलभित्र लम्किन्छन्। होटेलवालाहरुको पनि प्रतिस्पर्धा नै हुन्छ, आफ्ना ग्राहक बनाउने विषयमा। विभिन्न मिठा मिठा शब्दावलीहरु मार्फत् ग्राहक लोभ्याउने प्रयास तिनीहरुको जारी नै हुन्छ। म रमाइलो मानेर हेरिरहन्छु।
धेरै यात्रुहरु खाना खाँदै हुन्छन्, चालकले लामो हर्न बजाइदिन्छ। थालको भात त्यसै छोडी यात्रुहरु तछाडमछाड गरेर बसभित्र पुनः कोचिन्छन्। म सोच्छु, कति चलाख छन् है, यी होटेलवाला पनि। चालकसँग मिलेर यात्रुहरुलाई पेटभर खान पनि दिन्नन्। तर पैसा लिने बेलामा भने पुरै खानाको लिन्छन्। मनमनै घृणा जाग्न थाल्छ।
बसले पुन : आफ्नो गन्तव्य सुरु गर्छ। पहाडको उकाली सुरु हुन थालिसकेको हुन्छ। बस क्रमश ः उचाईमा गुड्न थालिसकेको हुन्छ। सल्लाघारी छिनोल्दै अघि बढीरहेको हुन्छ। पहाडको चिसो हावाले स्वागत गरिरहेको हुन्थ्यो। गोगनपानी हुँदै गैराबजार पनि कटिसकेको हुन्छ साहुखर्क पुग्छौँ। चिसोले झनै सताउँछ।
३÷४ ओटा गाडीहरु लामबद्ध भएर उभिरहेका हुन्छन्। हाम्रो बस पनि त्यहीँ रोकिन्छ। हिउँदको अन्त्य भए पनि, उच्च पहाडी इलाका भएका कारण चिसोले सबैलाई सताइरहेकै थियो। तातो चिया पिउने चाहनाले हामी सबै होटेलतर्फ लाग्छौँ।
होटेलभित्र अगेनामा ठूलाठूला मुढाहरु बालिरहेका थिए। त्यसमाथि मगमग बासना आइरहेको खीर उम्लिरहेको थियो। खीर देखेपछि कसको मन मान्दो हो र? सबैले खीर र चिया अर्डर गर्यौँ। चिसो मौसममा आगोको रापसँगै तातो खीर कति मिठो ! आज पनि त्यो साहुखर्कको खीरको सम्झना आउँछ। चिसो हावाको रप्तारसँगै बसले पनि आफ्नो गति लिन्छ।
गाडी पहाडको माथि माथि पुग्दै जाँदा वनका दायाँबायाँ राताम्य गुराँसका फूल देखिन थाल्छन्। अझै पनि कहीँ कतै चाँदीजस्तै सेतो हिउँ परेको माथि हरिया रुखहरुमा राता फूलहरु फूलेर कति सुहाएको! प्यासी भँवरा आफ्नो सुस्त सुस्त भुँ….भुँ आवाज निकाल्दै एक फूलबाट अर्को फूलमा आफ्नो प्यार बाँढेर उड्दै हुन्छन्।
फूलहरु पनि त्यस प्यारमा डुबेर रोमाञ्चले पुलकित हुँदै हुन्छन्। चिसो पहाडी हावामा चङ्गाझैँ आकाशीदैँ गएको मन तिनै फूलका थुंगाहरुमा लठारिएर बस्यो। मलाई कताकता स्वर्गकै आनन्द पाए झैँ महशुस भयो।
प्रकृतिको रमणीय दृश्यसँग लुकामारी खेल्दै हाम्रो यात्रा अघि बढ्दै हुन्छ। बसभित्र यात्रुहरु सब आ–आफ्नै धुनमा हुन्छन्। म भने बस भन्दा बाहिर प्राकृतिक दृश्यहरुसँग लुकामारी खेल्दै, हाई, हेलो को सम्बोधनसहित मित्रताको साइनो गाँस्दै बसिरहेको हुन्छु।
म आफ्नै संसारमा एक्लएक्लै रम्द हुन्छु। जब जब बसले आफ्नो गन्तव्य छोट्याउँदै जान्थ्यो, तबत प्रकृतिले पनि आफ्नो नौलो नौलो प्रस्तुती देखाउँदै जान्थी। उत्तर तिरका ती राष्ट्रका सच्चा पहरेदार चाँदी जस्तै टल्कने हिमशृङखलाहरुको दृश्यले मलाई झनै आकर्षित गर्दछ। म एकटकले बसको अघिल्लो शिशाबाट हेरिरहन्छु।
सुदूरपश्चिमका धरोहर तिनै सैपाल र अपीहरु मुस्कुराइरहेको देख्दा कसको मन पो नलोभिएला र! उनीहरुसँग अन्य हिमालहरु पनि मुस्कुराइरहेका हुन्छन्। म पनि मनमनै मुस्कुराउँछु, एक्लै। अहा! त्यतिबेलाको खुसी र आनन्दको क्षणलाई म अहिले कसरी मेरा यी फितला शब्दहरुमा व्यक्त गर्न सक्छु र?
डडेल्धुराको स्याउलेबाट बस दिपायलतिर मोडिन्छ। स्याउलेको त्यो चिसो हावाले कानै उडाएजस्तो लाग्छ। डडेल्धुराको ओराली सुरु भइसक्छ। चालक एकदमै संयमित भएर गाडी चलाउँदै हुन्छ। दिन ढल्कँदै हुन्छ।
टाउकोमा लकडीको भार बोकेर शरीर कवाज गर्दै घर फर्किरहेका ग्वालाहरुको दृश्यले मेरो पनि विगतलाई अलिकति भए पनि कोट्याइदिन्छ। दौडिरहेको बसमा म पनि आफ्नो विगततिर दौडिरहन्छु। सानो छँदा मेरो गाउँ मा म पनि साथीहरुसँग यसरी गोठालो जान्थे।
जंगलमा चिप्लेटी खेल्ने, पिङ खेल्ने, माछा मार्ने, लुकामारी खेल्ने गथ्र्यौ। एक दिन बाख्रा चराउन गएको बेला, आफू माछा मार्न थाल्दा, बाख्रा हराएको र बाघले खाएको, घरमा बुबाले खुबसँग पिट्नुभएको कुरा सम्झनाले अहिले पनि झसङ्ग हुन्छ।
हिउँदमा जंगलमा आगो बालेर, आगोको तातो रापसँगै आमाले भुटिदिएका मकै करम करम गरी खाएको सम्झँदा अहिले पनि मुख रसाएर आउँछ। कति निस्चल, निस्कपट र स्वतन्त्र थियो है, त्यो बालापन? जंगलमा भँवराझैँ मह चुस्न लालीगुराँसका प्रत्येक डालीडाली चहाथ्र्यौँ।
डडेल्धुराको सिमाना कटाएर गाडी डोटीको सिमानामा आइपुग्छ। किन किन म भित्र आत्मियताको भाव झल्किन्छ। कारण, डोटी मेरो गृह जिल्ला हो। जहाँ म जन्मे हुर्के र यहाँसम्म आइपुगेँ। खै, किन हो, अब त शरीर पनि गलिसकेको हुन्छ। यता ढल्काउँदा उता ढल्काउँदा, थकित भइसकेका हुन्छौ।
सायद जति छिटो गन्तव्यमा पुगियो भन्ने चाह सबैको थियो। चिसो अलि कम हुँदै जान्छ। सायद लेक सिद्धिएर होला। विभिन्न ओकाली ओराली, अनि घुम्तीहरु पार गर्दै बस बान्डुरीसैनको सडकमा गुडिरहेको हुन्छ। सडकको छेउछाउमा गहुँको बाला झुल्दै गरेको दृश्य अनि तोरी फुलेर पहेँलो भएको दृश्य निकै रमाइलो र लोभलाग्दो हुुन्छ।
बसको बाँया शिसाबाट यसो हेरेको मात्र थिए, एउटी हिमाल पुत्री सेती नदी दगुर्दी रैछिन्, त्यता हुँदा तर कसैसँग सरोकारै नराखी एक्लएक्लै। नदीका किनारका ती चाँदी जस्ता टल्कने सेता गोलढुङ्गाहरु अनि सेता ढुङ्गाहरुको बिचै बीच निलो पवित्र पानी बग्दै हुन्छ। कति रमाइलो दृश्य, हेरिरहुँ झैँ लाग्ने। संयोग नै मान्नुपर्छ, सडक पनि, त्यसै नदीको किनारै किनार माथि हुँदै गएको रहेछ। मेरा नजरहरु एकोहोरो, त्यसै हिमाल पुत्रीसँग जुध्दै हुन्छन्।
ठाउँठाउँमा देवस्थलहरु देखिन्थे, सबै यात्रुहरु नमस्कार वा प्रणाम गर्दै जान्छौँ। हामी त्यस दिनको यात्राको अन्त्यतिर आइसकेका हुन्छौ। गोपघाट, अणुँल, कालागढ, समुहगढ हुँदै बस पिपल्लाबजार पुग्छ, लामो हर्न बजाएर टक्क अडिन्छ। म पनि आफ्नो सानो पोकोपुन्टुरा बोकेर एउटा होटेलमा लम्किन्छु।
कस्तो अचम्म! विज्ञान प्रविधिले सञ्चारको दुनियाँमा अपत्यारिलो चमत्कार गरिदिए जस्तो लाग्छ। फेसबुक खोलेको मात्र के थिए, इन्बक्समा भएका मेसेजहरु मेरा नजरसम्म पुग्न तछाडमछाड गरिरहेका थिए। डोकोबाट बाहिर निस्कन लागेका बाख्राका पाठाहरुजस्तै। ‘गड्सेरा जाने हो’ तिर्थको मेसेज मेरो नजरमा परेर मानसपटलमा घुमिरह्यो।
‘गड्सेरा’ शब्दले नै मेरो मगजमा सुन्दर आकृति खिचिसकेको थियो। दश वर्ष भन्दा पहिलेको गड्सेराको चित्र मेरो मानसपटलको आँगनमा खेलिरहेको थियो। यो मन आँतुर थियो, गड्सेराको सुन्दरतामा रम्न। बनैया पंक्षीहरुसँग मितेरी गाँस्न। धेरै सोच्नै भ्याइएन। मेरा औँलाहरु कम्प्युटरको किबोर्डमा लम्किसकेका थिए। र टाइप गरिदिए ‘यस’। त्यसपछि सुरु भयो गड्सेरा तिरको यात्राको श्री गणेश। लक्ष्मीले ग्रुप च्याट सुरु गर्यो।
‘धनगढी टु गड्सा’। दश जना साथीहरुको ग्रुप बन्यो। मुकुन्दे, लक्ष्मी, तीर्थे, रमेश, टेकराज, चन्द्र, प्रेम, दिनेश, विकास र म। ग्रुप च्याटमा दैनिक कम्युनिकेशन हुन्थ्यो। कहिले जाने ? कसरी जाने ? के के लैजाने ?
हाम्रो कुलदेवताको पूजा हुने अवसर। बसन्त ऋतुको याम। काफल र ऐँसेलुको स्वाद चाख्न पाइने मौसम। एक काम दुई पन्थ हुने। आफ्नो कुलदेवता केदार भागेश्वरको पनि पूजा हुने, जन्मस्थान गड्सेराको पनि भ्रमण गर्न पाइने। सबैको मन चञ्चल र आँतुर थियो। डेट फिक्स भो २०७२ साल बैशाख १८ गते।
जति गड्सेरा जाने दिनहरु नजिकिदै थिए, त्यति नै यो मन चञ्चल र उत्साहित बन्दै गईरहेको थियो। धनगढी बस पार्कबाट दश ओटा टिकेट बुक गर्यौं। कुलदेवताको पूजाको लागि पूजा सामग्री खरिद गर्यौं। बाटोको लागि केही ड्राई फूड खरिद गर्याैं। गाउँले भाइबहिनीहरुको लागि केही चकलेट बिस्कुट प्याक गर्यौं।
ठ्याक्कै बाह्र वर्ष भइसकेको थियो। गड्सेरा नफर्किएको पनि। कक्षा १० को टेष्ट परीक्षा दिएर आइसकेपछि गड्सेरा जाने लगन नै जुरेको थिएन भनौँ। धेरै पटकको प्रयासपछि यसपाली म लगभग जान ठिक्क भइसकेको थिएँ। कित पटक टिकट समेत क्यान्सिल गर्नुपरेको थियो। तर, यसपाली त्यस्तो लक्षण केही थिएन।
सबै कुराको व्यवस्थापन गरिसकेका थिएँ। जीवन यस्तै रहेछ, अनायासै के के हुन्छ। जान्छु भनेर पनि कति पटक जान सकिएन। कुनै पूर्व योजना बिना नै यसपटक गड्सेराको यात्रा तय गरिसकेको थिएँ। मन चङ्गा भइसकेको थियो। हुन त भौतिक रुपमा यो शरीर धनगढीमा भए पनि मन त प्रत्येक पल गड्सेरामै घुमिरहेको हुन्थ्यो।
त्यहीँको हावामा उडिरहेको हुन्थ्यो। गड्सेरी गाडमा पौडी खेलिरहेको हुन्थ्यो बनैया पिङ्हरुमा झूमिरहेको हुन्थ्यो। धनगढीमा क्रमशः गर्मी बढिरहेको थियो। सडकको किनारमा ठेलामा आइसक्रिम राखेर ग्राहक पर्खिरहेको दृश्य बाक्लिदै थिए। मान्छेले सफा गर्न नसकेका फोहोर प्रकृति आफैंले आँधीहुरी बनेर सघाइरहेकी थिई।
फाट्टफुट्ट रुपमा छाता ओढेर निस्कने पैदल यात्रुहरुको संख्यामा पनि उकालो लागिरहेको थियो। एक दुई गर्दै दशै जना धनगढी बसपार्क पुग्यौँ। सबैको ओठमा मुस्कान छाइरहेको थियो। अनुहारमा नयाँ चमक पनि। एक जोडी आँखामा बेग्लै उत्साह र उमंग दौडिरहेको थियो। सबैको काँधमा एउटा एउटा झोला। तिर्थे र लक्ष्मीको कानमा एयरफोन। रमेशको घाँटीमा ठूलो क्यामरा।
गाडीले लामो हर्न बजायो। सायद बसपार्कबाट गन्तव्य तिरको संकेत थियो। आ-आफ्नो सिटमा बस्यौँ। बिस्तारै गाडीले गति लियो। यात्रुहरुको खचाखच भिड थियो। चुईगम चपाएर प्याट्ट-प्याट्ट गरिरहेका केही युवकहरुले दिक्क लगाउँथे।
तराईको समथर मैदानलाई छोडेर गाडीले पहाडको बाटो सुरु गर्यो। गोदावरीमा भगवान्लाई ढोग्यौँ र मनमनै सुरक्षित यात्राको लागि पनि कामना र प्रार्थना गर्यौं। गोदावरीका घुम्तीहरुमा यात्रा गरिरहँदा सुदूरपश्चिम महोत्सवमा चर्खा खेलेको भान हुन्थ्यो।
जति जति बसले पहाडतिरको उकालो नाप्थ्यो उति उति चिसो हावाले बसको झ्यालबाट चिमोठ्ने सुरु गथ्र्यो। त्यसबेलाको आनन्द नै बेग्लै। हाम्रा नजरहरु झ्यालको सिसाबाट प्राकृतिक सुन्दरताको रस्वादन गर्नमा अभ्यस्त थिए। सडकको किनारामा देखिने हरिया रुखहरु हिँडिरहेको जस्तो लाग्ने।
तराईको तातो हावा विस्थापित भएर बनैया बोटवृक्षबाट निस्कने मिठो सुगन्धसहितको ठण्डा ठण्डा हावाले हाम्रो यात्रालाई आनन्दायी बनाइरहेको थियो। सबै मौन थियौँ। सायद गोदावरीको घुम्तीहरुमा मन्त्रमुघ्न थियौँ। ड्राइभरले म्युजिक सुरु गरे। ऐंसेलु किन्भडी झुल…. फुलिरयै प्याउली फुल…… र अकस्मात कतैबाट नमिठो गन्ध आयो।
नजरहरु डुलाएँ। विकासले त सुरु गरिसकेछ क्या। तराईमा खाएको कुनै पनि खानेकुरा पहाड नलग्ने रे। लगातार बान्ता गरिरहेको थियो। बसको यात्रा खासै फाप्दैन उसलाई। हैरान देखिन्थ्यो। शरीर शिथिल। उसलाई समर्थन गरेर पछाडिको सिटमा पनि एक दुई जना म्युजिकको तालमा झ्याल बाहिर छाँदिरहेका थिए।
मोसन सिक भएर होला। विकासलाई ल्वाङ सुकमेल मुखभित्र राख्न सल्लाह दियौँ। केहि शान्त भयो। गोदावरीको उकालो काटेर बुढितोलाको सडकमा छाप्राहरुमा धुँवा फुस्फुसाइरहेको देखिन्थ्यो। ‘समुन्नत बाख्रा पालन समूहमा आएर केही अध्ययन अनुसन्धान गरेका थियौँ। खानीडाँडामा बस रोकियो।
‘सापकोटा चिया नास्ता पसलमा’ चिया नास्ता गर्यौँ। बसले गति लियो। भासुको भिरमा बस गुडिरहँदा यो मनभित्र कताकता डरले सवार गरिरहेको रहेछ। सडक किनारमा दुर्घटनामा ज्यान गुमाएका ड्राइभरको नाममा कहीँ कतै स्तम्भ बनाइएका देखिन्थे।
धेरै पटक यहि सडकमा थुप्रै सडक दुर्घटना भएको सुनेको थिएँ। तर आजकल सडकको स्तरोन्नती भएको रहेछ। यस्तो डरलाग्दो भिरमा समेत सडक पु¥याउने अज्ञात इन्जिनियर र कामदारलाई सम्झेँ।
सहजपुरको सल्लाघारीमा बस ओरालो लाग्यो। सल्लाको पातहरु खसेर सडक किनार कार्पेट विछ्याए जस्तो देखिन्थ्यो। लाग्थ्यो, प्राकृतिले रातो कार्पेट विछ्याएर पाहुनालाई आफ्नो आँगनमा स्वागत गरिरहेछ। सल्लाको रुखबाट खोटो चुहिरहेको देख्दा बाल्यकालमा आफ्नै नाकबाट चुहिरहने सिगानलाई सम्झेर मनमनै हाँसे पनि।
केहीछिनको ओरालो सिध्याएर गुरुजीले स्टेरिङ दाँया घुमाए र सुरु भयो सहजपुर विपीनगर सडकखण्ड। पिच रोड सिद्धिसकेको थियो। ग्राभिल सडकमा गाडी गुडिरहँदा बसभित्र शरीरले विभिन्न शास्त्रीय नृत्य देखाइरहेको हुन्थ्यो।
खलासीले पेनड्राइभ निकाले र घन्कियो ड्राइभरको बाटोमा धुलो उडाउँदै ………… तिर्थे र रमेश उफ्रिउफ्रि नाचिरहेका थिए। तर कसैकसैलाई बसको यात्रा पट्यार लागिरहेको पनि स्पष्ट लख काट्न सकिन्थ्यो कोहीकोही हाई काट्दै अल्छी मानिरहेका थिए।
सबै यात्रुतिर नजर डुलाइरहँदा अकस्मात् एउटा दृश्यले मेरोे ध्यानाकर्षण गरायो। पछाडिको सिटतिर एउटा नवविवाहित जोडी मायाका सौगात साँटासाट गर्नेतिर व्यस्त थिए। मेरो मनभित्र पनि नजानिँदो पारामा बिहे गर्ने चाह पलाएर आयो। र सम्झिएँ दुलहा भएर मण्डपमा घुमिरहेको।
दिवास्वप्नको धरातलमा पौडिरहेको भेट्टाएँ। कल्पना गर्न थाले विवाह पश्चातको हनिमुन पिरियडको। कुन ठाउँ रोज्ने होला मेरी उनीको लागी। नैनीताल, पोखरा, ईलाम नगरकोट, गोदावरी, सौराहा, खप्तड थुप्रै ठाउँहरुले एकै पटक डेरा जमाए। एक्ल एकलै रमाएँ आफ्नै कल्पनाको संसारमा।
चन्द्रले चुट्किला भट्याइरहेको थियो। मुकुन्दे उट्पट्याङ गरिरहन्थ्यो। प्रेम र दिपकको मुखबाट हाँसोको फोहोरा निस्किरहन्थ्यो। समूहमा यात्रा गर्दाको मजै बेग्लै हुने। विकास पनि सामान्य देखिन्थ्यो। भरतपुरमा कसैले गाडी रोक्ने ईशारा ग¥यो। गुरुले गियर घटाए, ब्रेक लगाए। एउटा मानव आकृतिमै मेरो एक जोर नजर टक्क गएर अडिए। म बाट केही इन्चको दूरीमा मात्र थिइ।
ऊ कफी कलरको टिर्सट र सेतो हाफ पाईन्ट लगाएर उभिएकी थिई। बिछट्ट राम्री लाग्न थाली। ओठमा अनारको रसजस्तै कलरको लिपिस्टिक थियो। गर्धनसम्म मात्र झुलेको छोटो कपाल फुक्का छाडिएको थियो। न नर्भस भएँ। मेरै सिट नजिक उभिई ऊ। दाँत टलक्क टल्कने गरी हाँसिरहेकी थिई। हाँसदा दायाँ गालामा डिम्पल पथ्र्यौ। शरीर बाट सुन्तलाको सुगन्ध आइरहेको थियो। हेरिरहेँ एकनाशले उनैलाई। ‘एक्सक्युज मी, अलिकति सिट सेयर गर्न मिल्छ की ?
मेरो मनकै कुरा बोली ऊ। मैले भन्नुभन्दा अगाडि ने भनिसकि। रमेश र म कोच्चिएर बस्यौँ। पुरै शरीर कम्पायमान भयो। सहज हुन प्रयास गरेँ। दाँया तिरबाट रमेश चिमोठिरहेको थियो। पछिल्लो सिटबाट मुकुन्देले आफ्नो आदत जनाइहाल्यो। कतिबेला टुप्पी तानिदिन्थ्यो त कतिबेला स्याउको दानामा पानको पात बनाएर देखाउँथ्यो। जे होस् केटाहरुले मसला पाएका थिए। गुरुले गीत चेन्ज गरेँ। लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई ……….।
बसभित्रको माहोल भिन्न भयो। मेरै मनभित्रको गीत जस्तो। मेरै लागि कसैले प्रिफर गरेको। बस आफ्नो गतिमा गुडिरहेको थियो। ठाउँठाउँमा स–साना खहरे खोलाहरुले यात्रामा केही तिक्तता त केही आनन्द ल्याउँथ्यो। खाल्डाखुल्डीमा बस जम्पिङ हुन्थ्यो। ‘ऐया र आच्छु’ गर्दै यात्रुहरु कराउँथे। मलाई त यस्तै खाल्डाखुल्डी रमाईलाृ लागिरहेको थियो।
परिचय गर्ने मौका खोज्दै थिएँ। सोचेँ यहि मौका हो सुरुवात गर्ने। मन बलियो बनाएँ। भएभरको साहस जुटाएँ। र ओठ खोलेँ, अप्ठेरो त भएन ? मोबाइलबाट नजर सार्दै मेरा आँखामा आँखा जुधाइन्। सायद आँखाबाटै जवाफ दिन चाहन्थिन उनि। मैले बुझ्न सकिन।
‘नाइँ, बरु तपाईलाई पो दुःख दिएँ है।’ मन्द मुस्कान सहित मेरो प्रश्नको जवाफ फर्काइन्। दुःख त कति पाएको थिएँ। मलाई मात्र थाहा थियो। तर कृत्रिम हाँसो हाँसे, ‘छैन छैन, ठिकै छ, अब त अलिकति त हो विपीनगर पुग्न।’ मुकुन्देले झोलाबाट पूजाको लागि ल्याइएको फूल मेरो हातमा थमायो। उनी आफ्नै मोबाईलमा अभ्यस्त थिइन्।
समय समयमा कहीबाट मेसेज आइरहेको संकेत मेसेज टोेनले दिन्थ्यो। र सँगै ओठहरु अलिकति खुल्थे मुस्कान छर्न। ढोकाबाट भित्रिने चिसो बतासले उनको फुक्का कपाल मेरो अनुहारसम्म ल्याएर छोडिदिन्थ्यो।
सुन्तला कलरको नेलपोलिस लगाएका औँलाहरु मेरो अनुहारसम्म आउन प्रयास गरिरहँदा उनका कपाल फेरि यथास्थानमा फर्किसकेका हुन्थे। र यस्तै लुकामारी चलिरहेको थियो। केटाहरुले के के भनेर जिस्काए मैले सुन्नै भ्याइन।
मुकुन्देले आफ्नो सिमै नाघिसकेको रहेछ। मेरो मन त अहिले अर्कैतिर थियो। अब त नाम सोध्छु भनेर मनमनै सोच्थे तर उनको मोबाइल व्यस्ततालाई भङ्ग गर्न सक्ने आँट जुटाउन सकिन। झिलिक्क लाइट बल्यो। मुकुन्देले क्यामेरामा हाम्रो तस्विर कैद गर्न भ्याइसकेछ। उनी पनि झस्याङ भइन्। एउटा अनौठो मुस्कानमा मलाई लठ्ठयाउँदै पुनः मोबाइलमै व्यस्त रहिन्।
सडक किनारामा बाख्रा चराउन गईरहेका केटाकेटी देख्दा मलाई आफ्नै बाल्यावस्थाको याद आउँथ्यो। हामी आजको गन्तव्यको नजिक पुगिसकेको संकेत ठूलीगाडले गरिसकेकी थिई। नभन्दै गाडी रोकियो। सबैजना आ-आफ्ना पोका पुन्दुरा बोकेर बरीर तन्काउँदै बाहिर ओर्लिए।
थ्याङ्क्यु फर शेयरिङ अ सिट, अंग्रेजी लवजमा धन्यवाद दिदैँ उनी त्यही यात्रुहरुको भिडमा अलप भइन्, मेरो प्रतिक्रियाको आशै नगरी। जिउ भारी थियो तर मन चरा भईसकेको थियो।
र पखेटा खोलेर उड्न थाल्यो उनैको खोजीमा। सकेन भेट्टाउन उनलाई। छट्पटाइ रह्यो धेरैबेरसम्म यो मन। पोखरीबाट बाहिर निकालेको माछा झैँ तिर्थे जिस्क्याउँथ्यो, के हो रे, गड्सेरा जाने हो कि यतै कतै ………?
‘छोडिदे यो कुरा।’ यत्ति भन्न सकेँ। सुर्यले दिन ढल्किसकेको संकेत गरिरहेको थियो। हाम्रो यात्रा आधा मात्रै पूरा भएको थियो। सल्लाह गर्यौँ। त्यो रात विपीनगरमै बिताउने पक्का भयो। विष्ट होटेल बुक गर्यौं। झोलाहरु राखेर एकछिन फ्रेस भयौँ। चाउचाउ अर्डर गर्यौं। गड्सेराको पानी मिसिएको चाउचाउको स्वाद नै मिठो। बेग्लै आत्मानुभूति भयो।
टेकराजको नुहाउन जाने प्रस्ताव राख्यो। ‘वाओ’ विकास पनि उफ्रियो। लाग्यौँ सबैजना ठूलीगाडतिर। चिसो पानी, सेता चिप्ला ढुङ्गा, निलो सफा ताल, कुनै सहरको रङ्गीचङ्गी स्विमिङ पुल, भन्दा कम सुन्दर थिएन त्यो। खुब रमायौँ। वर्षौ देखि तराईको गर्मीमा गलेको शरीरमा नयाँ उर्जा प्रवेश भयो।
शरीरका प्रत्येक अंगप्रत्यङ्ग चलायमान भए। गल्कुडी तालमा पौडी खेल्दाको पल ताजा भएर आयो। जिस्कियौं खुब। स्वतन्त्र थियौं। मनभित्रको बालापन उम्रिएर आयो र एकपलको लागी बिर्सिदियौँ आफूहरु वयस्क नागरिक हो भनेर। मात्तियौँ एकपल प्रकृतिको काखमा। गड्सेराबाट बगेर आएको पानीमा खुब खेल्यौं नाच्यौं। अहिलेसम्मका सम्पूर्ण दुःख, तनाव, बिर्सिसकेका थियौं।
















Facebook Comment