नेपालमा भारतीय लगानी अझ बढी भित्र्याउन हामी प्रयासरत छौँः अध्यक्ष केसी
काठमाडौं। नेपाल–इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन उनीहरु प्रयासरत रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज गरिएको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानुनी सुधार जरुरी रहेको बताए।
‘भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्, निक्कीले यसका लागि काम गरिरहेको छ, नेपालमा लगानीका लागि केही सुधार आवश्यक छ, समस्या देखिएका क्षेत्रमा सुधार भए लगानी बढाउन सकिन्छ’, उनले भने। नेपालमा भारतीय लगानी बढाउन निक्कीले भारतको नयाँदिल्लीमा कार्यालय स्थापनाको तयारी गरिरहेको उनको भनाइ थियो।
‘निक्कीको पहिलो प्राथमिकतामा लगानीको सुरक्षा, लगानी प्रवद्र्धन र पुनःलगानी हो। त्यसपछि नयाँ लगानी भित्र्याउनु हो’, अध्यक्ष केसीले भने। नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न विभिन्न अवसर प्रदान गर्नुका साथै बजारको आकार पनि मुख्य हुने उनको भनाइ थियो।
नेपालमा लगानी ल्याउन भारतमै लगानी सम्मेलनको तयारी भइरहेको अध्यक्ष केसीले बताए। पछिल्लो समय नेपालमा सूचना प्रविधिलगायतका क्षेत्रमा ठूलो सम्भावना भएकाले सो क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न सकिने उनले बताए।
त्यस अवसरमा निक्कीका उपाध्यक्षद्वय रविकुमार रायावरम र कुनाल कयाल, महासचिव राजन शर्मा, कोषाध्यक्ष किरण मल्ललगायतले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा कानुनी सुधार जरुरी रहेकामा जोड दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment