प्रादेशिक ललितकला प्रदर्शनी आजदेखि सुरु
धनुषा । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आजदेखि सुरु भएको हो।
प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गरे।
उनले भने, ‘ललितकला पहिचान र सभ्यताको प्रतिविम्ब हो। मधेस प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रदेशको गौरव बढाइरहेका छन्। यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छन्।’
प्रदेश प्रमुख डा कर्णले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका र यसले यहाँ पहिचान उजागर गरेको बताए। प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए।







डिसी नेपाल






Facebook Comment