जीवन दर्शन

अहंकारको बोझले दबिएका मानवहरू

तोमनाथ उप्रेती
१० माघ २०८२ ७:२८
16
Shares

मानव सभ्यता सुरुदेखि नै करुणा, माया, सद्भाव, सहानुभूति र आपसी सहयोगमा आधारित भएर अगाडि बढ्दै आएको हो। तर आजको समयमा ती नै मूल्य र मान्यताहरू बिस्तारै हराउँदै गएका छन्। यसको मूल जड अहंकार हो।

जब मानिसले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्न थाल्छ, उसले अरूको दुःख देख्दैन, सुन्दैन, महसुस नै गर्दैन। उसको आँखामा आफ्नो स्वार्थ, प्रतिष्ठा र गौरवको सपना पलाउँछ।

अहंकारले मानिसको विचारशक्ति मात्र होइन, भावनात्मक चेतनालाई पनि कुन्द पार्छ। जब व्यक्ति आफ्नै सफलतामा अन्धो बन्छ, उसले अरूको परिश्रम, दुःख, सहयोग र उपस्थिति बिर्सन्छ। यसले गर्दा मानवता मर्न थाल्छ-पहिला व्यवहारबाट, अनि भावनाबाट र अन्ततः चेतनाबाटै।

आज हामी जहाँ हेर्छौं, त्यहाँ प्रतियोगिताको आगो बलिरहेको छ। साथीलाई साथीको रूपमा होइन, प्रतिस्पर्धीको रूपमा हेरिन्छ। सहकर्मीलाई सहयोगी होइन, अवरोधक मानिन्छ। यही सोचको जरा भनेको अहंकार हो, जसले समाजलाई आत्मकेन्द्रित बनाइरहेको छ।

अहंकारको कारणले मानिसले आफ्नो अस्तित्वलाई ठूलो ठान्न थाल्छ। उसलाई लाग्छ, सारा संसार उसकै वरिपरि घुमिरहेको छ। अनि जब कोही उसले सोचे अनुसार प्रस्तुत हुँदैन, ऊ तिनलाई हेप्न, तुच्छ देखाउन र चोट पुर्याउन पछि पर्दैन।

मानवता अरूको दुःख बुझ्न सक्ने क्षमता हो। तर अहंकारी मानिसले यस्तो क्षमता गुमाउँछ। उसले सहानुभूति गर्न सक्दैन, सहयोग गर्न सक्दैन, न त माफी माग्न सक्छ। उसलाई लाग्छ ऊ सधैँ ठीक छ, अरू सधैँ गलत छन्।यति मात्र होइन, अहंकारले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ।

जब मानिस निरन्तर आफूलाई सर्वोपरि देख्न खोज्छ, उसले छोटो समयमा तनाव, चिढचिढाहट, असन्तुष्टि र असफलताको सामना गर्छ। किनकि यथार्थ जीवनमा सधैँ सफलता पाइँदैन, न त सबै कुरा आफूले चाहेको अनुसार चल्छ।

मानवता हराउने क्रम सुरु हुँदा समाजमा विद्रोह, अविश्वास र दूरीको वातावरण फैलिन्छ। मानिसको अनुहारमा भावनाहरूको अभाव देखिन्छ। एकअर्काको उपस्थितिको मूल्य घट्छ। अनि त्यो समाज बिस्तारै आत्मकेन्द्रित, असंवेदनशील र अशान्त बनिरहन्छ।

आज हामीले मोबाइल, इन्टरनेट, प्रविधि, भौतिक समृद्धिमा प्रगति गर्यौं, तर के हामीले भावनात्मक समृद्धिमा पनि उस्तै उचाइ प्राप्त गरेका छौं? मानवताको चश्माबाट हेर्दा यो प्रगति अधुरो देखिन्छ। मानवता जीवन पद्धति हो। हरेक अभिव्यक्तिमा, व्यवहारमा, सोचमा मानवता मिसिनुपर्छ।

अहंकार त्यस्तो कालो बादल हो जसले करुणाको उज्यालोलाई छेक्छ। त्यसलाई हटाउन सक्नुपर्छ, ताकि मानवता फेरि चम्कन सकोस्।अहंकार अज्ञान, आसुरी वृत्ति र विनाशको मूल स्रोत हो।

यसले मानिसलाई आत्मकेन्द्रित बनाउँछ, जसले उसमा विवेकहीनता, अरूको अपमान, स्वार्थीपन र आत्मप्रशंसाको प्रवृत्ति उत्पन्न गराउँछ। अहंकारी प्रवृत्तिका व्यक्तिहरूमा सहानुभूति, सामाजिक उत्तरदायित्व र आत्मसमालोचना गर्ने क्षमता न्यून हुन्छ। यस्तो प्रवृत्तिले सम्बन्ध बिगार्ने, कार्यक्षमता घटाउने र अन्ततः मानसिक सन्तुलन गुमाउने खतरा रहन्छ।

आध्यात्मिक रूपमा पनि अहंकारले आत्मज्ञान छेक्छ। भगवद्गीता, उपनिषद् र तात्त्विक दर्शनले अहंकारलाई आत्म-विकासको बाधक मानेका छन्। काम, क्रोध, लोभ, मोह, र अहंकारलाई ‘असुरी गुण’ भनेर चिनाइएको छ। यी विकारले मनुष्यको चेतना ढाक्छन् र मन, बुद्धि र आत्माको बीचमा पर्दा हाल्छन्।

जसले गर्दा मानिस केवल देह, पद, धन, वा नाममा सीमित हुन पुग्छ।पौराणिक कथाहरूमा रावण, दूर्योधन, हिरण्यकश्यप, शिशुपाल आदि पात्रहरू अहंकारका कारण पतन भएका दृष्टान्तहरू हुन्। उनीहरू शक्तिशाली, विद्वान वा तपस्वी थिए तापनि अहंकारले अन्त्यमा उनीहरूको विनाश गरायो। यी कथाहरूले एक स्पष्ट सन्देश दिन्छन्अ-हंकार अन्ततः दुःख, विफलता र पतनको कारण बन्छ।

ओशोका अनुसार, अहंकार त्यो चट्टान हो जसले प्रेम, करुणा, समर्पण र मैत्रीलाई रोक्छ। अहंकार घटाउनका लागि आत्मचिन्तन, साधना, आलोचना स्वीकृति र नम्रता आवश्यक छन्। “मैले गरेको, म नै हुँ” भन्ने धारणा हटाउँदा मात्र व्यक्तिले वास्तविक शान्ति, सन्तोष र प्रगति अनुभव गर्न सक्छ।

त्यसैले, अहंकारको त्याग नै मानवताको पुनर्स्थापना हो।मानव जीवनमा अन्ततः आत्मचिन्तन, विवेक, र चेतनाको उज्यालोले मात्र अहंकारको अन्धकार हटाउन सकिन्छ। सफलता प्राप्त गर्न होस् वा सार्वजनिक जीवनमा अगाडि बढ्न, अहंकारको त्याग अपरिहार्य हुन्छ।

अहंकारको बोझले दबिएको मानवीय मूल्य हाम्रो समाज र जीवनका सबै सुन्दर पक्षहरूमा कालो छायाँ फालेको छ। जब मानिस आफ्नो अहंकारमा रुमल्लिन्छ, तब उसले आफ्नो भित्री मनको करुणा, दया, नम्रता जस्ता मूल्यहरूलाई भुल्छ। अहंकारले सम्बन्धहरूलाई तोड्छ, विश्वासलाई कमजोर बनाउँछ र सामाजिक मेलमिलापलाई विघटन गर्छ। यसले व्यक्तिगत मात्र होइन, सामाजिक, सांस्कृतिक र राष्ट्रिय स्तरमा पनि विभाजन र द्वेषको बीउ रोप्छ।

यदि हामी अझै चेतिएनौं भने हामी यस्तो युगतिर उन्मुख हुनेछौं जहाँ माया छैन, करुणा छैन, सम्मान छैन, केवल ‘म’ र ‘मेरो’ मात्र बाँकी रहनेछ। त्यो समाज बाँझो हुनेछ-माटो हुँदाहुँदै अन्न नभएको खेतझैँ।अहंकारको अन्त्य नै मानवताको पुनःस्थापना हो।

जब हामी अरूको कुरा सुन्न सिक्छौं, जब हामी अरूको भावनालाई सम्मान दिन्छौं, जब हामी माफी माग्न सक्ने बन्छौं—त्यो दिन मानवता बाँच्छ। अहंकार घटाउने उपाय भनेको आत्मचिन्तन, नम्रता, र आत्म-अनुशासन हो।

हामी सबैलाई चाहिने हो-थोरै झुक्न सक्ने मन, अरूलाई सम्मान दिन सक्ने आँखा, र आफू गलत हुन सक्छु भन्ने चेतना। जब हामीमा यी गुण विकास हुन्छन्, तब अहंकारले स्थान गुमाउँछ र मानवता पुनः सशक्त हुन्छ।

धेरैपटक त हामी आफैँले महसुस नगरी अरूलाई दुख दिइरहेका हुन्छौं। भाषाको कटुता, व्यवहारको घमण्ड, र अभिव्यक्तिको तिरस्कारबाट हामीले अरूको मन कति चिर्दछौं भन्ने कुरामा हामी अनभिज्ञ रहन्छौं। यी सबै आचरणको मूल कारक भनेको अहंकार नै हो।

आजको समाजमा देखिने हिंसा, कलह, कटुता, वर्गभेद र असहिष्णुताको पछाडि पनि यही एक तत्व लुकेको छ-अहंकार। यो यस्तो रोग हो जसले न शरीरलाई खाइदिन्छ न त सीधा देखिन्छ। तर यसको प्रभावले समाजलाई अन्धकारतर्फ धकेलिरहेको छ।

मानवताको सार भनेको आत्मीयता, समझदारी र सहयोगमा निहित छ, र यी सबै कुराहरू अहंकारले मिचिन्छन्। त्यसैले हामीले आफ्नो भित्री मनलाई निरन्तर आत्म-विश्लेषण गरेर अहंकारबाट मुक्त हुन आवश्यक छ। विनम्रता, करुणा र सहिष्णुताले मात्र हामीलाई साँचो मानवता र शान्तिपूर्ण सहअस्तित्वतर्फ लैजान सक्छ।

संसारमा शान्ति र प्रेमको उज्यालो फैलाउन हामी सबैले अहंकारको बोझ घटाएर मानवताको असली मूल्यलाई पुनः प्राण दिनुपर्ने हुन्छ। यसो गर्दा मात्र हामी एक अर्काप्रति सहानुभूति राख्न सक्ने, मिलेर अगाडि बढ्ने र साँचो खुशी पाउने सम्भावना राख्दछौं। अहंकारलाई त्यागेर मानवता जोगाउनु हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो।

( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.