काउलीले बजार पाउँदा मण्डन देउपुरका किसान उत्साहित

डिसी नेपाल
२७ पुष २०८२ ७:३७
24
Shares

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका-११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ।

पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनी मख्ख छन्। सापकोटा भन्छन्, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ।”

करिब चार रोपनी बारीमा काउली रोप्नुभएका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा छन्। तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उनी दुखेसो पोख्छन्। यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन्।

हाल बजारमा प्रतिकिलो काउली ४५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन्। गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो।

विगतका वर्षमा झैँ यस वर्ष पनि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब एक सय ३० किसानले काउली रोपेका छन्। यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारी पर्याप्त उत्पादन हुने गर्दछ। तर कहिलेकाहीँ बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका सापकोटा बताउँछन्।

“तर यस वर्ष समस्या देखिँदैन जस्तो लागेको छ”, उनले भने। सापकोटाका अनुसार यहाँ यस याममा दैनिक एक हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ। यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ।

यस वर्ष एउटै किसानले एउटा याममा काउली, बन्दा र गोलभेँडा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ। उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो ९० रुपैयाँसम्म तिर्नुपर्दा यहाँका किसानले भने ४५ रुपैयाँको हाराहारीमा मात्रै पाइरहेका छन्।

“काउली प्रतिकिलो ४० रुपैयाँबाट घटाउनु परेन भने लगानी उठाएर पनि केही बचत गर्न सकिन्छ”, स्थानीय गायत्री सापकोटाले भने। उनको अनुभवमा एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ, काउली रोप्न बारी खनजोत गरी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय-समयमा किटनासक विषादी हाल्नेलगायत काम गर्नुपर्छ।

सापकोटा भन्छन्, “तर त्यसको मूल्य नपाउँदा भने किसान मर्माहत नै हुन्छन्, यस वर्ष काउलीमा त्यस्तो नहुने देखेर हामी उत्साहीत नै छौं।”

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान हतार भएको छ। साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली उखेल्न निस्कनुहुन्छ ।

व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने तथा बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेका सापकोटाले बताए। आफूले गरेको मिहिनेतअनुसारको आम्दानी नपाएकामा उनी चिन्तित छन्।

“व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने गरका छौँ”, सापकोटाले भने। उनी हाल व्यापारीले प्रतिकिलो काउली ४० देखि ४५ रुपैयाँसम्ममा खरिद गर्ने गरेका बताउँछन्।

तरकारीबाट उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक भएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन्। “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, यसका लागि सरकारले किसानको पक्षमा केही गर्नुपर्ने हो”, उनले भने।

कृष्णप्रसादका अनुसार किसान आफूहरूले गरेको तरकारीखेतीको बजारका लागि वडा र नगरले सहयोग गरुन् भन्ने राख्छन्। मल तथा बीउ समयमा नपाउनु र लगानी उठ्ने जोखिम हुनु यहाँका किसानको प्रमुख चुनौती बनेको उनको भनाइ छ। राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ। यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन्।

गत वर्ष प्रतिकिलो १५ रुपैयाँमा समेत काउली बिक्री नहुँदा फलेको काउली काटेर बजार पुर्याउने खर्च पनि नउठेको गायत्री सापकोटा बताउँछन्। “मैले गत वर्ष बारीभरि काउली रोपेकी थिएँ, त्यतिबेला मध्ययाममा पनि १५ रुपैयाँमा पनि बिक्री भएन, काटेर बजार लैजाने ज्यालासमेत उठेन।

कतिपय किसानले त खेतमै काउली जोतिदिएका थिए”, उनले भने। स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसानले आफूहरूलाई पायक पर्ने स्थानमा ‘हाटबजार’ राखिदिन नगर कार्यालयसँग अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *