फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

डिसी नेपाल
१३ असोज २०८२ १९:२७
44
Shares

पाटन । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ।

एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो।

कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन्।

फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उनले बताए। जोशीले भने, ‘करिब ६५१ जना अझै फरार छन्। यसअघि भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो। पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ।

विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ।

कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *