कविता : मृत्यु यात्रा र उत्तरविहीन प्रश्नहरु
अन्तिम यात्रा
आँशुको भेलमा डुबेको
सन्नाटा छाएको शहर
कलेजो फाटेको आमाहरु सँगै
आँशु रित्तेको नयन पोखरीको डिलमा बसी
सनाखत हुन बाँकी रहेको सपनाहरू
केही दिनको
मुर्दा घरको बसाइ पछि
जिउँदो हरुको काँधमा बसी
गर्दै थियो यात्रा…
चिहान सम्मको!
कुन्नि के-के परिवर्तन निम्ति भनेर लड्यो
लडेको ठाउँमा पोखेको रगत
सुक्न नपाउँदै
रगत पोखाउनेहरु
हुँकार दिँदै
बदलाको भाव सार्वजनिक गर्दैछ।
हे मृत्यु-
तिमीले यो क्रान्तिको नाउँमा
कस-कसलाई लिएर गयौ?
उही निरही जनता!
उही सोझा-सिधा बा-आमाको साथ
देखिन त मैले त
देश बिगार्ने
देश डुबाउने
देश लुट्ने
हरुमाथि तिमीले गरेको सजाय!
को मरे
देश अपहरण गरेर
बाउको बिर्ता बनाएकाहरुका छोराछोरी मारे
मरेन-
कसकाे जले?
तेरो मेरो करले बनाएको भौतिक संरचना जले
ती नेताको आफ्नै त
एउटा भुत्लापनि जलेन।
वा!
नियति माने तिमीलाई
तिम्रो कायदलाई
तिम्रो बहादुरीलाई
आखिर घोच्ने र पिर्ने भनेको त
उही-
गरिबीको दलदलमा फसेका
निरही जनता न रहेछ!
















Facebook Comment