लघुकथा : सामाजिक सञ्जाल
दिन कसरी कटाउने हो?
सुन्तलीको चिया पसलमा युवकहरू गफ्फिएका थिए। चियाको चुस्की लगाउँदै एउटाले भन्यो, “अब उही पुरानै जमाना तिर फर्कनु पर्याे क्या! रेडियो सुन्ने, यस्तै गरी चोक-चोकमा जम्मा हुने, गफ लगाउने, भेटघाट पनि हुने भो अनि आत्मियता नि बढ्ने भो होइन त केटा हो।” उसले ठटयौली पारामा भन्यो।
अर्कोले, ” के कुरा गर्छ यो, मान्छेलाई कति सुविधा भएको थियो? खोई कुरो बुझ्या, तेसै बर्बराउँदो रछ।” अमिलो मुख बनाउँदै उसले थप्यो।
“को आयो, को गयो, केही अत्तोपत्तो हुदैन्थ्यो ?” त्यहीं हेर्न पिपलबोटे कान्छाका छोराबुहारी, नातिनातिना विदेशबाट आएका थिए। भेट्न जाँदा, उनीहरू जतिबेला नि मोबाइल, ल्यापटप, इन्टरनेटमै झुन्डिएका थिए। बोल्नै खोज्दैनन् बा!” पहिलोले चकित स्वरमा बतायो।
“सबैको स्वभाव एउटै कहाँ हुन्छ र? देशको स्थिति हेरत, अहिले अधिकांश युवाहरू विदेश पलाएन भएका छन्। घरमा वृद्ध आमाबुबा छन्। सन्तानसँग प्रत्यक्ष भेटघाट पनि त भएको छ। किन कुरा बुझ्दैनौ?” दोस्रोले खिन्नता व्यक्त गर्याे
पाषाणयुगदेखि पत्रपत्रिका, चिठी, रेडियो, टेलिभिजनबाट विकास हुँदै यहाँसम्म आउँदा कति उतारचढाव भएका छन्। यो परिवर्तन कुनै जादुको छडी थिएन? युगले मागेको परिवर्तन हो, कतिका काम ठप्प भएका छन्? उसले चिन्तित भावमा फेरि थप्यो।
सबै सुनिरहेको तेस्रोले गम्भीर हुँदै भन्यो, ” देशका भष्टाचार जहाँका त्यहीँ छन्, सामाजिक सञ्जाल बन्द गर्नु विकल्प होर।”
वफादार
“जन्ती जाने होइन।” गाइँगुइँ सुनियो
“कसकाे बिहे हो?” कुकुरले प्रश्न गर्याे।
“स्यालको, थाहा छैन।” अर्कोले उत्तर फर्कायो।
कुकुरहरु भेला भए। कसले के लगाउने र कसरी जाने भन्ने विषयमा कचहरी चलेको थियो? एउटाले भन्यो, ” आफूँसँग जे छ, त्यही लगाएर जाने।” अर्कोले थप्यो, “होइन, बिहेमा जन्ती जाँदा त अलि ढंगको लगाएर जानुपर्छ। हामी कुकुरहरु हेपिनु हुँदैन।”
विवाद सिर्जना भएको देखेर नाइकेलाई थेग्न हम्मेहम्मे परेको थियो। टाउकोमा हात राख्दै, “सबैले हेप्ने कारण पनि यहीं हो, जोसँग जे छ, त्यही लगाएर जाने अनि त्यहाँ गएर अनुशासनमा रही मर्यादाको पालना गर्ने।” भनी नाइकेले निर्णय सुनायो
कुकुरहरुले निर्धारित समयमै उपस्थिति जनाए। बेहुलो स्याल चिटिक्क परेको छ। पहिला कसैले नपुछे पनि फर्की-फर्की सबैले हेरेकाले अहिले ऊ मख्ख परेको छ।
बाहुन बिरालो घाँटीमा रूद्राक्ष लगाई हातमा पुस्तक लिएर जग्यमा बसेको छ। ” सबैले आ-आफ्नो जिम्मेवारी निभाऔँ, पन्पक्षे नहोस्। घाम पानीमै बिहे हुनुपर्छ।” उसले ठाडै आदेश दियो।
कुकुरहरुको इमान्दारिता देखेर स्यालहरु साउती मारे, “वफादारको पराकाष्ठा भएर त आज हरघरमा चौकीदारी गरिरहेका छन्, कुकुरहरू!”
व्यवहार
नाम अनुसारको काम भएन, फेरे के होला?
चौतारीमा बसेर केही गफ्फिँदै थिए। पहिलोले भन्यो-त्यो मनप्रसादसँग हेरत प्रशस्त धन, घर ठूलो छ, बाउबाजेको पुर्खौली सम्पति पनि टन्न छ। तर त्यो जस्तो कन्जुस मैले अहिलेसम्म देखेको छैन।” फेरि गम्भीर हुँदै-त्यो धनप्रसादको हेर त, कठै बरा! केही छैन, झुपडीमा बसेको छ, बिहान बेलुका हातमुख जोर्न कति सास्ती छ? तर त्यसको कति उदार हृदय छ?” उसले भन्यो।
दोस्रोले, “त्यहीं त भन्या, धन हुनेको मन हुँदैन र मन हुनेको धन भन्ने लोकोक्ति त्यसै जन्मिएको चाहिँ होइन है!” उसले लामो सास तान्दै थप्यो।
अस्ति त्यही बाटो हिँड्दै थिए-माग्ने माग्दै आयो। मनप्रसादले मागेर पाइन्छ, काम गर्नुपर्छ भन्दै कराएर पठायो तर धनप्रसादले केही नबोली खल्तीमा भएको सबै पैसा दियो ।” पहिलोले अचम्मित पारामा भन्यो।
“बोली हेरन वल्लोपल्लो छिमेकी हुन् तर कति फरक स्वभाव? धनले धन तान्छ भन्थे, धनी त्यसै धनी भएका होइनन् क्यार! ” दोस्रोले अनभिज्ञ स्वरमा थप्यो।
पहिलो, धनप्रसाद तिमीसँग सम्पत्ति कति छ भनेर मैले सोधे, ” न सम्पत्तिको नाउँमा केही छ, न घटबढ भएको छ भनेर उसले सहजै उत्तर दियो।”
सबै सुनिरहेको खड्गप्रसाद कड्किदै बोल्यो, “जति सम्पत्ति भएनि खाने भातै हो जाने घाटै हो, धन त हातको मैला हो।”
फेरि ऊ केही नरम स्वरमा बोल्यो, “ठुलो घर र सम्पत्तिले महत्त्व राख्दैन मान्छे चिनिन्छ त केवल उसको व्यवहारले।”
















Facebook Comment