इन्डोनेसियामा विवाहपूर्व यौन सम्बन्ध राख्नेलाई जेल सजाय, नयाँ कानुन आजदेखि लागू

डिसी नेपाल
१८ पुष २०८२ १२:१६
9.4k
Shares

काठमाडौं । इन्डोनेशियाको नयाँ फौजदारी संहिता जनवरी २ अर्थात आजदेखि लागू भएको छ । यो नयाँ कानुनले विवाहपूर्व यौन सम्बन्ध र देशप्रति अपमानजनक भनाइलाई अपराध ठहर गर्नेछ । यो नयाँ कानुनलाई दुरुपयोग हुन नदिन सार्वजनिक निगरानी आवश्यक पर्ने सरकारका एक मन्त्रीले रोयटर्सलाई बताएका छन्।

३४५ पृष्ठको यो संहिता २०२२ मा पारित भएको हो जसले डच उपनिवेशकालीन कानुनलाई प्रतिस्थापन गरेको छ। यसको व्यापक परिभाषाको लोकतन्त्रवादी कार्यकर्ताहरूले आलोचना गरेका छन् । आलोचकहरूले यो कानुनले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने तथा सरकारका आलोचकहरूलाई पक्राउको जोखिममा पार्ने चिन्ता व्यक्त गरेका छन्।

कानुन मन्त्री सुप्रतमान आन्दी अग्तासले कानुनको संशोधन समयानुकूल भएको बताए, तर अधिकारीहरूले नयाँ अधिकारको दुरुपयोग गर्ने सम्भावना रहेको पनि स्वीकार गरे। ‘त्यस्तो हुन्छ’ उनले मंगलबार फोनमा रोयटर्ससँग भने ‘हामी अन्धा छैनौं। तर महत्वपूर्ण कुरा सार्वजनिक निगरानी हो। नयाँ कुरा तुरुन्तै परिपूर्ण हुँदैन।’

दशकौँको तयारीपछि यो संशोधन तत्कालीन राष्ट्रपति जोको विडोडोको अन्तिम कार्यकालमा पारित भएको थियो। त्यसबेला तत्कालीन अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले विडोडोलाई केही प्रावधानहरूमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

अग्तासले भने, ‘संहितालाई इन्डोनेशियाको वर्तमान कानुनी र सांस्कृतिक मान्यताअनुसार अद्यावधिक गरिएको हो, जसमा पुनर्स्थापना न्याय प्रणाली जस्ता नयाँ नीतिहरू समावेश छन्। “यो हाम्रो आफ्नै कानुनी प्रणाली हो… अन्य देशभन्दा फरक ।’

नयाँ कानुनले विवाहपूर्वको र विवाहित पतिपत्नी बाहेक अन्यसँगको यौन सम्बन्धलाई अपराध मान्नेछ र एक वर्षसम्मको जेल सजाय हुन सक्छ । यद्यपि यो कानुन त्यतिबेला मात्र आकर्षित हुन्छ जब पति/पत्नी, अभिभावक वा सन्तानले उजुरी गर्छन् । हाल इन्डोनेशियामा व्यभिचार मात्र अपराध मानिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.