काठमाडौंका बाढीपीडित क्षेत्रमा सफाइ जारी

डिसी नेपाल
१९ असोज २०८२ १६:२१
32
Shares

काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारणले प्रभावित बल्खु, टेकु, विष्णुमती कोरिडोरलगायतका क्षेत्रमा आज(आइतबार) दिनभर ठुलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ।

नगर प्रहरी बलका नायव उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानैदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका सय जना कामदार, तीन वटा जेसीभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा हिलो सोहोर्ने, ढुङ्गा–ग्राभेल हटाउने र सडक सफा गर्ने कार्य भइरहेको छ।

बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडिको लाइन, टेकु दोभान, बङ्सीघाट, च्यासल, संखमुल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा काम भइरहेको छ।

तर बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक गिलो हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको थापाले बताए।

‘हिलो पूरै पानी–पानी भएको छ। साबेलले निकाल्न, मेसिनले समेत सोहोर्न नसक्ने अवस्था रहेको छ। त्यसैले आज केही ठाउँमा काम सहज रूपमा गर्न सकिएको छैन। घाम लागेमा भोलिदेखि फेरि सफाइ सहज हुनेछ,’ थापाले भने।

नगर प्रहरी बलका टोलीहरू प्रभावित बस्तीमा पनि खटिनुभएको छ। बङ्सीघाट र टेकु दोभानका बस्तीमा हिलो घरभित्र पसेको र स्थानीयवासीले पनि सफाइ कार्यमा सहयोग गरिरहनुभएको थापाले बताए।

थापाका अनुसार बल्खु फलफूल बजार क्षेत्रको सडक अझै पनि अत्यन्त गिलो छ, जसलाई अहिले अस्थायी रूपमा हिलो थुपारेर बाटो खुलाइएको छ।

थापाले भने,‘हामीले तत्काल सम्भव हुने ठाउँमा हिलो व्यवस्थापन गरेका छौँ। तर, अझै उठाउनै नसकिने अवस्था छ। घाम लागेपछि सफाइ सहज हुनेछ र प्रभावित क्षेत्र सफा गर्न सकिनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *