गर्लफ्रेन्ड
ऊ शाम्बलीलाई मन पराउँथ्यो। शाम्बलीसँग उसलाई मन पराउने अधिकार थियो कि थिएन थाहा थिएन। साथी समूहमा कलेजको क्यान्टिनमा दुईचार कप चिया खाएको बाहेक शाम्बलीसँग छुट्टै चिया खाएको पनि होइन। माया पिरतीका कुराहरू गरिएको पनि होइन।
‘तिम्रो फिस्कल पोलिसीको नोटकपी देऊ न’ शाम्बलीको मिठो बोलीबाट नोटकपी आदान प्रदान सुरु भएको थियो। यो कुरा थाहा पाउने टोल, छिमेक, आफन्त तथा साथीभाइ सबै शाम्बलीलाई उसको ‘गर्लफ्रेन्ड’ नै भन्न थाले। शाम्बली घर परिवारमा, आफन्त तथा साथीभाइमा कुरा काट्ने विषय भएकी थिइन्।
‘हाम्रो त छोरीचेली, समाजमा अप्ठ्यारो पर्छ, विवाहको कुरा पनि चल्दै छ, शाम्बलीको पिछा कृपया छोडिदिनु’ शाम्बलीका बाबुले सम्झाएका थिए।
ऊ भने अचम्ममा परी निःशब्द टोलाएको थियो।
डिभी परेर अमेरिकाको फ्लोरिडा पुगेपछि उसको नजिकमा टेरी आइपुगी। मुसुक्क, सभ्य तथा आकर्षक हाँसोले ऊ मदहोस त भयो, तर सात समुद्र पारी गए पनि नेपाली संस्कारले थिचिएको थियो।
‘यु आर सो ह्यान्डसम् एन्ड अ बेस्ट फ्रेन्ड’ ( तिमी धेरै सुन्दर छौ र असल साथी हौ) कसिलो अँगालो भित्रबाट टेरीले बोलेको कुराले उसको नेपाली लाज हराउँदै गयो।
धेरै रेस्टु्रेन्टमा सहभोजन भयो, धेरै गन्तव्यहरूमा पर्यटकीय यात्रा भयो, भेटै पिच्छे आलिङ्गनहरू र ‘किस’ पनि भए। अनेकौँ अवसरमा सामान्यदेखि महँगा कोसेलीहरू पनि आदान प्रदान भए। अनि उसलाई लाग्यो “अब टेरी उसको ‘गर्लफ्रेन्ड’ बन्न सक्छे”
एक दिन उसले आफैँलाई धिक्कार्यो ‘थुइक्क, म कस्तो नामर्द, प्रस्ताव त लोग्नेमान्छेले नै गर्नु पर्छ।’
‘विल यु एग्री टु मेक ………..।’
टेरीले सहज भावमा तर उसको इच्छा पुरा गर्न नसकेकामा दुःखी हुँदै जवाफ दिई ः
‘ओह नो, आइ एम एक्सट्रिम्ली सरी, आइ क्यान्ट, यु आर माइ बेस्ट फ्रेन्ड, नट ब्वाइफ्रेन्ड एन्ड आइ एम अलरेडी म्यारिड’ (ओहो होइन, म एकदमै दुःखी छु, म तिम्रो प्रस्ताव पुरा गर्न सक्तिनँ, तिमी मेरो असल साथी हौ, केटा साथी होइनौ र म विवाहित हुँ)।
ऊ फेरि निःशब्द टोलाइरह्यो।
No ads found for this position


Facebook Comment