मानव जीवनमा चेतना, ऊर्जा र भौतिकताको सन्तुलन

तोमनाथ उप्रेती
२१ भदौ २०८२ ७:०४
28
Shares

ब्रह्माण्डको मूलरुप तीन आयाममा बुझ्न सकिन्छ-चेतना, ऊर्जा र भौतिकता। यी तीनै तत्वहरू आपसमा अन्तरसमन्वित छन्, जुन आध्यात्मिक दर्शनदेखि आधुनिक भौतिक विज्ञानसम्म प्रमाणित र विश्लेषण गरिएको छ।

मानव जीवन भौतिक अस्तित्वमा मात्र सीमित छैन; यो चेतना, ऊर्जा र भौतिकताको सुसंगत समन्वयमा आधारित छ। चेतना हाम्रो अन्तर्निहित अनुभूति, विचार, र आत्म-जागरुकता हो, जसले जीवनको उद्देश्य र मार्गदर्शनको आधार प्रदान गर्दछ।

ऊर्जा भनेको शरीर, मन र भावनाको गतिशील शक्ति हो, जसले चेतनालाई सक्रिय बनाउँछ र व्यवहारमा परिणत गर्छ। भौतिकता हाम्रो भौतिक शरीर, वातावरण, वस्तुहरू र सामाजिक संरचनाहरूको रूप हो, जसले जीवनको स्थायित्व र व्यवहारिक आवश्यकता पूरा गर्छ। जब यी तीन तत्वबीच सन्तुलन कायम हुन्छ, तब मानव जीवन पूर्ण, सशक्त र अर्थपूर्ण बनाउँछ।

चेतनाको विकास बिना, ऊर्जा र भौतिकता बाह्य क्रियाकलाप र पदार्थको खपतमा सीमित रहन्छ। जस्तो कि व्यक्ति अत्यधिक भौतिक सुख र ऐश्वर्यमा डुब्छ, तर आफ्नो आन्तरिक चेतना र मूल्यलाई बेवास्ता गर्छ भने मानसिक असन्तुलन, तनाव र जीवनमा अर्थहीनता उत्पन्न हुन्छ। ठ्याक्कै यसै प्रकार, चेतना सक्रिय नभएमा ऊर्जा दिशाहीन र भौतिक जीवन बिनाप्रेरणाको गतिशीलता मात्र बनिरहन्छ।

भौतिक जीवन पनि चेतना र ऊर्जा बिना सन्तुलित रहन सक्दैन। हाम्रो शारीरिक स्वास्थ्य, आवास, पोषण, र सामाजिक संरचना चेतनाको मार्गदर्शनमा सन्तुलित हुँदा मात्र जीवन स्थिर र सशक्त हुन्छ। अत्यधिक भौतिकताको मोहले चेतनालाई दबाउँछ र ऊर्जा विकृत हुन्छ, जसले मानसिक अस्थिरता र जीवनको असन्तोष उत्पन्न गर्छ।

सन्तुलनको अर्थ हो-चेतना, ऊर्जा र भौतिकतालाई आपसमा परस्पर सशक्त बनाउनु। मानसिक चेतनाले ऊर्जा व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ, ऊर्जा भौतिक आवश्यकताहरू पूरा गर्न उपयोगी बनाउँछ, र भौतिक संसाधनहरूले चेतना र ऊर्जा दुवैलाई स्थिरता र सुरक्षा प्रदान गर्छ। यही त्रिपक्षीय समन्वयले जीवनमा स्थायित्व, सृजनशीलता, र आन्तरिक शान्ति ल्याउँछ।

आइन्स्टाइनको प्रसिद्ध सापेक्षतावादको सिद्धान्त अनुसार, ऊर्जा र पदार्थ एक-अर्काका रूपान्तरण हुन्। यसले भौतिक वस्तुहरू ऊर्जामा रूपान्तरित हुन सक्छन् भन्ने कुरालाई पुष्टि गर्छ। यो वैज्ञानिक आधारले देखाउँछ कि सृष्टिको सबै वस्तुहरू एक किसिमको कम्पनात्मक ऊर्जा हुन्।

अब चेतनाको पक्षमा जाँदा, आधुनिक न्यूरोसाइन्स भन्छ कि मस्तिष्कको विद्युत गतिविधि नै चेतनाको आधार हो। चेतन प्रेक्षकको भूमिकाले क्वान्टम यान्त्रिक प्रणालीहरूमा पनि प्रभाव पार्न सक्छ भन्ने पत्ता लागेको छ । यसले देखाउँछ कि चेतना कुनै निष्क्रिय अवस्था होइन, तर ऊर्जा प्रवाहमा सक्रिय भूमिका खेल्न सक्छ।

पूर्वीय दर्शन, विशेष गरी उपनिषद् र भगवद्गीताले चेतनालाई ब्रह्म-सर्वशक्तिमान् ऊर्जा-सँग अन्तर्निहित रूपमा जोड्छ। ॐ ध्वनि, जुन ब्रह्माण्डीय कम्पनको प्रतीक मानिन्छ, चेतना र ऊर्जा बीचको सेतु हो।

यस दृष्टिकोणअनुसार, चेतना ब्रह्माण्डको सूक्ष्म कम्पनात्मक जानकारी हो, ऊर्जा यसको गतिशील अभिव्यक्ति हो, र भौतिकता यसको स्थूल रूप हो। यी तीन तत्वहरू परस्पर निर्भर छन्-एकअर्काविना न अपूरा छन्, न बुझ्न सकिन्छ। चेतनाको अनुपस्थितिमा ऊर्जा उद्देश्यहीन हुन्छ, र ऊर्जा विना चेतना स्थायित्वविहीन हुन्छ। त्यसैले चेतना, ऊर्जा र भौतिकताको समन्वय नै अस्तित्वको आधार हो।

वेदान्तको महावाक्य “अहं ब्रह्मास्मि” आत्मा र ब्रह्मबीचको अद्वैत सम्बन्धको घोषणा मात्र होइन; यो त्रैगुणिक अस्तित्व-शरीर, चेतना, ऊर्जा-को समष्टिगत दर्शन हो। जब हामी भन्छौं, “म ब्रह्म हुँ,” यसको अर्थ भौतिक शरीर होइन, चेतना पनि होइन, तर समग्र सत्ता हो, जसमा चेतना (चित्), ऊर्जा (शक्ति), र पदार्थ (रूप) एकीकृत छन्।

यसले व्यक्तिको अस्तित्व बहुआयामिक र परस्पर अन्तरसम्बन्धित भएको प्रमाण दिन्छ। ब्रह्मको त्रैगुणात्मक स्वरूप-सत् (अस्तित्व), चित् (चेतना), आनन्द (शक्ति)—सृष्टिको मूल सूत्र हो। सत् स्थायित्व र भौतिक आधार हो, चित् अनुभूतिको केन्द्र, र आनन्द दिव्य ऊर्जा हो। जब यी एकीकृत हुन्छन्, त्यसैलाई ब्रह्म भनिन्छ, र जब व्यक्ति यस समग्र अनुभवको अनुभूति गर्छ, तब उसले “अहं ब्रह्मास्मि” को वास्तविकता अनुभव गर्छ।

मानव शरीरमा यो त्रयतत्त्व स्पष्ट देखिन्छ। भौतिक शरीर सजीव हुन ऊर्जा आवश्यक पर्छ र ऊर्जा प्रयोग गर्न चेतनाको निर्देशन चाहिन्छ। उदाहरणका लागि, हात उठाउने साधारण क्रियामा मांसपेशी (पदार्थ) लाई सक्रिय गर्ने शक्ति (ऊर्जा) चाहिन्छ, र त्यसको प्रयोग गर्ने निर्णय चेतनाले गर्छ।

यही सिद्धान्तले देखाउँछ कि चेतना, ऊर्जा, र पदार्थ परस्पर निर्भर छन्-एकको अनुपस्थितिमा बाँकी दुई निरर्थक हुन्छन्। आधुनिक विज्ञानले पनि यसलाई पुष्टि गर्छ; ऊर्जा रूपान्तरण, न्यूरोलोजिकल चेतना, र बायो-केमिकल प्रक्रियाले जीवनीय प्रणाली त्रयात्मक तत्त्वको समुच्चय भएको प्रमाण दिन्छ।

यो अवधारणाले व्यक्ति र ब्रह्माण्डबीचको अन्तर्सम्बन्धलाई स्पष्ट बनाउँछ। प्रत्येक मानव सानो ब्रह्माण्ड हो र समग्र ब्रह्माण्ड उसको प्रतिबिम्ब। ब्रह्माण्डीय ऊर्जा, पदार्थ, र चेतनाको अन्तक्रियाले जस्तो सृष्टिलाई संचालित गर्छ, त्यसरी नै शरीरमा ऊर्जा, पदार्थ, र चेतनाको परिपक्व समन्वय हुन्छ।

आत्मसाक्षात्कार भनेको यही ब्रह्माण्डीय समन्वयलाई आत्मभित्र अनुभव गर्नु हो। जब व्यक्ति आफ्नै चेतनात्मक शक्ति, ऊर्जा र भौतिक अस्तित्वको पूर्णता महसुस गर्छ, तब ऊ व्यक्तिगत अस्तित्वको सीमाबाट मुक्त भएर ब्रह्मसँग एकाकार हुन्छ। यही मोक्ष हो, यही जीवनको चरम उद्देश्य हो।

अन्ततः, “अहं ब्रह्मास्मि” दार्शनिक वाक्य मात्र होइन; यो चेतना, ऊर्जा, र पदार्थको त्रैगुणिक समन्वयको प्रत्यक्ष अनुभूति हो। जहाँ यी तीन तत्व परस्पर एकीकृत हुन्छन्, त्यहीँ जीवन, ब्रह्माण्ड, र अस्तित्वको गहिरो सत्य प्रकट हुन्छ। चेतना विना ऊर्जा अन्धकार हो, ऊर्जा विना पदार्थ निरुपयोगी छ, र पदार्थ विना चेतनाको अभिव्यक्ति असम्भव छ-यसैले त्रयतत्त्वको समन्वय मानव जीवन र सृष्टिको आधारभूत सूत्र हो।

चेतना, ऊर्जा र भौतिकता मानव अस्तित्वका तीन आधारभूत स्तम्भहरू हुन्, जसको समन्वयले व्यक्तिको सम्पूर्ण जीवन, व्यवहार र अनुभूतिको जग बसाल्दछ। भौतिकता (शरीर वा रूप) जीवनको स्थूल रूप हो, जसले दृश्य संसारसँग हाम्रो सम्बन्ध स्थापित गर्छ; ऊर्जा (शक्ति) जीवनको प्रेरक तत्व हो, जसले हरेक क्रियालाई गति र बल प्रदान गर्छ; र चेतना आत्माको अभिव्यक्ति हो, जसले अस्तित्वलाई अनुभूति, निर्णय र बोध गराउने काम गर्छ। यी तीन तत्वहरू परस्पर निर्भर र पूरक छन्- एकको अभावमा बाँकी दुई अधूरा रहन्छन्।

वेदान्त र योगदर्शनमा यी तत्वहरूको समन्वय आत्म–साक्षात्कारको मार्ग हो। आधुनिक विज्ञानले पनि यो कुरालाई पुष्टि गर्छ कि चेतन, ऊर्जाशील र भौतिक तत्वहरूको जटिल सन्तुलनले मात्र जीवन सम्भव हुन्छ। “अहं ब्रह्मास्मि” को अनुभूति तब मात्र सम्भव हुन्छ, जब व्यक्ति आफ्नो भौतिक अस्तित्व, आन्तरिक ऊर्जा र सूक्ष्म चेतनाको पूर्ण समन्वयमार्फत ब्रह्मसँग एकाकार हुन्छ।

यसैले, चेतना, ऊर्जा र भौतिकताको समन्वित दर्शनले आत्म-पहिचानको मार्ग मात्र देखाउदैन समग्र जीवनलाई सन्तुलित, सशक्त र दिव्य बनाउने आधार निर्माण गर्छ। यही समन्वय नै आध्यात्मिक उन्नति, वैज्ञानिक खोज र मानवीय मूल्यहरूको अन्तिम स्रोत हो।

अन्ततः, मानव जीवनमा चेतना, ऊर्जा र भौतिकताको सन्तुलनले मात्र व्यक्तिलाई पूर्णता र उद्देश्य प्रदान गर्छ। जीवनको वास्तविक सफलता बाह्य उपलब्धिमा मात्र होइन, आन्तरिक सन्तोष, मानसिक स्थायित्व, र सृजनात्मक योगदानमा निहित हुन्छ।

जब चेतना जागृत हुन्छ, ऊर्जा सक्रिय र सकारात्मक प्रवाहमा हुन्छ, र भौतिकतालाई विवेकपूर्वक उपयोग गरिन्छ, तब मानव जीवन अस्तित्वमा होइन, उत्कृष्टता र आदर्शको स्तरमा पुग्छ। यही सन्तुलनले व्यक्तिलाई न स्व-परिपूर्णता तर्फ उन्मुख गर्छ, तर समाज र मानव सभ्यतालाई पनि स्थायित्व र प्रगतिसम्म मार्गदर्शन गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.