सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१७ बस्ने ८० वर्षीय विजय मान सैंजुको मृत्यु भएको छ। आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा आइतबार बेलुकी मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकमा बीएइ ३४६६ नम्बरको कारको ठक्करबाट पैदलयात्री पहिचान नखुलेका करिब ५५ वर्षीय पुरूषको सोमबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेस्थित सडकमा बा.५१ प ८९६२ नम्बरको मोटरसाइकल र ग.२४ प ९१४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा बा.५१ प ८९६२ नम्बरको मोटरसाइकलमा सवार घरपझोङ गाउँपालिका-२ मार्फा बस्ने २५ वर्षीय बुद्धि परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बा.५१ प ८९६२ नम्बरको मोटरसाइकल चालकको राष्ट्रिय ट्रामा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ। प्रहरीले ग.२४ प ९१४१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-४ सिलौटेस्थित सडकमा ना.४३ प ६१८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ घुसेरी बस्ने १९ वर्षीय सन्तोष गैरेको मृत्यु भएको छ। आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल डण्डामा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ टारीस्थित सडकमा सन्धिखर्कबाट गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु.१ ज ४७२४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र सोही गाउँपालिका-७ नेटा खर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भइरहेको छ।
रौतहटको वृन्दावन नगरपालिका-६ हर्षाहा चोकस्थित सडकमा प्र.२-०३-०१७ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक माधवनारायण नगरपालिका-६ बस्ने २८ वर्षीय प्रमोद राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुर सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment