अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको हो : कांग्रेस नेता गुरुङ

डिसी नेपाल
१६ माघ २०८२ २०:२१
48
Shares

स्याङ्जा । अहिलेको निर्वाचन देश बनाउने र जलाउने बीचको प्रतिस्पर्धा भएको नेपाली कांग्रेस नेता धनराज गुरुङले बताएका छन्।

स्याङ्जामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता भेटघाट बीच नेता गुरुङले फागुन २१ को निर्वाचन देश बनाउने र जलाउने बीचको प्रतिस्पर्धा भएको बताएका हुन्। उनले भने, ‘यो देशमा नेपाली काङ्ग्रेसले पनि धेरै आन्दोलन गरेको छ । तर कुनै पनि आन्दोलनमा देशका संरचना जलाउने र भत्काउने काम गरेको छैन ।’

नेपाली कांग्रेस सधैँ देश निर्माणको पक्षमा भएको उल्लेख गर्दै निर्माण गर्दा समय लाग्ने र भत्काउन समय नलाग्ने बताए । उनले भने, ‘घर भत्काउन धुरीबाट थालिन्छ त्यसैले सबैले देख्छन्, बनाउन जग खनिन्छ त्यो घर तयार नहुदासम्म कसैको नजर पर्दैन । त्यसैले काङ्ग्रेसले जग खन्छ घरको धुरीमा चढेर भत्काउदैन ।’

नेपाली कांग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतराज ढकाल लगायत नेता कार्यकर्तासंग भेटघाटका क्रममा नेता गुरुङले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले देशको विकास र बिनासको भविकष्य निर्धारण गर्ने बताए । उनले भने, ‘फागुन २१ को निर्वाचन देश विनाश गर्ने र विकास गर्ने बीचको हो, देशको विकास चाहनुहुन्छ काङ्ग्रेसलाई भोट हाल्नुस, देश विनाश चाहिन्छ भने अरु पार्टी रोज्नुस ।’ देशमा केही पनि भएको छैन भन्ने भ्रम छर्दै भएका संरचनापनि ध्वस्त पारेकाहरुलाई देशको माया नभएको उनको भनाई थियो।

नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले काङ्ग्रेसमा कुनै गुट उपगुट नभएको भन्दै कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे । उनले भने, ‘कांग्रेसमा कुनै गुट छैन हामी सबै यहीँ छौं, अब सबै एकजुट भएर काङ्ग्रेसका उम्मेदवार भरतराज ढकाललाई जिताउन लाग्नुस् ।’

नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले देशको जिम्मेवार पार्टी नेपाली कांग्रेस मात्रै भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस कमजोर हुँदा देश दुर्घटनामा परेको स्मरण गराउँदै देशका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा मात्रै सफल भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.