मौलिकता हराउँदै देउसी–भैलोमा
रामेछाप। केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो। दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे। कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे। कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे।
टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे। त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक थियो।
तर अहिले त्यो मौलिकता हराउँदै गएको छ। रामेछापको मन्थली बजारका धेरै ठाउँमा साँझ खेलिएका देउसी–भैलोमा अब न त पुराना बाजा सुनिन्छन्, न मौलिक गीत र नाच देखिन्छ। माइक र स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवतीहरू नाचगानमा रमाइरहेका देखिन्छन्।
स्थानीय कलाकारको सट्टा रेडिमेड संगीत र बजारिया शैलीको नाचले तिहारको मौलिक स्वाद फिका बनाइदिएको स्थानीय बासिन्दाहरू बताउँछन्। ‘पहिले गाउँमा आफ्नै बाजा, आफ्नै गीत र आफ्नै नाच हुन्थ्यो, अब त सबै ठाउँमा माइकको आवाज मात्र सुनिन्छ’, मन्थली–१ का दामोदर घिमिरे भन्छन्।
आधुनिकता र प्रविधिको असरले द्यौसी–भैलोको मौलिक स्वरूप कमजोर बन्दै गएको हो। एकातिर नयाँ पुस्ता परम्परागत ताल, गीत र नाच सिक्ने अवसरबाट टाढा हुँदै गएको छ, अर्कोतिर तिहारलाई केवल मनोरञ्जनको पर्वका रूपमा सीमित गर्ने प्रवृत्तिले पनि यसको सांस्कृतिक गहनता घटाएको छ।
सांस्कृतिक जीवनको आत्मा बनेको द्यौसी–भैलो अब पुनर्जीवित गर्न स्थानीय समुदाय र विद्यालयस्तरमै परम्परागत नाच–गान र बाजा सिकाउने पहल आवश्यक रहेको संस्कृतिका ज्ञताहरु बताउँछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment