कर्णाली प्रदेशका छ जनाले लिए उम्मेदवारी फिर्ता
भेरीगङ्गा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका छ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कालिकोट, हुम्ला र सल्यानका गरी छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। जसअन्तर्गत सबैभन्दा धेरै कालिकोटबाट चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी दिनुभएका भूपेन्द्रजङ शाही, नेपाली कम्यनिष्ट पार्टीका वागी उम्मेदवार जीवन बूढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र देशभक्त पार्टीका प्रेमसिंह तिरुवा रहेको मुख्य निर्वाचन कार्यालय कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार कालिकोटमा १४ जनाले उम्मेदवारी दिएका थिए। अब १० जना उम्मेदवार कायम भएका छन्। हुम्लाबाट मितेरी नेपाल पार्टीका जयबहादुर शाहीले उम्मेदवारी फिर्ता लिनुभएको छ। हुम्लामा अब सात जना उम्मेदवार कायम भएका छन्।
सल्यानमा १६ जनाले उम्मेदवारी दर्ता गरेकामा आमजनता पार्टीका उम्मेदवार मानसिंह विकले उम्मेदवारी फिर्ता लिनुभएको छ । सल्यानमा अब १५ जना उम्मेदवार कायम भएका छन्। अन्य जिल्लाबाट भने कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन्।
जसअन्तर्गत जाजरकोटमा ११ जना उम्मेदवार मैदानमा उत्रिँदा, जुम्लामा एकजना स्वतन्त्रसहित १० जना, डोल्पामा एक जना स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी कायम भएको छ।
मुगुमा सात जना उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् भने दुई वटा क्षेत्र रहेको सुर्खेतमा ३० जना उम्मेदवार मैदानमा छन्। सुर्खेत क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ बाट १७ जना उम्मेदवारी कायम भएको छ। दैलेख क्षेत्र नम्बर १ मा १० जना तथा क्षेत्र नम्बर २ मा ११ जनाको उम्मेदवारी रहँदा रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी कायम भएको छ। योसँगै कर्णालीमा १३२ जनाको उम्मेदवारी कायम भएको छ। कर्णालीमा १२ क्षेत्र रहेका छन्।







डिसी नेपाल








Facebook Comment