बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा सवारी सञ्चालनमा कठिनाइ

डिसी नेपाल
२० असोज २०८२ २२:५९
28
Shares

काठमाडौं। अविरल वर्षापछि बाढीपहिरोका कारण विभिन्न सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मकवानपुरबाट काठमाडौं जोड्ने प्रमुख सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाडौं र हुमाने–फाखेल–काठमाडौं सडक पहिरोका कारण अवरुद्ध भएका छन्। उनले हाल यी दुई सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन चल्न दिइएको बताए।

हाल मकवानपुरबाट काठमाडौंतर्फ आउन चाहने सवारी साधनहरू सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालनमा ल्याइएको छ भने काठमाडौंबाट मकवानपुरतर्फ जाने सवारीहरूलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ। पहिरो पूर्णरूपमा नहटेसम्म यस्ता वैकल्पिक व्यवस्थाबाटै सवारी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

बाढीपहिराकै कारण कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भन्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको सुवेदीले बताए।

उनका अनुसार विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत अवरुद्ध भएको छ। कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन्।

त्यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन्।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानास्थित भङ्डारे खोलामा लेदोसहितको बाढी आएकाले आवतजावत पूर्ण रुपमा अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा गएको पहिरोका कारण आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ। यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको जनाइएको छ।

मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा सडकमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको प्रवक्ता सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.