पार्टी नेतृत्वकाे अग्रपंक्तिमा नवयुवालाई ल्याऔँ : नेता गजुरेल
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबाेल गजुरेलले जेनजी आन्दोलनकाे मर्म र भावना अनुसारकाे पार्टी निर्माण गर्न नवयुवा हरुलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने बताएका छन्।
उनले जेनजी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त नभएको भन्दै यसको मर्मलाई व्यवहारमा उतार्नु नै वास्तविक परीक्षा भएको बताए। उनलेे संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम, कारबाहीप्रति जेनजीले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बताए।
‘संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टिम यो पुस्तासँग अन्तरघुलन गर्दै अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो।’ गजुरेलले भने।
त्यागका शाब्दिक नारा र स्वघाेषणाले नभइ नीतिगत र विधिगत निर्णयले मात्र पार्टी पंक्ति र समाजलाई उद्देलित गर्न सक्ने उनको भनाइ छ। साे अग्निपरीक्षामा खरो उत्रिने पार्टी र नेतृत्व मात्र जेनजी पुस्ताको वास्तविक अभिभावक ठहरिने गजुरेलले बताए।
‘चाकरी, चापलुसी र अनावश्यक सत्तासंघर्ष मुक्त, रचनात्मक सोच, संघर्षशीलता र ऊर्जाशीलताले भरिएका नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौँ,’ उनले भने।
नेता गजुरेलले आगामी संघीय निर्वाचनमा अपवादबाहेक “संक्रमणकालीन विशेष नीति” अनुसार पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नहुने निर्णय गर्नुपर्नेमा जाेड दिए।
साे निर्णय नै उपयुक्त र सम्मानजनक हुने उनको भनाइ छ। पुराना नेताहरूकाे भूमिका वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव सम्प्रेषण गर्ने र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने उनले बताए।
त्यस्तै, संघीय संसदका उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयन अनिवार्य भएको नेता गजुरेलले बताए। ‘परम्परागत अभ्यासको अन्त्य गर्दै, समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमताको केन्द्रित चयन आजको माग हो।’ उनले भने।







डिसी नेपाल








Facebook Comment