कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान
सुर्खेत । कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान थियो।
यस वर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत र ३.९८ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ।
यस वर्ष समयमै धान रोपाइँ भएको, अन्य बर्षे बालीको समयमा पनि मौसम अनुकुलता भएको, आन्तरिक पर्यटनको प्रवद्र्धन भएको, वित्तीय सेवा, वित्तीय पहुँच, डिजिटल भुक्तानी, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा क्रमश सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ।
रणनीतिक महत्वका सडकहरु विस्तार भइरहेको, विद्युत प्रसारण लाइन निर्माण, पर्यटन पूर्वाधारको निर्माण, भूकम्प पुनः निर्माणका कार्य, यातायात, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र खानेपानीसँग सम्बन्धित पूर्वाधारहरुको निर्माण भइरहेकोले आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नसक्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णालीको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३१.५० प्रतिशत योगदान रहेको छ। कर्णालीमा उद्योग क्षेत्रको योगदान भने ज्यादै न्युन ९.५८ रहेको छ। सेवा क्षेत्रको ५८.९१ प्रतिशत योगदान छ।
कर्णालीको अर्थतन्त्रमा योगदान गर्ने कृषि क्षेत्रको उत्पादन र क्षेत्रफल भने निरन्तर घट्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णालीमा समग्र कृषि बालीले ढाकेको भूक्षेत्र आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ६.०८ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।
कर्णालीको कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानीसमेत न्यून छ। गतवर्ष बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.०२ प्रतिशत हिस्सा ओगटेको छ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ७.७० प्रतिशतले कम हो।
त्यस्तै, यस वर्ष कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ। बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.० प्रतिशत छ भने, गलैंचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत छ।
समीक्षा वर्षमा औद्योगिक कर्जा २०८० कोे तुलनामा १.९४ प्रतिशतले कमी आएको छ। कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ।
सेवा क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२मा कर्णाली भित्रिने पर्यटकको संख्या १.७२ प्रतिशतले वृद्धि भएको छ। भारत र चीनबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.८५ प्रतिशत र २५.७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या ९.१३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment