सगरमाथा चौधरी आँखा अस्पताल : तीन वर्षमा दुई हजार बढीको निःशुल्क शल्यक्रिया
सिरहा। नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।
नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३ सय १७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५ सय ५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए ।
उनका अनुसार पहिचान भएका बिरामीमध्ये एक हजार ९ सय ७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीलाई खोजी गरी शीघ्र उपचार गर्ने तयारी भइरहेको छ । त्यस्तै, ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दुको समस्या धेरै देखिएको उनले बताए ।
शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रूपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन् । बिहीबार वडा नं २४ मा गरिएको शिविरमा ३ सय ३५ जनाको स्वास्थ्य परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु फेला परेपछि तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको थियो ।
नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताए । ‘दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने भावनाले हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,’ उनले भने ।
अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकासमेतमा आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए ।
शिविरमार्फत जाँच र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर नयाँ जीवन दिएको जनाउँदै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २ सय २६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ। रासस







डिसी नेपाल








Facebook Comment