जेन-जी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको विश्वप्रकाश दाबी

डिसी नेपाल
१५ माघ २०८२ १४:०६
192
Shares

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन्। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए।

उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे। महिला उम्मेद्वारको संख्यापनि केही धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ। उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सवैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे।

उनले बिभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताए। भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेद्वारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ।

उनले पार्टीले बनाएको आचारसंहीतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए। शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए।

उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ। ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःख अझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’उनले बताए।

उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे। ‘नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’ उनले भने।

यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे। ‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’ शर्माले भने।

उनले पटक पटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए। उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.