लघुकथा : वाह!

ईश्वर पोखरेल
१६ कार्तिक २०८२ १२:१७
52
Shares

सडक थियो-साँघुरो।
एउटा आयो र त्यसैमा पिच गरिदियो, कसैको घरगोठ भत्केन, कसैले जग्गा गएको पीडा भोग्नु परेन।
त्यस पुस्ताका सबैले ‘वाह!’ भनें।

अर्को आयो र सडक बिस्तारको कुरा गर्न थाल्यो। भन्यो-‘यो साँघुरो सडकले हाम्रो आवागमनलाई थेग्दैन, यसमा हाम्रो बस्तीको अबको रूपान्तरण अटाउन सक्दैन।’

धेरैले उसको विरोध गरे। उसले धेरै अवरोधहरूको सामना गर्नु पर्‍यो। उसले फटाफट कामलाई अग्रगति दिन पनि सकेन।

तर ऊ सडक बिस्तार गरेर मात्र पिच गर्ने अडानबाट टसमस भएन।

अन्ततः उसले जित्यो।

काम सम्पन्न भएपछि उसको कामलाई पनि मान्छेहरूले ‘वाह!’ भने।

बस्ती त्यही हो-
समयक्रममा बस्तीमा अगाडि ‘वाह!’ भन्ने मान्छेहरू निख्रिदै आए; पछाडि ‘वाह!’ भन्ने मान्छेहरू थपिँदै आए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.