राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

डिसी नेपाल
२५ माघ २०८२ २०:३७
24
Shares

काठमाडौं। “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो। तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ। असाध्यै राम्रो छ। मूल्य रु एक हजार मात्र”, सुदूरपश्चिमका दीपक राउटेले भने।

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरुले आफूले बनाएका भाँडा बिक्रीका लागि राख्नुभएको छ। उहाँहरुको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उहाँसँग भाँडा किन्नेहरुभन्दा पनि उहाँहरुसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो।

आगन्तुकहरु तपाईँ कहाँको राउटे ?, तपाईँको नाम के हो ? तपाईँले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरु सोध्दै थिए। सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरुले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताए।

दीपक यसअघि पनि काठमाडौँ सहर आइसकेका छन्। सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्नुहुन्छ। तर, काठमाडाँैमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ।

उनका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनुहुँदैन भन्ने मान्यता छ। “सहरमा भने रुपैयाँ न लिई सम्भवन नहुने रहेछ”, दीपकले भने, “अब पैसा न छोए कसरी बाँचिन्छ ?” दीपकले जङ्गलमा बस्ने राउटेले सहरीया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाउनुभयो। यहाँको भीडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको बताउनुभयो। उहाँले सहरमा घुमेको अनुभव सुनाउँदै भन्नुभयो, “सहरका मान्छे धेरै बोल्छ। हामीलाई झर्को लाग्छ।”

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ। जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवद्र्धन गर्न खाद्य प्रदर्शन गरेको थियो।

कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वस्थ्यवद्र्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.