सिन्धुलीको अन्तरसंघर्ष समाधान गर्न प्रचण्डले चासो नदेखाएपछि हरिबोलको बिद्रोह !

डिसी नेपाल
२५ माघ २०८२ २०:१०
488
Shares

काठमाडौं। २१ फागुनको प्रतिनिधि सभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टीमा सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल(राजन) को विरुद्धमा पार्टीकै नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपाभित्र यो विषय चर्चाको विषय बनेको छ।

स्वतन्त्र उम्मेदवार दाहालको प्रस्तावक तत्कालिन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नै बसेपछि पार्टीमा एक किसिमको तरंग नै ल्याइदियो। अन्तत्ः हरिबोल गजुरेल र महेश्वर दाहाललाई नेकपाबाट निश्कासन नै गरिएको छ।

तर, नेता हरिबोल गजुरेलले आफूहरुले गरेको विद्रोह केवल उम्मेदवारीको विषयसँग मात्रै सम्बन्धित नभइ विगतदेखि नै उठाउँदै आएको कुरालाई सम्बोधन नगरेपछिको परिणाम भएको बताएका छन्।

पार्टीमा गजुरेल र लेखनाथ दाहाल पक्षधर नेता, कार्यकर्ताका बिचमा अन्तरसंघर्ष चुलिदै जाँदा यसमा अध्यक्ष प्रचण्डकै संलग्नता रहेको आरोप लगाउँदै गजुरेलले विवाद पार्टी केन्द्रले नै समाधान गर्नुपर्ने माग गर्दै आएका थिए।

उनले गत ९ असोजमा बसेको केन्द्रीय कमिटी बैठक र १५ कार्तिकमा बसेको सचिवालय बैठकमा लिखित रुपमा आफ्नो प्रस्ताव राख्दै सिन्धुलीमा देखिएको अन्तरसंघर्ष समाधान गर्न माग गरिएको जानकारी दिए। तर पार्टीले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि पार्टीको उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी परेको उनको भनाइ छ।

कार्तिक १५ गते बसेको पार्टी सचिवालय बैठकमा गजुरेलले पार्टीको विचार, राजनीति, कार्यशैली र ध्रुवीकरणको सम्बन्धमा भन्दै चार बुँदे प्रस्ताव पेश गरेका थिए। त्यतिखेरै उनले तत्कालीन नेकपा(माओवादी केन्द्र) सिन्धुली पार्टी कमिटीमा अस्वस्थ अन्तरसंघर्ष देखिएको भन्दै त्यसको समस्या समाधानका लागि आग्रह गरेका थिए।

उनले उतिखेरै सिन्धुली जिल्लाको हकमा वैचारिक र संगठनात्मक संश्लेषण गर्न नसके अन्य काममा व्यवधान ल्याउन सक्ने चेतावनी दिएका थिए। उनले सिन्धुली पार्टी कमिटीको अन्तरसंघर्ष तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै जोडिएको भन्दै समाधानमा प्रचण्डले नै ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । गजुरेलले नेकपा(एकीकृत समाजवादी)सँगको पार्टी एकता अघि नै समस्याको निरुपण गर्नुपर्नेमा जोड दिएका थिए।

‘केन्द्रीय नेतृत्व जोडिएको सिन्धुली जिल्लामा देखिएकाो अस्वस्थ अन्तरसंघर्षहरूको उचित निरूपण र समाधान गर्नु अब अपरिहार्य छ’, उनको प्रस्तावमा उल्लेख छ, ‘पार्टी एकता हुनु अघि वैचारिक र संगठनात्मक संश्लेषण हुनु अत्यावश्यक छ। समयमै संश्लेषण नगर्ने हो भने यसले पार्टीका अन्य काममा ब्यवधान ल्याउन सक्छ।’

त्यस्तै, गत ९ असोजमा बसेको तत्कालिन नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा पनि उनले २८ बुँदे सुझाव पेश गर्दै सिन्धुलीको अन्तरसंघर्षमा केन्द्रीय नेतृत्व(पुष्पकमल दाहाल प्रचण्ड)को संलग्नता भएको भन्दै त्यसको संश्लेषण गर्न माग गरेका थिए।

‘सिन्धुलीको अन्तरसंघर्षमा केन्द्रीय संलग्नता भएकाले यसको संश्लेषण केन्द्रले गर्नुपर्छ’, उनको प्रस्ताव थियो, ‘सिन्धुली घटनाबाट पार्टीले सिकाइ लिनुपर्नेछ। यसको विश्लेषण गरी नयाँ आधारमा एकता र रुपान्तरण प्रक्रिया सुरु गर्नुपर्छ।’

नेता गजुरेलले पटक पटक सिन्धुली पार्टीमा देखिएको समस्या समाधान गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्दापनि समस्या समाधानमा चासो नदेखाएकाले ६ माघमा प्रतिनिधि सभा सदस्य चुनावको उम्मेदवारीमार्फत् विद्रोह गर्नुपरेको बताए।

उनले केवल चुनावको टिकटको लागि मात्रै विद्रोह नभएको भन्दै समस्या समाधानका लागि केन्द्रीय नेतृत्वले तदारुकता नदेखाएपछि पार्टीलाई सच्याउनका लागि आफुहरुले कदम चालेको बताए। ‘राजनीति बिग्रनुमा खराब मान्छेको कुकर्मले मात्र होइन असल मान्छेको मौनताले पनि हो। हामीले यही मौनता तोड्न विद्रोह गरेका हौँ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.