महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन्

डिसी नेपाल
१५ असोज २०८२ ७:२१
16
Shares

काठमाडौं। नेपाली हिन्दू धर्मावलम्बीहरूले बडादसैंको नवौं दिन ‘महानवमी’ को अवसरमा देवी दुर्गाको नवौं स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गर्दै कन्या पुजन गरी मनाइरहेका छन्।

वेद गुरु रविन्द्र आचार्यका अनुसार महानवमीलाई पूर्णताको प्रतिकका रूपमा लिइन्छ, जहाँ ‘नौ’ अंकलाई पूर्णताको सङ्केत मानिन्छ।

नवरात्रभरि गरिएको नवदुर्गा पूजा नवमीका दिन सिद्धिदात्री देवीको आराधनासँग सम्पन्न हुँदै जान्छ। आचार्यका अनुसार सिद्धिदात्री देवीले भक्तहरूलाई अष्टसिद्धिहरू अणिमा, महिमा, गरिमा, प्राकाम्य, लगिमा, प्राप्ति, ईशित्व र वशित्व प्रदान गर्ने बताइन्छ। यी सबै अलौकिक शक्तिहरूको प्रदानकर्ता भएकै कारण देवीलाई ‘सिद्धिदात्री’ भनिएको हो।

आचार्यले बताएअनुसार, नवमीको दिनमा विशेषगरी कन्या पूजनको प्रचलन रहेको छ। दुई वर्षदेखि दश वर्षसम्मका कन्याहरूलाई देवीको स्वरूप मानेर पूजा गरिन्छ। ‘आजको दिन ती कन्याहरू कुमारी, त्रिमूर्ति, कल्याणी आदि देवीस्वरूपमा पूजिन्छन्,’ आचार्यले भने।

कन्या पूजन अन्तर्गत बालिकाहरूलाई घरमा निमन्त्रणा गरिन्छ, तिनीहरूको पाउ धुने, पाउको जल शिरमा अर्पण गर्ने, पूजागरी नयाँ वस्त्र तथा अलंकारहरू पहिर्याइने र मिष्ठान्न भोजन गराइने परम्परा छ। यस विधिबाट भगवतीको प्रसन्नता प्राप्त हुने विश्वास छ।

‘कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन्, परिवारमा सुख र समृद्धि आउँछ, रोग-व्याधिबाट मुक्ति मिल्छ र आत्मिक तथा नैतिक गुणहरूको विकास हुन्छ,’ वेद गुरु आचार्यले भने।

महानवमीका दिन देवीको कृपाप्राप्तीका लागि देशभरका मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ। यस दिन गरिएको पूजा, आराधना र कन्या पुजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ।

गुरु आचार्यका अनुसार, नवमीका दिन शक्ति स्वरूपा भगवतीको आराधनाका विभिन्न विधिहरू प्रचलित छन्, तर मुख्यतः कन्या पूजालाई धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।

उनले भने, ‘महानवमीमा दुई वर्षदेखि दश वर्षसम्मका कन्याहरूलाई देवीको प्रतिकस्वरूप पूजा गर्ने परम्परा रहेको छ। यसमार्फत् भगवतीको कृपा प्राप्त हुने जनविश्वास छ।’

वेदगुरुले विभिन्न जात, जाति, धर्म, र समुदायहरूको विविध सांस्कृतिक अभ्यासको चर्चा गर्दै भने, ‘कतिपय ठाउँमा भगवतीको हवन, वाहन पूजा र विश्वकर्मा पूजा पनि नवमीकै दिन गरिन्छ। यसले शक्तिको विविध स्वरूपप्रति श्रद्धा प्रकट गर्ने संकेत गर्छ।’

उनले थपे, ‘भगवती परम्बा, शक्ति स्वरूपा हुनुहुन्छ, जसले सम्पूर्ण सृष्टिलाई चलायमान बनाइरहेकी छिन्।’ उनले हवन, जप, ध्यान, मन्त्र र कन्या पूजाको माध्यमबाट भगवतीको आराधना गर्दा भगवती प्रसन्न हुने धार्मिक विश्वास रहेको बताए ।

महानवमीका दिन भक्तजनले शुद्ध वस्त्र धारण गरी, शुद्ध मन र निर्मल भावनाका साथ भगवतीको सेवा गर्ने परम्परा रहेको बताउँदै वेदगुरुले भने, ‘चाहे कामना भक्तिभाव होस् या निष्काम भक्तिभाव, भगवतीको आराधनाले अन्ततः आत्मशुद्धि र आन्तरिक स्थिरता प्राप्त हुन्छ।’

धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने महानवमी विशेषगरी दुर्गा पूजाको नवौं दिन हो, जसमा शक्ति, भक्ति र संस्कृतिको सुन्दर संगम देखिन्छ। देशभरका मन्दिर, घर आँगन, र पूजास्थलहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।

साथै, अर्का गुरु नारायण प्रसाद आचार्यले पनि नवमी भन्ने बित्तिकै भगवती आमाको अवतार भएको तिथि मानिने भन्दै नवमीमा सोह्रसोपचार (सोह्र चिज) हरुले पूजा गर्दा राम्रो हुने बताए।

नवमीमा नौ माताको पूजा हुने हुनाले त्यो दिन दुई वर्षदेखि १० वर्षसम्मका कन्याहरू माताको रुपमा मानेर पूजा गर्ने चलन पनि रहेको बताए।
उनले भने, ‘नवमी भन्ने बित्तिकै भगवती आमाको अवतार भएको तिथि मानिन्छ।

नवमी भनेको पूर्णअङ्क पनि हो। नवमीमा हामीले सकिन्छ भने सोह्रसोपचारले पूजा गर्नुपर्दछ। सोह्र चिजलाई राखेर पूजा गर्नुपर्दछ। नवमीमा कन्या पूजाका पनि कुरा छन्। कन्या पूजा नवमीमा विशेष गरी गर्ने चलन छ। दुई वर्षबाट उता लागेर १० वर्षसम्म भएका ती कन्याहरूलाई पूजा गर्ने चलन छ।

नवमीको दिनमा जतिसक्यो चाँडो आफूले कमाइ गरेको जमिनमा गएर खेतीको अवलोकन गर्यो भने, त्यहाँ पनि शक्ति प्रभाव हुन्छ भन्ने चलन गाउँघरतिरमा थियो।’

उनले थप्दै भने, ‘त्यो नवमीमा र नवमीमा देवी भागवतमा एउटा उल्लेख के छ भने, ब्रह्मा, विष्णु, महेश्वर, भगवान् परमात्मा प्रभूहरू मिलेर, अब असुरहरुले साह्रै दुःख दिइसकेपछि, असुरहरुलाई अब कसरी हुन्छ, यिनीहरुलाई परास्त गर्नुपर्यो भनेर भगवानहरु लाग्नुभयो, त्यतिखेर। तर सक्नुभएन।

कारण के थियो भने, शक्ति बिना कसैको केही पनि चल्दैन। बिना शक्ति, बिना भगवतीको कृपाद्वारा यो संसार केही पनि गर्न सकिँदैन। अब त नसक्ने भयौँ भनेर भगवती आमाको आराधना गर्नुभयो। जब भगवती आमाको आराधना गर्दा, भगवतीको कृपा भएर ती असुरहरुलाई उहाँले परास्त गर्न सफल रहनुभएको छ। त्यसकारणले गर्दा, यो महानवमी पनि भनिन्छ।’

साथै, उनले नवमीमा विशेष गरेर सिद्धिधात्रीको पूजा गरिने भन्दै रातो वस्त्र, रातो वस्त्रमा दियो, कलश, गणेश स्थापित गरेर नवदुर्गा भगवानीलाई सुपारी र जँई राखेर पूजा गर्ने बताए।

‘नवदुर्गा मध्यमा नवमम सिद्धिधात्री भनेर छ। विशेषगरी सिद्धिधात्री नाम गरेकी देवीको पुजा हुन्छ यसमा, हामीले पुजा गर्दा सबैभन्दा पहिला आसन शुद्धि चाहिन्छ, दोस्रो कुरा हृदय र भावना शुद्धि हुनुपर्छ।

भगवानको पुजा गर्न बसेको छ तर मनमा अनेक प्रकारको क्लेश, अनेक प्रकारको भावना, अर्काको कुभावना सोच्ने हो भने भगवती पुजा गरेपनि त्यो सफल हुँदैन,’ उनले भने, ‘आसनलाई पवित्रता बनाउनुपर्दछ, हृदयलाई पवित्रता बनाउनुपर्दछ।

अनि त्यसपछि देवीलाई प्यारो लाग्ने भनेको रातो वस्त्र, रातो वस्त्रमा दियो, कलश, गणेश स्थापित गरेर नवदुर्गा भगवानीलाई सुपारी र जँई राखेर कतै केराको पातमा राख्ने चलन छ।

आ–आफ्नो कसैले सुपारी मात्र राख्ने चलन छ। त्यसपछि राखेर कालो भट्टमास त्यसैगरी चिउराहरु कुरा राखेर, अनि भगवती आमा सिद्धिधात्री भगवतीको पुजा गरिन्छ। यसरी सबै कुरालाई भगवतीको कृपा र शक्ति प्राप्त हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.