सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

डिसी नेपाल
२६ माघ २०८२ २०:१८
124
Shares

सिरहा। सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेका थिए। गोप्य सूचनाका आधारमा आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनले भने, ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ।’

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका निजका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन्। सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ। एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *