लघुकथा : राजा
एउटा जंगलको प्रान्तमा हल्लाखल्ला मच्चियो। अब के गर्ने? एउटा पुस्ताले अन्याय, थिचोमिचोको जोडदार विरोध गर्याे। जंगलको भौतिक क्षति निकै भयो।
अर्को जंगलको प्रान्त पनि टुलुटुलु हेरेर बस्न सकेको थिएन। जंगियो, त्यहाँ नि विरोधको ज्वाला दन्कियो। ठाउँ-ठाउँमा एकै पुस्ताले सबैलाई सोच्न बाध्य बनाए।
जंगलमा खैलाबैला मच्चियो। साना ठूला सबै जनावरहरू बैठक बस्ने निर्णय गरे। नाइकेले बैठक आह्वान गर्याे, बसे पनि। जंगलको शासक को हुने? भन्ने विषयमा चर्काचर्की चल्यो। छुचुन्द्रो हात उठाउँदै, “म बन्छु, युग बदल्छु, छाती फुलाउँदै सहजै जवाफ दियो।” उपस्थित मुसा र छुचुन्द्राले समर्थन जनाए।
त्यो सुनेर स्यालहरू कराउन थाले। एउटाले भन्यो, “म बन्छु।” स्यालहरूले सहमति दिए।
बाँदर रूखको एउटा हाँगाबाट अर्को हाँगामा मच्चिँदै, “म बन्छु भन्दै हात उठायो। “त्यतिकैमा बाघ गर्जिएर भन्यो, “भुसुनाले नेतृत्व लिन सक्दैनन्, म बन्छु।” सिंह झन् के कम? ऊ जङ्गिदै भन्यो, ” रात रहे अग्राख पलाउँछ, जंगलको नेतृत्व म गर्छु।” उसले इच्छा जाहेरी गर्याे।
असामान्य स्थिति सिर्जना भएको देखेर नाइकेलाई थेग्न हम्मेहम्मे पर्याे। शान्त बनाउँदै, “घर फुटे गँवार लुटे, योग्य र कुशलताले निपुण नेतृत्व गर्न सक्ने राजा हुनेछ।” उसले ठाडै आदेश दियो।
No ads found for this position


Facebook Comment