विवेक भाइको कथा
बसको यात्रा मलाई उसैपनि दिक्क लाग्छ। झन् काठमाडौसम्म लामो यात्रा। ओहो! एक्लै कसरी काट्ने होला, त्यो रात? म एक्लएक्लै टोलाई रहेकी थिएँ। ठिक दुई बज्यो। काउन्टरबाट माईकिङको आवाजले म झसङ्ग भएँ।
जर्याकजुरुक उठेर बसभित्र कोचिएँ। कर्णाली डिलक्सको गाडी धनगढीबाट काठमाडौको लागि आफ्नो गन्तव्य सुरु गर्छ, लामो हर्न बजाउँदै। जेठ महिनाको तराईको गर्मी खपिनसक्नु छ। सबै यात्रीहरु पसिनाले लखतरान छन्। बसभित्र पंखा चल्न थाल्छन्।
अलिकति भए पनि राहत महसुुस हुन्छ। म ए-१०-११ नम्बरको सिटमा हुन्छु। मेरो छेउको सिट खाली छ। म उत्सुकता र कौतुहलताले व्याकुल छु। छेउको सिटमा कस्तो मान्छे पो पर्ने हो? कयौँ यात्रामा दुःख पनि पाएकी छु। छेउको यात्रीले बान्ता गरेर २-४ पटक कपडा फोहोर भएको घटना सम्झना हाँसोसंगै आङ पनि जिरिङ्ग हुन्छ।
अत्तरिया चौहाराबाट गाडी पूर्व मोडियो। लामो हर्न बजाएर केही अगाडिी टक्क अडियो। सायद अत्तरियाबाट थप यात्रीहरु हाल्नु थियो क्यार। एक दुई तिन गर्दै खाली सिटहरुमा यात्रीको चाप बढ्दै गयो। तर मेरो छेउको सिटमा अझैसम्म कोही बसेको थिएन।
मेरा नजरहरु बसभित्रका प्रत्येक यात्रीमा केन्द्रित थिए। ड्राईभरले पुन लामो हर्न बजायो। सायद गाडी अघी बढ्ने तयारीमा थियो। सबै यात्रीहरु सतर्क थिए। खलासी भाइ एकोहोरो कराइरहेको थियो। एक जना युवक हस्याङफस्याङ गर्दै मेरै छेउको सिटमा आएर बस्यो।
भर्खरको नवयुवक, यस्तै बिस बाइस वर्षको लक्का जवान। लोभलाग्दो शरीर, निर्दोष आँखा। हेरिरहुँजस्तो लाग्ने। सानो झोला काखमा च्यापेर थुचुक्क बस्यो। म केही बोलिनँ। हेरिरहेँ, उसैलाई। यात्रा क्रमशः अगाडि बढिरहेको थियो।
खै, उसले पनि कुनै शब्द बोलेन। म पनि उसैको पर्खाइमा थिएँ। म उसको अनुहार पढिरहेकी थिएँ। निराश र कुण्ठा मिश्रित अनुहारमा कुनै चमकता भेटिएन। ऊ टोलाई रहेकोम हुन्थ्यो। बेलाबेलामा गाडीले ब्रेक लगाउँदा निद्राबाट बिउँजेझैँ ऊ झस्कन्थो।
मानौँ उसको मगज बिग्रेको छ। उसको यी र यस्तै गतिविधिले म भित्र उसप्रति झन् झन् कौतुहलता र जिज्ञाशा बढ्न थाल्यो। भर्खरको नवयुवकमा हराएको चमकता, लुकेको चञ्चलता र निराशाले, म भित्र छटपटीले जन्म लियो।
हाम्रो बसाइको करिब दुई घण्टासम्म पनि कुनै सांकेतिक शाब्दिक वार्तालापको उद्घाटन हुन सकेको थिएन। अरु पुरुषभन्दा भिन्न पाएँ उसलाई। स्वभाविक भन्दा अस्वभाविक व्यवहारहरु उसले प्रकट गरिरहेको थियो।
मानौँ, ऊ जिन्दगीप्रति वाक्क लागेर, यो भौतिक संसारसंगको नाता तोड्न गइरहेको छ। उसलाई अब यो धरतीका कुनै प्राणीप्रति पनि माया छैन। अथवा ऊ नारीलाई घृणा गर्छ। तर किन?
यो मनभित्र खेलिरहने यस्ता थुप्रै तरंगहरुलाई नियन्त्रण गर्न सकिन। मैले आफैंलाई धिक्कारेँ। हामी मान्छेहरु आफूलाई विवेकशील, सर्वश्रेष्ठ, सामाजिक प्राणी ठान्छौ। तर बसाइको दुई दुई घण्टा बितिसक्दा पनि सँगैको मान्छेसँग बोल्न सकेकी छैन।आखिर किन? ऊ मान्छे होइन र?
“भाइ कहाँसम्म जाने होला?” मुखबाट यही वाक्य निस्क्यो। कुराकानीको सायद औपचारिक श्रीगणेश भएछ क्यार। ऊ झस्क्यो। “ए, म काठमाडौं।” ऊ कनिकनी बोल्यो। “अनि कहाँबाट आ को नि ?” प्रश्नहरुको वर्षात् सुरु हुन थाल्यो। “ अत्तरिया”। “म एकोहोरो प्रश्न गरिरहेको थिएँ। “किन भाइलाई सञ्चो छैन कि क्या हो ? अनुहार पनि मलिन देखिन्छ।”मैले कुरा चोर्न खोजेँ। “हैन, त्यस्तो खासै विरामी केही छैन।” उसले कुरा टाल्न खोजिरहेको थियो।
“अनि दिदीको घर कहाँ नि?” उसले पनि कुराकानीलाई निरन्तरता दिन थाल्यो। “मेरो धनगढी।” “अनि भाइ तिमीले नाम त बताइनौं नि!” ‘विवेक’ छोटो उत्तर दियो।
“विवेक जोशी।”
“कहाँ पढ्छौ।”
“खै कहाँ भनौ ?” ऊ निराश भएर उत्तर दिइरहेको थियो। “भाइको घरै अत्तरिया हो र?”
“हैना डेरामा बस्छु। घर त डडेल्धुरा हो।”
यस्तै परिचयात्मक वार्तालापबाट कुराकानीले निरन्तरता पाउँदै गयो। पहिलेभन्दा ऊ अलिकति भिन्न देखिन्थ्यो। यात्रासँगै म उसलाई अनेकौं प्रश्नहरुले सताइरहन्थे। अब त उ पनि अभ्यस्त हुन लागिसकेको थियो।
मेरो हाँसो मजाक गर्ने बानी। कुराकानीको दौरानमा म उसलाई भर्सक हँसाउन प्रयास गर्थे। म उसको व्यक्तिगत जीवनका सानासाना पक्षहरुमा हस्तक्षेप गर्न खोजिरहेकी जस्तो लाग्थ्यो।
बसभित्र गीतसंगीतको आफ्नै मज्जा थियो। मिठामिठा गीतसंगीतले यात्रालाई सहज र रमाइलो बनाइरहेको थियो। मेरो मुखबाट अचानक एउटा वाक्य निस्क्यो। “ओई विवेक भाइ, विवाह गरियो?”मेरो यो प्रश्नले ऊ केही भावुक भयो। उसका गाला अवरुद्ध भए झैँ लाग्यो।” “अहँ, भा छैन।”
“के छ त जीवनको योजना?” फेरि प्रश्न गरेँ। ऊ अलि फरक भावमा प्रस्तुत भइरहेको थियो। उसका आँखामा निराशा र कुण्ठा झल्कन्थ्यो।
“हैन दिदी, मेरो जिन्दगी नै यस्तै छ।” उ भावनामा बहकिरहेको थियो।
“के भो भाइ, त्यस्तो तिम्रो जिन्दगीमा, भन्न मिल्ने भएभन न, आफ्नै दिदी सम्झे हुन्छ।” म उसको मनको बोझ अलीकति भए पनि कम गर्ने प्रयासमा थिएँ।
लामो सास लिँदै, उसले आफ्नो कथा सुरु गर्यो। म एकोहोरो सुनिरहेँ।
त्यतिखेर एउटा मिठो सपना बोकेर म सहर पसेँ। प्रमाणपत्र तह उत्र्तिण गरेर स्नातक तह पढ्न डडेल्धुराबाट धनगढी बसाइँ सरेँ। आमाबुवाको आर्शिवाद लिएर उहाँहरुको सपनामा आफ्नो सपना मिसाउँदै अत्तरियाँ झर्दा बेग्लै खालको हौसला, उत्साह र उमगं थियो। पहाडमा आफूले दुःख गरेर भए पनि मेरो सुनौलो भविष्यको आशा राख्दै आमावुवाले मलाई सुखसँग बसाएका थिए।
शैक्षिक यात्राको गाडी चलिरहेको थियो। अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बि.बि.एस. प्रथम वर्षमा भर्ना भएँ। पढाई, परिवेश, नयाँ साथीहरु फरक अनुभुति हुन्थ्यो। पढाई नै प्रमुख लक्ष्य भएकाले मिहिनेत र परिश्रमले पहिलो वर्षको रिजल्ट सोचेभन्दा राम्रो आयो।
साँच्चै दिदी, यो विद्यार्थी जीवन साह्रै नै रमाइलो हुँदोरहेछ। शैक्षिक यात्राको गाडीमा विभिन्न थरिका यात्रीहरु भेटिन्थे। सबैसँग बोलिहाल्ने, हाँसोमजाक गर्ने मेरो बानी। छोटै समयमा धेरै साथीहरु बनाउन सफल भएँ। केटा जत्तिकै केटी साथीहरु पनि थिएँ।
हेर्नु न दिदी, यो मोवाइलले भने हैरानै गथ्र्यो भन्या। भर्खर मोबाइल फोनको मार्केट चल्या थियो। साथीहरुको हातहातमा मोबाइल। मैले पनि किनीछाडेँ। किनदेखि मोवाइलमा घण्टी बज्या बज्यै हेर्नु। भर्खर मोवाइल भएर हो कि, साथीहरु मिसकल गरेर सताइरहन्थे। कहिलेकाँही त दिक्क लाग्थ्यो मोबाईलले पनि। राती सुत्नै नपाइने भन्या।
यस्तै एक दिन मोबाइलमा नयाँ नम्बरबाट मिसकल आयो। खासै ध्यान दिइएन। यो क्रम दुई चार दिनसम्म चलिरहँदा एक दिन फोन गरेँ। अहँ, फोन उठेन। क्यासेज गरेँ।
त्यो दिन कुनै प्रतिक्रिया आएन। दोस्रो दिन म्यासेज आयो। जिस्क्याएर पठाएको जस्तो। कहिले मिस कल त कहिले म्यासेज मलाई सताइरहेको थियो त्यो नम्बरले। तर कसको हो, न त पत्ता लगाउने प्रयास गरेँ, न त उसले नै आफ्नो परिचय दियो।
एकदिन कलेजमा सर पढाइरहनु भएको थियो। एक्कासी मेरो मोवाईलको घण्टी बज्यो। सर खुब रिसाउनुभयो। साथीहरुको अगाडि बेइज्जती भएको महसुस भयो। कस्तो संयोग, त्यो दिन म मोवाइल अफ गर्न बिर्सेको रहेछु।
त्यो मिसकल दिने अरु कोही नभएर त्यही परिचित नम्बर ९७४९०२७९१८ थियो। असाध्यै रिस उठ्यो। त्यो नम्बर जसरी हुन्छ पत्ता लगाएर छोड्ने सोचेर अरु पिरियड नलिइकनै सिधै डेरातिर मोडिएँ। चुपचाप पल्टिरहेको थिएँ। म्यासेज आयो त्यहि नम्बरबाट।
Sorry Bibek. I’m extremely sorry. I’m Binita.
म रनभुल्लमा परेँ। विनिता, तर मसँग यति हदसम्म मजाक किन गरिन्। ठम्याउनै सकिन।
दोस्रो दिन कलेजमा पुस्तकालयमा एक्लै पुस्तक पढिरहेको थिएँ। कसैको आवाज मेरो कानमा ठोकिन पुग्छ।
“विवेक”
“हँ, तिमी विनिता” मैले यति मात्रै के भनेको थिएँ विनिताले भनिहालिन्-“सुन न क्यान्टिनमा जाउँ। तिमीसँग कुरा गर्नु छ। “म किंकर्तव्यविमुढ भएँ। आज्ञाकारी छात्र भएर उनको पछि पछि क्यान्टीन तर्फ लागेँ। दुई कप चिया मगाइन् उनैले।
म मौन थिएँ। मानौ मन्दिरमा राखेको मूर्ति हुँ। “विवेक, के तिमी अहिलेसम्म रिसाएरहेकै छौ?” के भनौँ, कुनै शब्द फुरेनन् शब्दभण्डारबाट।
“हेर न, त्यस्तो होला भनेर सोचेकै थिइन् मैले, मजाक मजाकमा तिम्रो त्यत्रो व्यज्जत गराइदिए है। मलाई माफ गरिदेउ विवेक, प्लीज विवेक अब त्यस्तो गल्ती कहिल्यै गर्दिन।’ विनिता कान समातेर मेरो जवाफको प्रतिक्षामा थिइन्।
“ल ल भैगो, चुपलाग।” बस, मैले यत्ति भन्न सकेँ। घण्टी लाग्यो। दुवैजना कक्षातर्फ लाग्यौँ। दिनहरु बित्दै गए। खै, किन हो, त्यसदिन पछि उनीप्रति रिस होइन, माया जागेर आउँथ्यो। मेरो मोवाइलमा उनका म्यासेज हरुको खात नै लागिसकेको थियो।
क्रमशः मैले पनि म्यासेज को रिप्लाई गर्न थाले। म्यासेजहरु नआएको दिनै हुन्थ्यो। कलेजमा पनि उनी प्रायः मसँग नजिकिदै गइरहकी थिइन्। सुरु सुरुमा उनी देख्दा रिस उठ्ने मलाई, आजकल उनको उपस्थिति रमाइलो लाग्थ्यो।
प्रायजस्तो हाम्रो साथी समूह पनि एउटै थियो। कलेजमा सँगँगै हुन्थ्याँै। बस, गोरुसिङ्गेमा रोकियो। रातको दस बजेको थियो। “ल ल खाना खाउँ है” होटेलवाला कराइरहेका थिए। वर्षात्को समय भएर होला, भ्यागुताको ट्वारट्वारको आवाजले दिक्क लगाउँथ्यो।
“ल भाइ, खाना खान जाऔँ।” विवेकलाई भनेँ “ल हुन्छ, खाना त के खानु, कस्तो नमिठो हुन्छ।” ऊ गुनासो गर्दै थियो। यस्तै हो भाइ, सडकछेउका होटेलमा, यात्रुलाई लुट्न मात्र जान्या छन्, बसवाला र होटेलमालिक मिलेर यात्रुको ढाड सेक्छन्।” मैले विवेकको कुरामा सहमति जनाएँ।
खाना खाँदै थियौँ, ड्राइभरले हर्न बजाइहाल्यो। बाँकी खाना त्यस्तै छोड्दै हात धोएर पैसा तिरी चुपचाप गाडीभित्र हुलिएँ। कसलाई के भन्नु आफूहरु माथि भएको अन्यायलाई जानिजानि सहनु नै हाम्रो नियति हो। केही बेरमै रातको अँध्यारोलाई चिर्दै गाडीले गति लियो।
“अँ विवेक भाइ, कहाँ पुग्यो विनिताको कथा?” मैले पुरानै प्रसंगलाई जोड्ने प्रयासमा विवेकलाई स्मरण गराएँ।
समयक्रमसँगै उनको र मेरो संगत बाक्लिदै गइरहेको थियो। मोबाइल फोनले गर्दा कलेज बाहेक पनि प्रत्येक पल सम्पर्कमै हुन्थ्यौँ।
साँच्चै भनुँ दिदी, म विनितालाई मन पराउन थालिसकेको थिएँ। उनका प्रत्येक क्रियाकलापले मलाई उनीप्रति आकर्षित गरिरहेको थियो। खै किन हो, फोनमा जेजस्ता कुराहरु गरिए पनि, म्यासेजमा जे जस्ता कुराहरु लेखिए पनि प्रत्यक्ष भेटघाटमा म उनलाई हेर्न लजाउँथे। अरु साथीहरु जसरी उनीसंग खुलेर, बोल्न सक्दैनथेँ। लुकिछिपी म उनलाई हेर्थे।
काला हाँसेका नशालु आँखा, सलक्क नाक, गुलाफी गाला, बान्की परेका ओठ र ती मोती जस्ता दन्तपंक्ति अवर्णनिय थिए। फलयुक्त शाखा जस्तै उनको छिनेको कम्मरलाई पुष्ट जघनले भर दिएका थिए।
उनी मुसुक्क हाँस्दा उनको गुलाफी गालामा परेको खोपिल्टा र बाँयापट्टी चिउँडाको गहन बान्कीको कालो कोठीलाई मानिसहरु लच्छिनको चिन्ह भन्दथे। लामो कालो सिल्की केश, कम शोभनिय थिएन। लाग्थ्यो, हेरिरहुँ एकनाश उनैलाई।
शान्त स्वभाव, प्रायजसो कम बोल्ने बानी। तर ठट्टा र हाँसोमजाक गरिराख्ने स्वभाव। हेर्दा भद्र देखिने। उनका व्यक्तित्व चिनारीका परिचायक। प्रत्यक्ष भेटघाटमा उनी पनि कम बोल्ने।
लजालु स्वभाव। जव म्यासेज गर्थिन् अहो, बुझिनसक्नु जादु। साहित्यका हरफहरु सजाएर पठाउने। उनका प्रत्येक शब्दशब्दहरुमा अर्थ बुझाइमाग्थे। उनी मायालु पारामा भन्थिन्-“हट् लाटा, यति जाबो पनि आउन्न ?”
नजानिँदो पारामा हामी एक अर्कालाई माया गर्न थालिसकेको भान हुन्थ्यो। उनका म्यासेजहरुमा आत्मियता थियो, जादुमय आकर्षण थियो, साहित्यक सुवास थियो।
अव त लाग्थ्यो उनीलाई नदेखेपछि के के गुमाएँ। कलेजमा प्रायजसो सँगसँगै हुन्थ्यौँ। तर प्रेमप्रस्ताव राख्ने आँट कसैले गर्न सकेका थिएनौँ। आज त केही भन्छु भनेर उनको सामु पुग्थे, अहँ बोल्नै नसक्ने। उनी पनि मलाई देख्नेबित्तिकै लाजले मुख लुकाउँथिन्। त्यतिबेला मजै बेग्लै। म हेरिरहन्थे उनलाई यही मौकामा।
प्रत्येक पलहरु उनकै बारेमा सोच्नमै बित्थ्यो। कक्षामा बस्यो, प्रत्येक क्षण मनको सिहांसनमा उनकै राज हुन्थ्यो। कुनै दिन म्यासेज आएन भने निराशा र छटपटीले यो मन भारी हुन्थ्यो। यो क्रम लामो समयसम्म चालिरह्यो। फोनमा घण्टौंसम्म कुराकानी हुन्थ्यो। तर आफ्ना भावनाहरु अभिव्यक्त गर्ने आँट न त म भित्र थियो, न त विनिता संग नै।
शनिबारको दिन थियो क्यार। दिउँसभर घुमेकाले साँझ छिट्टै सुतिहालेछु। मोवाईलको घण्टी बज्यो। अल्छी लागेकाले पहिलो घण्टी उठाइन। यो क्रम चलिरह्यो। फोन रिसिभ गरेँ। निद्रा राम्ररी खुलेको थिएन।
“हेलो, को हो यतिराति?” निद्राले नम्बर पनि राम्ररी देखिन।
“विवेक, बिर्स्याै मलाई, म विनिता”
“अँ, भन विनिता, के छ खबर?” प्रश्न गरेँ।
“सब ठिक छ, यति चाँडै सुत्ने हो लाटा, पढ्नु सड्नु छैन ?” विनिताले आदर्श छाँरिन्। “तिमी छदै छौ नि, मेरो लागि पढिदिने” ठट्टा गरेँ।
“अँ …. तिमीलाई त जहिले पनि मजाक गर्न मात्र आउँछ हगी ? सिरियस हुन कहिल्यै जान्या छैनौ ?”
“भन न के गर्नु पर्यो, मेरी प्यारी साथी?” मैले भनेँ।
“अँ…. विवेक …….. ” यत्तिमै रोकिन्।
“के हो भनन् विनिता” मैले बोल्न जोड गरेँ।
“एउटा कुरा भन्नु थियो………..” फेरि रोकिन्।
“के कुरा हो भनन् विनासंकोच के मजाक गर्या?” म अलि कड्किए।
“विवेक …… आइ लभ यू‘‘‘” यत्तिमात्र के भन्या थिइन् फोन काटिहालिन्।
मैले केही सोच्नै सकिन। मेरो हर्षको सिमै रहने। म उफ्रे कोठाभित्र एक्लै। फोन रिडायल गरेँ।
“विनिता…………….. सेम टु यू” मैले पनि यत्ति भन्न सकेँ। अब के भन्ने ठम्याउनै सकिन।
उनैले सुरु गरिन् ……… रियल्ली विवेक?
मैले ठट्यौली पारामा भनेँ, “हैन मजाक गर्या मात्र हो।” उनी हाँसिन्। मैले पनि थाम्न सकिन। दुबे मुस्कुरायौँ सुनसान रातमा।
दिनहरु बित्दै गए। उनी र मबीचको सम्बन्धले विकसित रुप लिदैँ गयो। एक अर्कासंग खुलस्त थियौँ। कुनै गोपनियता थिएन हामी भित्र। मनका बोझहरु केही रहेनन् अब। दुःख र सुखका सहयात्री थियौँ। पढाईका बारेमा पनि दुवै जना सजग र सचेत थियौँ।
पढाईलाई बाधा पुग्ने काम कहिल्यैँ गरेनौँ। म उनको घरमा बारम्बार गइरहल्थे। राम्रो परिचय र छाप थियो विनिताको परिवारमा मेरो। हाम्रो मित्रता र दोस्तीको प्रशंसा गर्नुहुन्थ्यो विनिताका बुवाआमाहरु।
तर हामीबीचको प्रेम बाहिरी संसारमा शाब्दिक रुपमा कहिल्यै देखा परेन। तर किन? हामीसँग पनि यसको चित्तबुझ्दो जवाफ छैन। विनिता र म साथीहरको माझमा पनि सँगै हुन्थ्यौँ। तर हामीबिच प्रेम सम्बन्ध छ भन्ने छनक उनीहरु पाउनसक्दैनथे।
किनकी समूहमा हामी समान व्यवहार गथ्र्यौ, समान बोली बोल्थ्यौँ। बाहिरी दुनियाँको अघी अँगालो मार्दै हामी बिच प्रेमसम्बन्ध भनेर प्रमाणित गर्नु पनि आवश्यक थिएन नी हैन र दिदी?
“अँ….. ”मैले सहमति जनाएँ।
“त्यसपछि….. ” विवेक रोकियो।
“त्यसपछि के भयो भाई…… भन न। ” मेरो कौतुहलता क्लाईमेक्समा थियो।
एकदिन घरबाट बुवाको फोन आयो। आमा बिरामीले सिकिस्त हुनुहुन्छ रे। छिट्टै घर जानुपर्ने भयो। जतिसक्दो चाँडो म घर गएँ। आमा टिम हस्पिटलमा भर्ना हुनुहुन्थ्यो। दमको रोगी। कहिले बढि च्याप्थ्यो। एक दुई दिनको औषधि उपचारबाट आमालाई अलि सञ्चो भयो। घर फक्यौँ।
साँझको समय खाना खाँदै थियौँ। बुवाले मुख खाेले, “हेर छोरा, अब त तँ पनि ठूलो भईसकिस्। हामी त डाँडापारीका जुन हौँ। पहिलेजस्तो काम गर्न पनि सक्दैनौँ। तेरी आमाको त्यो हालत छ। घरको स्थिति बिग्रदो छ, अब तै सोच, के गर्नुपर्छ।”
मैले केही बोल्न सकिन। एक्कसी यति ठूलो बोझ थाम्नुपर्ने भएकोले होला केही सोच्नै सकिन।
“हेर वावु, अब तैले विहा गर्नुपर्छ। हामीलाई घरमा काममा सघाउने सहारा चाहिएको छ। तेरी आमाको स्याहासुुसार गर्ने पनि कोही छैन।”
‘बिहे!’ शब्द सुन्ने बित्तिकै म तर्सिएँ। मैले यति चाँडै बिहे गर्ने ? मेरो पढाई, मेरो भविष्य? अहँ म गर्दिन अहिले विहे। पढाई सिध्याएर, राम्रो जागिर पाएपछि मात्र विहे गर्छु। तर आमावुवाको हेरचाह कसले गर्छ? उहाँको भविष्य के हुन्छ ? टाउको गहौँ भयो। केही सोच्नै सकिन।
“पल्ला गाउँको मुखियाले छोरी दिने भा का छन्। राम्री छे, पढेलेखेकी छे, असल शिलस्वभावकी छे, कुल घरानकी छोरी राम्रै हुन्छ। के छ हँ, विवेक तेरो विचार ?”
बुवाले आफ्नो विचार सुनाउनुभयो।
अहँ, मैले केही बोल्नै सकिन। टाउको निहुराएर चुपचाप सुनिरहेँ।
“ल हुन्छ विचार गर्छु।” यत्ति मात्र भनेर सुत्न गएँ। रातभर निद्रा परेन। झल्झली विनितालाई सम्झे। पल्ला गाउँकी मुखियाकी छोरी अञ्जलीलाई सम्झेँ। दुवैको तुलना गरेँ। आकाशपातालको भिन्नता पाएँ।
बिहे मजाक हैन, चानजुने कुरा हैन। जीवनकै एक महत्वपूर्ण र कठिन निर्णय लिनुपर्ने मोड। सहि र उचित निर्णय गर्न नसक्दा जीवनभर पछुताउनु पर्ने। एउटा सामाजिक बन्धन। जीवनभर साथ र सहयोग पाउने अपेक्षा। जीवन चक्रकै एक महत्वपूर्ण पाटो। रातभर छटपटी भइरह्यो।
विनितासँगको सम्बन्ध दुईवर्ष पहिले देखिको हो। एक अर्कालाई राम्ररी बुझेका छौँ। अन्डस्यान्डिङ छ । जीवनमा साझा लक्ष्य र उद्देश्य बोकेका छौँ। आपसमा समझदारी, माया, प्रेम र स्नेह छ।
“तर दिदी ……….” विवेक फेरि रोकियो।
लामो सास फेर्दै निरन्तरता दिँदै भन्यो -विनिता र म बिच ठूलो खाडल छ। सामाजिक खाडल। जुन खाडलले हामीबीचको प्रेमसम्बन्धलाई विवाहमा बदल्न दिँदैन। त्यो खाडल, जसले हाम्रो भावनाको कदर गर्न जानेको छैन।
सामाजिक विभेदकारी खाडल, जसलाई न त पुर्न सक्छ, नत उफ्रेर त्यो खाडल पार गर्न सक्छु। म लाचार र निरिह बनेको छु। शक्ति भएर पनि प्रयोग गर्न सक्दिन। आवाज भएर पनि बोल्न सक्दिन, कलम भएर पनि लेख्न सक्दिन।
किनकी लेखेर पनि पढिदिने कोही छैनन् , किनकी यो समाज अन्धो छ। बोलेर पनि सुनिदिने कोही छैन कारण यो समाज बहिरो छ। त्यो बहिरो र अन्धो समाजबाट टाढा जान पनि सक्दिन, किनकी मेरो जरा यही समाबाट अल्झेको छ। यदि जरा काटिदिने हो भने म सुक्न पनि सक्छु एक दिन। मनमा अदृश्य डर र त्रास छ।
विनिता, तराईका आदिवासी थारु परिवारमा जन्मेकी छोरी, म पहाडको बाहुन परिवारको छोरा। हामीबीच गहिरो र चौडा सामाजिक खाडल जातीयताको खाडल।
















Facebook Comment