बाल्यकालीन दशैं
बिद्यालय बिदा भए पश्चात् घर पुगेँ। टिभिमा नेपाली गीत बजिरहेको थियो। टिभिको स्कृनमा गीत बजिरहेको थियो- ‘आउँथ्यो दशैं आउन त पहिले नि, यस्तो मजा भाथेन कहिले नि …।’
गायक हेमन्त शर्माको स्वर रहेको यो गीतमा छोरी सम्पदा आफ्नो नृत्य पस्किरहेकी थिइन्। सोफामा बसेर मेरी जीवनसगिंनी पुनम दर्शकको रुपमा हुटिङ गरेर छोरीको नृत्यलाई थप उर्जा र हौसला भरिरहेकी थिइन्। काखमा थिइ पाँच महिने सानो छोरी सुरभी।
शब्द र भाव नबुझेपनि उनी पनि खुशी थिइन्। ओठमा छाएको अबोध मुस्कान, अनुहारमा देखिएको चमक र हातखुट्टाले दिने प्रतिक्रिया कम्ती लोभलाग्दो थिएन।
धेरैदिन पति मलाई पर्किरहेको सोफा स्वागत गर्न आतुर देखिन्थ्यो। थकित शरीर उसैलार्ई सुम्पिएँ। मेरो उपस्थितिले छोरीको नृत्य अलि सुस्तायो। मैले नरोक्न संकेत गरेँ। सानो छोरी मलाई देख्ने बित्तिकै मुस्कुराउँदै आफूलाई बोक्न संकेत गर्दै थिइन्। गीत अगाडि बढ्दै गयो। गीतको श्रव्यदृश्य राम्रो थियो। छोरीको नृत्य माहोल माथि कुनै हस्तक्षेप नगरी पूरा गीत सुनिरहेँ, हेरिरहेँ।
गीत सक्कियो। यसपाली मलाई पितृशोक परेकोले दशैं थिएन। छोरीले मन अमिलो बनाइ। गत बर्ष दशैंकै परिबेशमा कैद गरिएको बुवासहितको पारिवारिक तस्बिर कोठाको भित्तामा झुन्डिएको थियो। सबैका आँखा रसाए एकपटक फेरि। बुवा नहुँदाको पीडा फेरि यो पटक खड्कियो।
छोरी सम्पदा गीत बन्द गरेर मेरो नजिकै आएर बसिसकेकी थिइ। उनले भर्खरै सुन्दै र नृत्य गर्दै गरेको गीतका बारेमा केही प्रश्न गरे। गीतमा देखाइएको दृश्यहरुका बारेमा कुरा भो। गीतका शब्दहरुभित्र पसेँ। दशैंका बारेमा गफ भो।
छोरीलाई किन दशैं राम्रो लाग्छ भनेर सोधेँ। आफू छोरीको उमेरमा हुँदाका बखत कसरी दशैं मनाउथौं? के के गर्थे त्यो बेला? किन मलाई दशैं धेरै मन पथ्र्यो लगायतका कुरा गर्नै लागेको थिएँ। छोरीले आफूले आफ्ना कुरा राखी। तर मेरा कुराहरु सुन्न त्यति रुचि देखाइन। न त उसको मम्मिले नै।
मन खिन्न भो। म आफ्ना बाल्यकालिन स्मृतिहरु सुनाउन चाहँदै थिएँ। पहाडका उकाली ओरालीमा सयर गराउँदै थिए। लेकबेशिका हरिया फाँटहरुमा बिचरण गराउँदै थिएँ। ग्रामिण जीवनका मौलिकतामा डुबुल्की मार्न लगाउँदै थिएँ। तर किन हो कुन्नी, उनीहरुको मन जित्न सकिन त्यो पल।
विभिन्न प्रसंग उप्काउँदै म मेरा बाल्यकालिन एल्बममा सुरक्षित गरि राखिएका स्मृतिका पत्रहरु पल्टाउन प्रयास गर्दै थिएँ, उनीहरु पर पर भाग्न खोज्दै थिए। मेरा कुराहरुमा उनिहरुको विशेष रुची नदेखेपछि म आफ्नो कोठामा गएँ। स्मृतिका भेलहरु उर्लँदै आइरहेका थिए। म रोक्न सकिराखेको थिइन।
तत्काल सुन्ने स्रोता नभएपनि पढ्ने पाठक त छन् मेरा। यत्ति सम्झेँ त्यो बखत। र मोबाइलको नोट एप्लिकेशनमा गएर चोर औँला किप्याडमा सराउन थाले। अक्षर अक्षर मिल्दै शब्द बने। शब्द शब्द जोडिएर वाक्य बने। वाक्य वाक्य जोडिँदै लामा लामा अनुच्छेद बने बाल्यकालीन स्मृतिका।
‘आउँथ्यो दशैं आउन त पहिले नि, यस्तो मजा भाथेन कहिले नि…।’ फेरि सम्झिएँ गायक हेमन्त शर्मालाई। कस्तो मजा भनेका होलान्? प्राकृतिक सुन्दरता र मौलिकतमा आउने मजा र आनन्दलाई के अहिलेको डिजिटल एप्लिकेसनले साँच्चै बिस्थापित गरेकै हो त? म आफ्नो बिगतमा फर्किन्छु।
आफ्नै जन्मस्थल गडसेरा पुग्छु। त्यही बाल्यकाललाई सम्झन्छु। हुर्केबढेको भूगोल र माटोलाई सम्झन्छु। गडा र खेतमा पुग्छु। गाड नोलामा पुग्छु। अनि त्यो बेलाको मेरो खुशी र आनन्दलाई अहिलेको खुशी र आनन्दसँग दाँज्छु। हुन त खुशीको कुनै परिधी हुँदैन। खुशी नाप्ने कुनै उपकरण र औजार हुँदैन होला। तरपनि अनुभूति गर्न सक्छौँ।
नयाँ लुगा पाउने आशमा बर्सदिन कुथ्र्यौँ। दशैं नै यस्तो अवसर थियो, जहाँ हामी नयाँ लुगा लगाउन पाउथ्यौँ। मासु खान महिनौं दिनसम्म पर्खेर बसेका हुन्थ्यौँ दशैंलाई। नयाँ लुगा लगाएर गाउँ डुल्दाको खुशीलाई कुन यन्त्रमा राखेर नाप्न सकिएला र? धेरै महिना पछि दशैंमा पाक्ने मासुभातलाई अहिलेको बोइलरको मासुले सजिलै बिस्थापित नगर्ला र?
म त्यही गाउँमा पुग्छु, जहाँ मैले मेरा जिन्दगीका दश चेतनशिल दशैं मनाएको छु। शरद ऋतुको आगवनसँगै प्रकृतिले भिन्नै खालको सुगन्ध धर्तीमा छर्ने गथ्र्यो। धानका लहलाउँदा बालाहरुले दशैंको स्वागत गरिरहेको भान हुन्थ्यो। खेत र गडामा झुल्दै गरेका पहेँला धानका बालाहरुको सुन्दर दृश्य र मीठो सुगन्धले दशैंको रौनक अझ बढाएको लाग्थ्यो।
पाखा र बारिमा झुल्दै गरेका कोदाका बालाहरुले पनि दशैंको आगवनलाई स्वागत गरिरहे जस्तो लाग्थ्यो। साँच्चै भन्ने हो भने प्रकृति नै फेरिएको हुन्छ यो बखत। बरिखा मासको हिलो मैलो हटेर प्रकृति स्वच्छ, सफा र सुन्दर देखिन्छ। दुई तीन महिनासम्म रिसाए जस्तो देखिने आकाश निलो, सफा र कन्चन लाग्छ। उराठ र दिक्क लाग्ने दिनहरु मिठा र न्याना लाग्न थाल्छन्।
बर्सातका ती उर्लिने खहरे खोला र गाडहरु आफ्नो स्वाभाविक लयमा फर्केर परदेशी दाजुभाइलाई स्वागत गर्न पर्खिरहेका देखिन्छन्। बरिखामा सताउने जुगा, डाँस र अन्य किराफट्याङ्राहरु प्रकृतिको गर्भमा लोप भैदिन्छन। र त दशैंको माहोल बिछट्टै आनन्ददायी र उत्साहमय भैदिन्छ बालकदेखी बृद्धसम्म।
त्यो बेलाको दशैं र अहिलेको दशैंलाई म तुलना गर्छु। अभावमा पनि खुशी मिल्थ्यो। गरिबी भित्र पनि खुशी मिल्थ्यो। बालक पनि खुशी देखिन्थे, बृद्धहरु पनि खुशी देखिन्थे। पैसा भए पनि नभए पनि दशैं दशैं नै हुन्थ्यो सबैको लागि।
परदेश गएका दाजुभाइको कयौं महिनाको प्रतीक्षा पछि गाउँमा आगवन हुँदाको चहलपहल बिछट्टै रमाइलो हुन्थ्यो। हातमा दुई तीन फिट लामा टेप झुन्ड्याउदै ठूलो भोलुममा गीत बजाएर जब परदेश गएकाहरु कटेबाटोमा देखिन्थे तब दशै‘ आइनैसकेको अझ बढी भान हुन्थ्यो। पिठ्य‘ुमा ठूलो झोला, एक हातमा टलक्क टल्किने कालो बाकस र अर्को हातमा टेप। हिन्दी लवजमा गरिने भलाकुसारी।
परदेश गएकाहरुबाट चकलेट र मिठाई पाउथ्यौँ। एउटा चकलेटको चुसाइमा असिमित आनन्द हुन्थ्यो, आत्मियता हुन्थ्यो, माया हुन्थ्यो अथाह। पल्ला घरका साइँला दाजु परदेशबाट फर्किदा साइँलि बौजुले गाउँभरी मिठाइ बाँढ्नुहुन्थ्यो।
टुप्पाघरका कान्छा दाइ आउँदा चौकेल्लिइ आमाले हामी केटाकेटालाई घरमै बोलाएर देशी मिठाई ख्वाउनुहुन्थ्यो। यसकारण पनि दशैं हाम्रा लागि विशेष हुन्थ्यो। गाउँमा अलग्गै माहोल हुन्थ्यो। चिया दोकानमा परदेशीएका दाजुभाइहरुको न्यारै गफ हुन्थ्यो। चिया पिलाउने र पिउनेको भिड हुन्थ्यो।
बेलिबट्टन पाइन्टमा सजिएका युवाहरुको शरिरमा मीठो सुगन्ध आउँथ्यो। परदेशबाट आएको स्पस्ट संकेत त्यही थियो। हिन्दी सिनेमाका केही टुटेफुटेका गीतहरु गुनगुनाउ‘दै गर्दा उनिहरुको पछि पछि लाग्थ्यौँ हामी केटाकेटीहरु।
हिन्दी सिनेमाका हिरोको नक्कल गर्दै कपाल पालेका र त्यही शैलीमा हिँड्दै गर्दा ती परदेशी युवा दाइहरु देखेर आफुमा पनि परदेशिने रहर पलाउँथ्यो। उहाँहरुको पछि पछि लाग्थ्यौँ। देशपरदेशका रमाइला रमाइला किस्सा सुन्थ्यौँ। हिन्दी चलचित्रका छोटा छोटा डाइलग र थेगोहरु याद गथ्र्यौँ। उहाँहरुको हेयर स्टाइल र हिड्ने तरिकाको नक्कल गथ्र्यौँ। दिनहरु छोटा लाग्थे। दशैं बिदा सक्किएको पत्तै नहुने त्यो बखत।
दशैं सँगै हामीहरुलाई अन्नबाली भित्रर्याउने चटारो पनि हुन्थ्यो। खेतमा धान पाकिसकेका हुन्थे। ब्यान्नलै उठेर धान काट्न जानू, सुकाउनु, ओगर्नु, कुन्यु बनाउनु, चुट्नु, पराल सुकाउनु, घरमा बोक्नु, माच बनाउनु जस्ता कामहरुको चटारो हुन्थ्यो दशैंकै माहोलमा पनि।
यस्तो चटारोका बिच पनि खुशी हुन्थ्यौँ सबैजना। न त थकान महसुस हुन्थ्यो, न त अल्छिपना र दिक्दारीपन। सायद मौसम पनि त्यस्तै भएर होला, शरीरमा अलग्गै स्फुर्ती हुन्थ्यो। काम गर्ने जोश र जाँगर हुन्थ्यो।
धान काटिसकेर खेतहरु खुल्ला हुन्थे। हामिहरु खुब खेल्थ्यौँ। गाइबाख्रा चराउन पनि खेतमै लग्थ्यौँ। सरु खाने डर हुन्थेन। त्यसकारण हामीलाई खेल्न अझ सजिलो हुन्थ्यो। लुक्नेचोर खेल्थ्यौँ। छोप्नेबाजि खेल्थ्यौँ। स्वतन्त्र थियौँ खेल्न र चल्न। न कुनै डर थियो, न कुनै चिन्ता। माटोमै माटोसँगै खेल्थ्यौँ।
ढुङ्गामै ढुङ्गा सँगै खेल्थ्यौँ। गाडमा पानीसँग खेल्थ्यौँ। खेतमा आलिसङ्ग खेल्थ्यौँ। लठ्ठी र बालुवासँग खेल्थ्यौँ। परालका माचमा खेल्थ्यौँ। न खेलेरै थाकिन्थ्यौँ, न हाँसेरै थाकिन्थ्यौँ। यसबाट मिल्ने आनन्द अहिलेका विद्युतीय ग्याजेट खेल्दा मिल्ने आनन्दसँग दाँज्न मिल्ला र?
म कसरी तुलना गर्न सक्छु अहिलेको दशैं र उबेलाको दशैंलाई? आफ्नै मौलिकता थियो। आफ्नै चालचलन र भेषभुसा थियो। बेग्लै मौलिक संस्कार र संस्कृति हुन्थ्यो दशैं मनाउने।
न थियो तडकभडक र देखावटी संस्कार। न त थियो फजुल खर्च गर्ने बानी व्यवहार। एउटा खाले आत्मअनुशासन हुन्थ्यो, अग्रजप्रति सम्मान हुन्थ्यो। आत्मियता हुन्थ्यो, पारिवारिक मिलन र सामुहिक भावना हुन्थ्यो।
अहिलेका जस्ता सन्चारका साधन थिएनन। न त थिए प्रर्याप्त क्यामेरा र फोटो खिच्ने फोटोग्राफर। त्यसैले बाल्यकालिन यादहरु र स्मरणलार्ई भौतिक फोटोमा कैद गर्न सकिएनन त्यो बखत। तरपनि मानसपटलको एल्बम भित्र अमेट हुनेगरी कैद गरेको छु तमाम याद र स्मरणहरुलाई। तब त यसरी शब्दहरुमार्फत यहाँ प्रस्फुटन भएका छन्।
कहिलेकाँही फोटोग्राफर दाइ आउनुहुन्थ्यो हाम्रा गाउँमा। रिलवाला क्यामेरा हुन्थ्यो। एउटा रिलमा छत्तीस ओटासम्म फोटा खिच्न मिल्थे। एकदम चनाखो र सचेत भएर फोटो खिच्थ्यौँ। प्रती फोटो बीस रुपैयाँ लिनुहुन्थ्यो। फोटो खिचेर लगेको महिनौं दिनपछि हाम्रा फोटाहरु आउँथे। फोटाहरु देख्दा जुन खुशी प्राप्त हुन्थ्यो, त्यो ब्यक्त नै गर्न सक्दिन यहाँ।
दशैंको चतुर्दशीमा हाम्रो गाउँमा मेला लाग्थ्यो। खासमा हामी दशैं भनेकै त्यही मेलालाई बुझ्थ्यौँ पनि। टिकाजमरा लगाउनु भन्दा पनि त्यो दशैं मेला हेर्ने उत्साह बढी हुन्थ्यो। महिसासुरको प्रतिकको रुपमा राँगोलाई लखेटेर कुटि कुटी वध गर्थे।
चतुर्दशीको दिन प्रत्येक बर्ष आलोपालो गरेर दुई फरक गाउँमा दशैं हुन्थ्यो। एक बर्ष ओल्कट्टेइ दशैं जसलाई हामी ‘मल्लादेशै दशैं’ भन्थ्यॉै। अर्को वर्ष फल्दाइ दशैं जसलाई हामी ‘तल्लादेशै दशैं’ भन्थ्यौँ। यसरी यो दशैं मेला हामी सबैको लागि विशेष हुन्थ्यो। दर्जनौं पसलहरु थापिएका हुन्थे।
टाढा टाढाका गाउँबाट दशैं हेर्न मान्छेहरु आउँथे। राम्रो आर्थिक कारोबार हुन्थ्यो। घरमा आमाले दश बीस रुपैयाँ दिएर पठाउनु हुन्थ्यो। त्यही दस बीस रुपैयाँले आफुलाई मनपर्ने चिज किनेर खान्थ्यौँ। जेरी र पक्की मिठाई खान्थ्यौँ। अम्भा खान्थ्यौँ। मुखपली (बदाम) खान्थ्यौँ।साना केटाकेटी खेलौना किन्थे।
फरक फरक गाउँबाट आएका परिचित र अपरिचित बीच भेटघाट र भलाकुसारीको अवसर बन्थ्यो दशैं मेला। केही दिनदेखि छुट्टिएका स्कुले केटाकेटीको भेटघाट हुन्थ्यो। जवान युवायुवतीको प्रेम साँटासाँट गर्ने सुनौलो अवसर बनिदिन्थ्यो यो मेला।
कसै कसैलाई आफूलाई मनपर्ने मान्छेलाई लुकी लुकी टाढाबाट दर्शन गरि धित मार्ने मौका बनिदिन्थ्यो दशैं मेला। कृषि कार्यमा ब्यस्त रहँदाको थकानलार्ई मेट्ने मीठो प्याला बनिदिन्थ्यो दशैं मेला। फरक फरक स्वादका फरक फरक मिठाई चाख्ने मौका हुन्थ्यो यो मेला।
आफूले दशैंमा किनेका नयाँ लुगा र आभुषण देखाउने साझा चौतारी पनि पनि त हुन्थ्यो दशैं मेला। दिनभरी चल्ने यो दशैं मेला साँझपख राँगोको बधसँगै सकिन्थ्यो। राँगोलाई घाइते बनाइ लखेटेर कुटीकुटी मार्दाको दृश्य अहिले पनि सम्झँदा आङ जिरिङ्ग हुन्छ।
सामाजिक सन्जालमा त्यस्ता भिडियोहरु सार्वजिक भएका हुन्छन् आजकाल पनि। मलाई त्यही गडसेराका दशैंको याद आउँछ। तिनै चित्रहरु मानसपटलमा घुम्छन चलचित्रको रिलझै। मन अमिलो हुन्छ।
मोबाइलको नोट फोल्डरमा मेरा औँलाहरुले अक्षरको खेती गरिरहँदा सडकमा फलफूल भन्दै एउटा देशी कराइरहेको हुन्छ – ‘केरा, स्याउ, अनार। आयो हजुर सस्ता सस्ता फलफूल।’ झ्यालको एउटा कुनाबाट सडकमा ठेलामा फलफूल बेच्दै गरेका छोटे दाइ देखिन्छन्।
कयौँ पटक उहाँसँग फलफूल किनेको छु। मलाई मेरा बाल्यकालीन दिनको फेरि याद आउँछ। दशैं, तिहार, ओल्के, होरी इत्यादि काजबार आउ‘दा गाउँमा केरा पकाइन्थ्यो। घडिखातामा आगोको रापमा पकाइएका केराको स्वाद नै फरक हुन्थ्यो।
अहिले बजारमा औषधि हालेर पकाइएका केरा र गाउँमा परम्परागत रुपमा आगोको तापमा पकाइएका केराको स्वादलाई तुलना गर्छु कहिलेकाहीँ। ती पहाडी केरा जसलाई परम्परागत बिधिद्वारा पकाइन्छ, तिनीहरुको स्वादलाई कसरी पो तुलना गर्न सकिन्थ्यो र? स्वादी मात्र होइनन, स्वास्थ्यबर्धक पनि उत्तिकै हुन्छन्। दुध वा दहीमा मेचेर खाएको याद आउँछ। अनि त्यो सन्तुष्टि र मजा अहिले बजारमा उपलब्ध हुने केराले दिन सक्ला र?
















Facebook Comment