कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।
मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो। त्यस्तै ४ मत तटस्थमा परेको थियो। ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन्। प्रदेशसभामा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन् भने राप्रपाका पाँसभामुखसहित पाँच सांसद छन्।
यसअघि कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाएको छ।
मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।
त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment