डोटीबाट प्रतिनिधिसभा निर्वाचनका लागि आनन्द विष्ट सिफारिस

डिसी नेपाल
२८ मंसिर २०८२ १८:५२
84
Shares

धनगढी नेपाली कांग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ गोरख बहादुर विष्ट (आनन्द)को नाम सिफारिस गरेको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ डोटीबाट कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय विष्टसहित १७ जनाको नाम सिफारिस गरिएको हो।

जोरायल गाउँपालिका५ गडसेरामा जन्मिएका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत हुन्।

विष्ट कांग्रेस राजनीति र समाजसेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। भारतको देहरादुनमा अध्ययनका क्रममा उनमा राजनीतिक चेतको विकास भएको थियो।

विष्टले प्रजातन्त्रको पुनर्स्थापनाका लागि २०४६ को आन्दोलनमा नेपाल विद्यार्थी संघको सदस्यका रुपमा सक्रिय भूमिका निभाएका थिए। त्यसयता उनी निरन्तर लोकतन्त्र, मानव अधिकार र नागरिकको मौलिक हकका लागि लड्दै आएका छन्।

विष्टले २०६२६३ मा कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको जन आन्दोलनको अमेरिकामा नेतृत्व गरेका थिए।

विष्टकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीले नेपालमा भइरहेको जनआन्दोलनको पक्षमा संयुक्त राष्ट्र संघ, क्यापिटल हाउस, ह्वाइट हाउस, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको कार्यालय र वासिङटन डिसीस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गरेका थिए।

विश्वभरी कांग्रेसको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विष्टले नेपालमा २०७२ मा गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि प्रवासबाट थुप्रै सहयोग गरेका थिए। ठूलो आर्थिक सहयोग जुटाएर पार्टीलाई पठाएका विष्ट स्वयं पनि भूकम्प प्रभावित जिल्लामा पुगेर प्रभावितको राहत तथा उद्धारमा खटिएका थिए।

त्यसबाहेक कोभिड १९ मा अमेरिकामा रहेका नेपालीको जीवन रक्षाका लागि अहोरात्र खटिएका विष्टले नेपाली विद्यार्थीहरू र रोजगारी गुमाएकाहरूलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका विष्ट अढाई दशकदेखि प्रवासमा नेपाली समुदायको हितमा काम गर्दै आएका छन्।

प्रवासबाट डोटी जिल्लाको शैक्षिक तथा सामाजिक क्षेत्रमा उनले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। विपन्न परिवारका बालबालिकाको शिक्षा तथा जीवन यापनमा सहयोग गर्दै आएका विष्टले बिरामी तथा सुत्केरी महिलाको उपचारका लागि डोटीका विभिन्न पालिका तथा संघसंस्थाहरूलाई एम्बुलेन्सहरू प्रदान गरेका छन्।

त्योसँगै विष्टले सुदूरपश्चिमको दार्चुला, अछाम, बझाङलगायतका जिल्लामा बाढीपहिरोबाट विस्थापितहरूलाई राहत सामग्री प्रदान गरेका छन्।

२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन र त्यसयता भएका प्रतिनिधि सभा र स्थानीय निकायको निर्वाचनमा डोटीमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन भूमिका निर्वाह गरेका विष्ट डोटीका नौ वटै पालिकाका नेता, कार्यकर्ता तथा आमजनतासँग निकट रहेर काम गर्दै आएका छन्।

विष्टले पार्टीद्वारा सञ्चालित विभिन्न अभियान र निर्वाचनमा कमाण्डरका रूपमा विभिन्न जिल्लाको कमाण्डरको भूमिका समेत निर्वाह गरेका छन्।

विष्टले कांग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

प्रवासमा रहेर सधैँ देश, पार्टी र जनताका पक्षमा काम गर्दै आएको छु। मेरो त्यही योगदानको मूल्यांकन गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचनका लागि मेरो नाम सिफारिस गरेको ठानेको छु, उनले भने, जनताबाट निर्वाचित भई देश र जन्मभूमिको सेवा गर्ने मभित्रको हुटहुटी यस पटक पुरा हुने विश्वास लिएको छु




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.