‘सुनिल थापा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कलाकार हुनुहुन्थ्यो’
काठमाडौं। वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली तथा विदेशी कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
यसैक्रममा, कलाकार थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि चलचित्र विकास बोर्डमा राखी अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली दिन कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली अर्पण गर्न पुगेका बरिष्ठ कलाकार हरिवंश आचार्यले थापाको योगदानलाई स्मरण गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गरे।
‘चलचित्र क्षेत्रमा नेपाललाई प्रतिनिधित्व गरेर उहाँले संसारभर नेपाली कलाकारको छाप छाड्नुभयो,’ आचार्यले भने, ‘उहाँ नेपालमा मात्र होइन, बलिउड र हलिउडसम्म काम गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने कलाकार हुनुहुन्थ्यो। नेटफ्लिक्सजस्ता प्लेटफर्ममा उहाँका चलचित्र हेर्दा ‘यो नेपालको कलाकार हो’ भनेर गर्व गर्ने ठाउँ हामीलाई दिनुभएको थियो।’
उनले थापा कलाकार मात्र नभई उत्कृष्ट खेलाडीसमेत रहेको उल्लेख गरे। ‘उहाँ कलाकार हुनुअघि एकदमै राम्रो फुटबल खेलाडी हुनुहुन्थ्यो। भारतको राष्ट्रिय फुटबल टोलीमा समेत खेल्नुभएको थियो,’ उनले भने।
आचार्यले थापाको निधनले सम्पूर्ण कला क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए। ‘हामी भारतीय साथीहरूलाई भेट्दा गर्वका साथ ‘सुनिल थापा हाम्रो मान्छे हो’ भन्न पाउँथ्यौं। आज त्यो सबै इतिहास बनेको छ,’ उनले भावुक हुँदै भने।
आफूले थापासँग दुईवटा चलचित्रमासँगै काम गर्ने अवसर पाएको स्मरण गर्दै उनले भने, ‘मैले उहाँसँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ चलचित्रमा काम गर्ने अवसर पाएँ। उहाँले हाम्रो चलचित्रमा काम गरेर राम्रो सिनेमा बनाउन ठूलो योगदान दिनुभयो।’
सुटिङका क्रममा पनि थापा सबैप्रति सहयोगी रहेको स्मरण गर्दै आचार्यले थपे, ‘उहाँ प्रोड्युसरलाई कसरी सजिलो बनाइदिने, सह–कलाकारलाई कसरी सहज बनाइदिने भन्ने कुरा राम्रोसँग बुझ्ने कलाकार हुनुहुन्थ्यो।’
आचार्यले नेपाली चलचित्र उद्योग मात्र नभई बलिउड क्षेत्रसमेत शोकमा रहेको उल्लेख गर्दै भने, ‘उहाँको आत्माले शान्ति पाओस्। यदि अर्को जन्म हुन्छ भने फेरि नेपालमै जन्मिएर यस्तै गौरवशाली इतिहास रच्न सकून् भन्ने कामना गर्दछु।’







डिसी नेपाल






Facebook Comment