लघुकथा : मुठ्ठी
गरिव परिवारमा जन्मियो-प्रणय। उसले नजिकैबाट देख्यो-गरिवमाथिको शोषण, अन्याय र अत्याचार। र, भोग्यो-दिनरात घोटिएकोघोटियै गर्दा पनि गरिवको दीनहीन अवस्था।
अनि उसले गरिवको हकहितका लागि मुठ्ठी कस्यो, मुड्की उज्यायो। कतिको लबटा खायो, कतिकति ज्यानमार्ने धम्की खेप्यो, कतिपटक पक्राउ पर्यो।
र, प्रणय नेता भयो।
ती दिन प्रणयका कुरा गरिबहरू सुन्थे, किनकि प्रणय आफैं पनि गरिब थियो। श्रमिकहरू प्रणयका कुरामा विश्वास पनि गर्थे, किनकि प्रणय आफू पनि श्रमिक वर्गको थियो। प्रणयले मुठ्ठी कस्दा समुदायभित्र धेरैवटा मुठ्ठी कसिन्थे।
प्रणयको एउटै मुठ्ठीमा धेरैवटा मुठ्ठी केन्द्रीकृत भएको समुदायभित्र राजनीति गर्ने मानिसहरूले देखे। तिनीहरूलाई लाग्यो- ‘प्रणयलाई आफ्नो पार्टीको बनाउन सकियो भने प्रणयले मुठ्ठी कस्दा कसिने सबै मुठ्ठी आफ्ना हुने रहेछन्।’
तिनीहरूले प्रणयलाई प्रलोभनमा पार्न खोजे। प्रणय प्रलोभनमा कसरी पर्न सक्थ्यो र! तिनीहरूले प्रणयको विचार परिवर्तन गरिदिन खोजे। प्रणयको विचार कसरी परिवर्तन हुन सक्थ्यो र!
कालान्तरमा तिनीहरूले प्रणयको वर्ग परिवर्तन गर्न सुझाए। वर्ग परिवर्तन गर्न प्रणयले मुठ्ठी कसेरै राजनीतिको नाममा के के गर्नु पथ्र्यो; उनीहरूले नै सिकाए।
प्रणय अब गरिब रहेन। प्रणयको अवस्था अब दीनहीन पनि रहेन।
तर मेरो देशका गरिबहरू अझै पनि प्रणयलाई आफ्नो नेता मान्छन्। मेरो देशका दीनदुःखीहरू ‘प्रणयबाट अहिले पनि आफ्नो हकहितको रक्षा हुन्छ’ भन्ने ठान्छन्।
No ads found for this position


Facebook Comment