अब नरिसाउने ल !

सुरेश भट्ट आश्रिन
१९ पुष २०८२ ७:५३
64
Shares

“अब नरिसाउने ल!” यसो भनेर छुट्टिएको केही समयमै उनी मसँग र म उनीसँग रिसाउने कुनै न कुनै कारण मिलिहाल्छ, अनि रिसाइहाल्छौं। अझ धेरै समस्या त उनी रिसाइन् भने बर्बाद हुने रहेछ। उनी रिसाउन नजान्ने म फकाउन।

मानिसमा उत्पन्न हुने रिस स्वभाविक प्रक्रिया हो। प्राकृतिक रुपले उत्पन्न हुने एउटा भावनात्मक क्रियापनि हो। माया प्रेममा हाम्रा भावनाहरुले विभिन्न समयमा विभिन्न बिषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छौं। कतिपय आँखाले देखेर उत्पन्न हुने भावनात्मक संवेग मध्ये रिस एउटा हो।

हाम्रो समाजमा प्रेम सम्बन्ध देखि लिएर सुस्म रुपमा भित्रभित्रै फैलिएको ठूलो समस्या भनेको रिस हो। भन्ने गरिन्छ-रिस खा आफू , बुद्धि खा अर्को।” अर्थात् रिस गर्नाले आफैंलाई खान्छ, बुद्धिले अरुले खान्छ। यसमा रिसाएको मान्छे निष्क्रिय भएर आफ्नो रिस प्रकट गर्छ। ऊ केही बोल्दैन, केही गर्दैन उठेर एकातिर हिँड्छ।

तर प्रेममा परेका प्रेमिल जोडीहरुमा भने रिसको प्रकार बेग्लै हुन्छ। जहाँ प्रेमिले प्रेमिकाको रिस बुझेर माया र समर्पण देखायो भने केही समयमै शान्त र सौम्य हुन्छ। तर प्रेमी प्रेमिका एकअर्काले एक अर्काको भावना नबुझ्दा सम्बन्ध सकिन्छ।

यस्तो रिस जो कहिले नहराउने, रिस उठाउनेलाई कहिले माफी नगर्ने खालको हुन्छ। यदि सच्चा प्रेममा यस्तो खाले रिसले स्थान पायो भने उसलाई डिप्रेसनसम्म पुर्‍याउँछ। चलनचल्तीको भाषामा प्रेमरोगी पनि भन्ने गरिन्छ।

प्रेम सम्बन्धलाई रोगको घर भनेर पनि भनिन्छ। जहाँ आफ्नो कुरा पाटनरसँग प्रष्ट रूपमा राख्न सक्तैनन् हृदयको कुनामा बसेको प्रेमलाई चोट नपुर्‍याउने हेतुले डर पैदा गर्छ। ब्रेकअपको डरै डरले गर्दा उनीहरुले मन माझेर कुरा राख्न सक्दैनन् त्यस्तो प्रेम प्रेमिका बढी रिसाउँछन्। किनकि उनीहरूले आफ्नो मनमा भएको कुरा अरूलाई भन्न नसक्दा पीडा हुन्छ र रिसमार्फत बाहिर निस्कन्छ।

यदि तपाईंको प्रेमी वा प्रेमिका रिसाउनु भएको छ भने, रिसाएको ठाउँबाट टाढा लैजानुहोस्। ठाउँ परिवर्तनले मन शान्त हुन्छ। खुला ठाउँ वा कतै डाँडा भएको ठाउँमा जाने प्रयास गर्नुहोस्। बगैंचामा वा टेरेसमा लैजानुस् ताजा हावाको गहिरो सास लिनुहोस् र रिसलाई शान्त गर्नुहोस्। यो तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ।

रिस र प्रेम मानवीय संवेदनाको एक हिस्सा हो। रिस जस्तै प्रेम पनि केहीबेरका लागि पागलपन मात्र हो। सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन्। अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन्।

रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केही दिँदैन। त्यसैले आफ्नो रिसमाथि विजय पाउन जति प्रेम सम्बन्धमा माफ आवश्यक हुन्छ त्यतिनै मानिसले आफुमा भएको रिसलाई फाल्न सके मन हल्का र मस्तिष्क फ़ुर्तिलो हुन्छ।

कुनै विशेष परिस्थितीमा के हुन्छ भने मानिसले निरन्तर प्रायः अर्धचेत- मुल्यांकन गरिरहेका हुन्छन् हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिल्दा प्रेममा सकिन्छ। त्यस्तो हुन् नदिन रोइदिनुस् जब तपाईं कसैको अगाडि रुनुहुन्छ भने यसले तपाईं र तपाईंको प्रेमिकाबीचको सम्बन्धलाई बलियो बनाउँछ। साथै जसका अगाडि तपाईं रुनुहुन्छ, ऊ विशेष व्यक्ति रहेछ भने उसले तपाईंलाई रुन रोक्नको लागि सक्दो प्रयास गर्छ। यसले गर्दा ऊसँगको सम्बन्ध झनै राम्रो हुन्छ।

प्रेममा रिस र घृणाले गर्दा एकअर्कोका लागि हजारौं सपना सजाउनेहरू जिउँदै मरेतुल्य भएका कैयन उदाहरण पनि छन् तर जब एउटा सुन्दर जोडीको ब्रेकअप हुन्छ त्यहीँ माया प्रेम मात्रै मर्दैन। विश्वास मर्छ। मानव प्रतिको मानवीयता मर्छ।

यस्तो लाग्छ सूर्यलोकमा पनि अँध्यारो हुन्छ, त्यतिवेला जुनले सूर्यको अँधेरी हटाउने प्रयास गर्छ। वास्तवमा प्रेम यस्तै हुन्छ जोसँग प्रेम पर्छ ऊभन्दा टाढा बस्नै मन लाग्दैन र ऊभन्दा टाढा बसे पनि ऊ कतै आफ्नै वरिपरि उपस्थित भएको जस्तो लाग्छ।

मानिसको चेतना नै प्रेमको अवतार हो। यदि युवायुवती दुईजनाबीच स्निग्ध प्रेम छ भने आकाशलाई ओडेर र धरालाई विछ्यौना बनाउँदै नमिठो गाँसमा पनि प्रेम छरेर त्यो गाँसलाई अमृत बनाउन सक्छ। च्यातिएको कपडा टालेर नयाँ कपडा बनाउन सक्छ।

मानिसको प्रेम नै सबैभन्दा ठूलो धन हो। जोसँग आकाशजत्रो प्रेमको ढुकुटी छ उसले नै आफुनी प्रेमीकाले मागे जति धन दिन सक्छ। रुक्मणी र राम नै प्रेम नामको अकाट्य उदाहरण हो। राम वनबास जाँदा सीता दरबारको सबै सुख सयल त्यागेर रामसँग वनबास गइन्। यो सबै प्रेमकै रुप हो, नत्र सीता किन रामसँगै वनबास जान्थिन् र?

यता श्रीकृष्ण राधालाई चाहन्थे, रुक्मणीसँग विबाह गरे। तर प्रेम प्रतिकको रुपमा राधाकृष्ण सधै पुज्य भएपनि रुक्माणीले श्रीकृष्णलाई एकोहोरो प्रेम निस्वार्थ बर्साइरहिन्। जहाँ रुक्मणीले रिसलाई प्रेममार्फत व्यक्त गरिहेकी हुन्छिन्।

प्रेम भन्ने शब्द मुटुको गुँडमा तबसम्म मात्र लुकेर बसेको हुन्छ जबसम्म प्रेम शब्दले मानिसको भावनालाई बोकेर उड्ने प्वाँख उम्रेको हुँदैन। शब्दको प्वाँख उम्रिनासाथ ओठको हाँगामा आएर शब्दमार्फत प्रेमालाप हुन्छ बल्ल भुर्रर उड्छ प्रेमनगरको गुडबाट स्वतन्त्र र स्वच्छन्द।

प्रेम स्वतन्त्र पनि हो। प्रेममा आँकुरा पलाउन प्रेम सम्बन्धमा अंकुश लगाउने होइन। आजभोलिका कतिपय प्रेमी-प्रेमिकाहरुले प्रेममा अंकुस लगाएर बन्धक बनाएको पनि सुनिन्छ/ देखिन्छ। प्रेम जहाँ बन्धक हुन्छ त्यहाँ प्रेमिल सम्बन्धमा बाधा पुग्छ। प्रेमलाई स्वतन्त्रताको प्रतिकको रूपमा लिनुपर्दछ। तबमात्र आधा-आधा भएर एक अनि रिसलाई रसमा परिणत गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.