विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न
काठमाडौं। नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ।
बडा दसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ।
यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ। नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ।
नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ। दसैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ। केही जातिले भने कुल परम्पराअनुसार यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment