अन्तर्वार्ता

देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली

रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं 

डिसी नेपाल
४ माघ २०८२ ९:५५
40
Shares

मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ। विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन्। यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तयारीबारे  रास्वपा नेता गणेश पराजुलीसँग गरिएकाे  संवादः

राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?

फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं। यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं। त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो।

उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको पाइन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले के गर्नुपर्छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छ।

जसले नेपाली जनताको सपना टुक्राउने कोशिस गर्छन्, उनीहरूले नेपाली जनतालाई जवाफ दिने हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्छ, गरेको छ र गर्नेछ।

उज्यालो नेपाल पार्टीसँग के कारण समस्या आयो ?

उहाँहरूले दल त बनाउनुभयो तर उहाँहरूबीचमै ठूलो विवाद आएको पायौं। एकजनाले नाम राख्नुहुन्छ र अर्कोले आएर उहाँहरूकै नाम काट्ने गर्नुभयो। उहाँहरू बीचको आन्तरिक असहमति, पदप्रतिको एक किसिमको आशक्तिले समस्या निम्त्यायो।

अनि एक किसिमको भ्रम पनि सिर्जना भयो। यतिबेलाको सर्वेसर्वा मै हुँ, सबै कुरा मलाई नै हुनुपर्छ अथवा म नै प्रमुख हुनुपर्छ भन्ने अहमता पनि देखियो। एक किसिमको अहंकार पनि बढेको हो कि भन्ने लाग्यो।

नेपाली जनताको आकांक्षा, चाहनालाई पुरा गर्नको लागि सबै वैकल्पिकहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हिसाबले कुलमान दाजुहरूसँगको सहकार्य अगाडि बढेको हो। त्यसलाई टुंगोमा पुग्न नदिनको लागि, यसलाई निष्कर्षमा पुग्न नदिनको अन्य राजनीतिक शक्तिहरूले षडयन्त्र पनि गरेको हो कि भन्ने लागिरहेको छ।

बालेन शाहसँगको सहकार्य कुन रुपमा अगाडि बढिरहेको छ ?

उहाँहरूको तर्फबाट केन्द्रीय समितिमा आउनुपर्ने साथीहरूलाई समायोजित गरिसकेका छौं। समानुपातिकको नाम पनि राखिसकेर अब प्रत्यक्ष तर्फको प्रक्रियामा अगाडि बढेका छौं। बालेन्द्रजीसँगको त कुनै समस्या हुने कुरै भएन।

पुराना दलहरुको दबदबा कायमै रहेको बेला रास्वपाले जनतालाई आकर्षित गर्न कस्तो योजना बनाएको छ ?

आज जनताले विशेष किसिमको योजना खोजेका छैनन्। पूराना राजनीतिक दलहरूको दबदबा कम गर्नुभन्दा पनि उहाँहरुले देशमा व्यवस्था परिवर्तनको लागि खेलेको भूमिकाप्रति हामी कृतज्ञ हुनुपर्छ। तर अवस्था सुधार गर्नको लागि उहाँहरूले काम गर्न सक्नु भएन। हामी उहाँहरुप्रति कुनै बैरभाव राख्दैनौं।

उहाँहरूले गरेका त्याग, बलिदानलाई सम्मान गर्नेछौं। सबै आन्दोलनबाट प्राप्त भएको व्यवस्थाभित्र अवस्था सुधार गर्नको लागि काम गर्नुपर्ने भएकाले उहाँहरू आफ्नो अस्तित्वको लडाइँमा हुनुहुन्छ। त्यसकारण उहाँहरूको दबदबाको विषयमा मैले चर्चा गरिराख्नै पर्दैन।

यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको विश्वास र भरोसालाई टुंगोमा पुर्‍याउनको लागि आफूले गर्नुपर्ने सबै त्याग गरेर बालेन्द्र शाहजीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा रूपमा प्रस्तुत गर्नु, त्यसपछि कुलमान दाजुहरूलाई समाहित गर्ने प्रयास गर्नु सामान्य कुरो पनि होइन।

चौथो ठूलो राजनीतिक दलबाट पहिलो ठूलो राजनीतिक दल बनाउने प्रयासमा भूमिका खेलेका कैयौं साथीहरूले त्यागलाई पनि सम्मान गर्नुपर्ने छ। त्यसैले कुनै विशेष किसिमको योजना भन्दा पनि समृद्धिको यात्रालाई टुंगोमा पुर्‍याउनको लागि गर्नुपर्ने सबै काम गर्नुपर्ने अवस्था छ।

हालको व्यवस्थाभित्र अवस्था सुधार गर्नुपर्नेछ र अवस्था सुधार गर्नुपर्नेछ। आजको मुख्य समस्या भनेको बेथितिपूर्ण अवस्था र भ्रष्टाचारको कहालीलाग्दो अवस्था हो। त्यसलाई अन्त्य गरेर सुशासन कायम गर्दै समृद्धिको यात्रा तय गर्नको लागि सिर्फ भाषणले पुग्दैन। त्यसका लागि क्षमता भएका व्यक्तिहरूलाई जिम्मेवारीमा पुर्‍याउनुपर्छ।

धेरैजसो सिस्टमहरू, पद्धतिहरू नै रिफर्म गरेर सशक्त रूपमा योगदान दिनेबेला भएको हो। हामीले देखेको सपना पुरा गर्छौं भनेर भनिरहनु पनि पर्दैन्। यतिबेला समग्र शासन प्रणालीको रिफर्म, शासकीय स्वरुप परिवर्तन गर्ने भन्ने कुरामा संशोधन गर्नुपर्नेछ।

संविधान संशोधन गरेपछि मात्र सम्भव छ। जनतामाझ म्यान्डेट लिएर जाने हो तर यही व्यवस्थाभित्र पनि सुधार गर्नुपर्ने कैयौं ठाउँहरू छन्। त्यसका लागि पद्धति बसाल्नुपर्छ। अनि मात्र सुधार गर्न सकिन्छ भन्ने कुरा हामीले व्यवहारमार्फत प्रस्तुत गरिरहेका छौं। त्यसले नेपाली जनतामा विश्वास सिर्जना गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नेतृत्व सम्हालेका सबै नेताहरूले आ-आफ्नो ठाउँबाट त्यो प्रमाणित पनि गरेका छन्।

जेनजी आन्दोलनपछि निर्वाचनको अवस्था बन्दै गएको छ। यस्तो अवस्थामा रास्वपाले जेनजी पुस्तालाई कसरी सम्बोधन गरेको छ ?

भदौ २३ र २४ गतेको जुन घटना घट्यो, त्योभन्दा अगाडि जेनजी पुस्ताले सडक आन्दोलन गर्नुपर्ने अवस्था कसरी आयो भन्ने कोणबाट हेर्नुपर्छ। सामाजिक सञ्जालविरुद्ध सरकारलाई खबरदारी गर्ने र त् भ्रष्टाचार विरुद्धको एक किसिमको आन्दोलन छेड्दैगर्दा नैतिक समर्थनदेखि लिएर सचेत हुनुपर्ने कुरामा उहाँहरूलाई साथ दिएको कुरा सबैलाई थाहा छ।

तर यसो भन्दैगर्दा सबै विध्वंसमा रास्वपा साथमा थियो भन्नु मुर्खता हुने छ। रास्वपाले कुनैपनि विध्वंसलाई आत्मसात गर्दैन, कुनैपनि हिंशालाई आत्मसात गर्दैन, शान्तिपूर्ण प्रक्रियाबाट मत परिवर्तन गराएर अवस्था सुधार गर्ने पाटोमा काम गर्न चाहन्छ।

७६ जना हाम्रा भाइबहिनीहरूले रगत बगाउनुपर्ने अवस्था नआइदियोस् भनेर कामना गरेका पनि थियौं। तर दुइ तिहाइको दम्भ बोकेकाहरूले आफ्नै नागरिकलाई, छोराछोरीलाई छातीमा, निधारमा ताकी ताकी गोली हाने र शहीद बनाए।

यस्तो अवस्था सिर्जना हुनु हुँदैन थियो, तर दुइ तिहाइको दम्भ गर्नेहरूले अझै पनि नचेतेको अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट, आगामी निर्वाचनमै सम्बोधन गर्नेगरी जेनजी पुस्ताका साथीहरुलाई अवसर प्रदान गरिरहेका छौं। २७ प्रतिशत त हामीले कोटामा नै छुट्याएको पनि हो।

त्यसकारण जेनजीहरूलाई सबैभन्दा बढी स्थान हामीले दिइरहेका छौं। रास्वपा आफैँ जेन्जी हो। त्यस कारण जेनजीका लागि विशेष र छुट्टै किसिमको विभाग बनाउनुपर्दैन। रास्वपाको समग्र संरचना नै जेनजी हो।

जेनजीमा पनि केही पक्षहरु निर्वाचनदेखि असन्तुष्ट छन्, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

जेनजी एउटा जेनेरेसन हो, एउटा पुस्ता हो र यो पुस्ताका सबै भाइबहिनीहरूले एउटै बुझाइ हुन्छ भन्ने हुन सक्दैन। त्यसमाथि पनि २४ गतेको घटनाक्रमपछि त आजसम्म आइपुग्दा सबै राजनीतिक दलले आ-आफ्ना जेनजी समूह पनि बनाएका छन्। उउहाँहरूलाई सिकाइरहेका छन्।

यसले अवसर यही देशमा उपयोग गर्न पाऊँ, अथवा भएको ज्ञान, सीप उपयोग गर्न पाऔं, यही देशभित्र अवसर सिर्जना भइदियोस् र यो देश बनाउने प्रक्रियामा काम गर्न पाऔं भन्ने उद्देश्यका साथ जेनजी साथीहरुपनि सक्रिय हुनुभएको छ।

देशमा सुशासन कायम गर्न पाऔं, भ्रष्टाचारको उन्मूलन भएको देख्न पाऔं र संसारका विकसित देशजस्तै, नेपाल पनि बनाउन पाऔं भनेर माग गरेको नेपाली जनताको माग हो। त्यो जेनजी पुस्ताको पनि माग हो। यसलाई सम्बोधन गर्नका लागि रास्वपासँग आत्मसात गर्नुभएकाहरु, आवाजलाई आत्मसात गर्ने जति पनि हुनुहुन्छ, उहाँहरूलाई एकदमै स्वागत गर्न चाहन्छौँ।

बाँकी अरू जति जेनजी समूह, भाइबहिनीहरू हुनुहुन्छ र जुनसुकै राजनीतिक दलसँग एसोसिएट हुनुहुन्छ उहाँहरुले भुल्न नहुने कुरा धेरै नै छन्। पूराना राजनीतिक दलहरूले तपाईँ-हामीले देखेको सपना पुरा गर्थे भने दुईतिहाइ त थियो नि तर उनीहरूले ७६ जनाको रगत बगाउने काम गरे। फेरि पनि उहाँहरूले निर्वाचनविरुद्ध, निर्वाचन भाँड्ने र त्यसपछि पुरानै राजनीतिक दलको वैशाखी बनेर हिँडिदिनुभयो भने नेपाली जनतामाथि अन्याय हुनेछ।

र त्यो कलंकको टीका तपाईंहरू बोक्नुहुन्न भन्ने हामीले बुझेका छौँ। किनकि यो देश तपाईं-हाम्रो लागि हो, यो पुस्ताको लागि हो र भावी पुस्ताका लागि हो। त्यसकारण सबैले परिवर्तनकारी सोचलाई आत्मसात गरेर यो देश बनाउने प्रक्रियामा कुनै पनि राजनीतिक दलको झण्डा बोक्नुभन्दा अगाडि सोच्नुपर्ने बेला आएको छ। विचलित नभइदिन अनुरोध गर्न चाहन्छु।

देशको हालको अवस्था हेरेर निर्वाचन सम्भव छ जस्तो लाग्छ कि केही समस्या आउछ जस्तो लाग्छ ?

चुनौति पक्कै हुन्छन्, तर हाम्रो देशमा यतिखेर शान्ति-सुरक्षाको चुनौति छैन। न त यहाँ गृहयुद्ध छ, न त विद्रोह छ। यदि शान्ति–सुरक्षालाई दख्खल पुग्नेगरी काम गर्न कसैले खोज्यो भने त्यो भनेको राजनीतिक दलहरू मात्र हुन्। अन्य त्यस्ता कुनै समूह छैनन्।

त्यस्तो गृहयुद्ध नै सञ्चालन गरिरहेको त्यस्तै कुनै समूह छैन। त्यसकारण यो देशमा यतिखेर शान्ति–सुरक्षाको कारणले निर्वाचन गर्न सकिँदैन भनेर कसैले भन्छ भने त्यो निर्वाचन भाँड्न चाहनेहरूले गर्ने अभ्यास हो। त्यस्ता कुराको पछि नलाग्न अनुरोध पनि गर्दछु।

नेपालको शान्ति–सुरक्षा कायम गर्ने निकायहरू सक्षम छन्। सक्षम बनाउनुपर्छ, सक्षम हुनुपर्छ। विशेषगरी राजनीतिक दलहरूको त अझ सशक्त रूपमा भूमिका भइरहेको हुँदा निर्वाचन भाँड्ने पाटोमा कसैले पनि भूमिका खेल्न सक्दैनन्।

काम गर्न पाउँदैनन्, गर्नु हुँदैन, गर्न दिनुहुँदैन। त्यसकारण शान्ति–सुरक्षाको विषय देखाएर नेपालमा निर्वाचन गर्न सकिँदैन भन्ने कुराको भ्रम छर्नु भनेको निर्वाचन भाँड्नु हो। निर्वाचन भाँड्नु भनेको जनतालाई मताधिकारबाट वञ्चित गर्नु हो। त्यो अपराध कसैले पनि गर्न सक्छ जस्तो मलाई लाग्दैन।

निर्वाचनपछि जेनजीले उठाएको सबै मागहरु सम्बोधन गर्न सम्भव छ, निर्वाचन पछि यस्तो समस्या आउदैन् भन्न सकिन्छ ?

हामीले यो जेनेरेसनले उठाएका कैयौँ मुद्दाहरूलाई आफ्नो म्यान्डेटमा राखेर, आफ्नो मुद्दा बनाएर लिएर आएका छौं। त्यसकारण धेरै मुद्दाहरू संविधान संशोधन नगरिकन गर्न सकिने छैनन्। संविधान संशोधन गरेपछि मात्र गर्न सकिने मुद्दाहरू धेरै छन्। त्यसका लागि दुई तिहाइ आवश्यक पर्छ।

संविधान संशोधन गर्नका लागि जनताबाट म्यान्डेटमार्फत अनुमोदित भएर दुई तिहाइ चाहिन्छ। यदि जनतालाई यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेका मुद्दा र जेनजीले बोकेका मुद्दा अनुसार संविधान संशोधन गर्नुपर्छ भन्ने कुराको विश्वास लाग्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुपर्छ। त्यो मतमार्फत मात्रै दुई तिहाइ प्राप्त गरिसकेपछि मात्र हामी संविधान संशोधन गर्न सक्छौँ।

तपाईं कुन क्षेत्रबाट निर्वाचनमा जाँदै हुनुहुन्छ ?

म काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुँ र मेरो निर्वाचन क्षेत्र यही काठमाडौँ क्षेत्र नम्बर ७ हो।

पार्टी सभापति कारागार मुक्त भएपछि केही सहज भएको छ ?

सम्मानित अदालतबाट रविजीलाई बाहिरै बसेर मुद्दा लड्न पाउने आदेश जारी भएको धेरै दिन भएको छैन। तर नेपाली जनतामा सशक्त रक्तसञ्चार, नयाँ किसिमको ऊर्जा प्राप्त भएको छ। नेपालको राजनीतिको नक्सा परिवर्तन भएको छ। त्यसकारण यसमा मैले धेरै चर्चा गर्नुपर्दैन। तमाम नेपाली जनतालाई के विश्वास जागेको छ भने, अब रास्वपालाई दुई तिहाइ ल्याउन केहीले रोक्दैन।

जेनजीको मागमध्य एउटा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, के यो सम्भव छ ?

सम्भव तब मात्र छ जब संविधान संशोधन गर्नेगरी जनताले म्यान्डेट दिएर पठाउनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले शासकीय स्वरूप सुधारमा विशेषगरी सरकारको स्थायीत्वको लागि शासकीय स्वरूप सुधारको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ भनेर म्यान्डेट बोकेको छ। त्यो म्यान्डेट जनतामाझ लिएर जाँदैगर्दा जनताले दुई तिहाइ लिएर पठाउनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.