अग्नि सापकोटाको दाबी-एमाले कार्यकर्ता इतिहासमै रक्षात्मक, रास्वपाको ग्राफ घट्यो
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता अग्नि सापकोटाले २१ फागुनको निर्वाचन आफूहरुको लागि पनि परीक्षाको विषय भएको भन्दै यसमा नेकपाले सफलता हाँसिल गर्ने दाबी गरेका छन्।
पार्टीको आधिकारिक फेशबुक पेजमार्फत उनले यस्तो दाबी गरेका छन्। उनले अहिले कांग्रेस विभाजनको अवस्थामा रहेको र एमालेको नूर गिरेको उल्लेख गर्दै नेकपा राम्रो अवस्थामा रहेको बताए।
उनले भदौ २३ गतेको जेनजी आन्दोलनपछि सबैभन्दा पहिले नै पार्टी रुपान्तरणको पहलकदमी लिएको र अहिलेसम्म आइपुग्दा २५ घटक एकतामा रहेको उल्लेख गर्दै नेकपाले निर्वाचनमा राम्रो गर्ने विश्वास सुनाए।
उनले भने,‘अहिले कम्युनिष्ट पार्टी र वामपन्थीहरुको मूलधार नै नेकपा नै हो भन्ने स्थापित भएको छ। १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएका छौं । आत्मविश्वासका साथ र सक्रियताका साथ उहाँहरु मैदानमा उत्रिनुभएको छ । सबै ठाउँबाट रिपोर्ट धेरै सकारात्मक छ।’
उनले इतिहासमै पहिलोपटक एमालेका कार्यकर्ता रक्षात्मक देखिएको टिप्पणी गरे। उनले एमालेको नेतृत्वको बदमासीको कारण उनीहरु रक्षात्मक बनेको बताए। यस्तै, कांग्रेस फुटेको र नयाँ भनिएको रास्वपाको पनि विस्तारै ग्राफ घटेको सापकोटाको विश्लेषण छ । उनले रास्वपाको स्टन्ट लामो समयसम्म नटिक्ने दाबी गरे।
उनले भने,‘यो प्रियतावाद भनेको, स्टन्टबाज भनेको पानीको फोकाजस्तै हो । फिल्मका अभिनेताले पनि अलिक मिलाएर गर्छन्। यिनीहरुको मिलेको छैन। रास्वपा र बालेनको बीचमा जुन सहमति भयो, प्राविधिक कुराबाहेक न त दर्शनको संकेत छ, न विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा छ। दृष्टिकोण, नीति, योजना र कार्यक्रम पनि छैन। एजेण्डा के हो ? त्यो नै स्पष्टता छैन।’
उनले नेपाली जनताले धेरै ठूलो रगत बगाएर प्राप्त गरेको परिवर्तनको रक्षा गरिनुपर्ने बताए । उनले भने,‘नेपाली जनता धेरै नै चेतनशील छन्। धेरै अग्रगामी छन्। परिवर्तनशील छन्। पूराना पार्टीले जनताको अपेक्षा पूरा गर्न नसक्दा आक्रोश भयो । विस्फोट पनि भयो । त्यही विस्फोटमा टेकेर देशी तथा विदेशी प्रतिक्रियावादीहरुले निकै ठूलो विध्वंश मच्चाउन सफल भए । अब विस्तारै जनतालाई आखिरमा नेकपा नै हाम्रो पक्षमा बोल्ने र काम गर्ने पार्टी हो भन्ने परेको छ । मन फर्किएको छ । हामीले पनि जनतासँग आत्मालोचना गर्यौं।’
उनले २१ फागुनमा हुने निर्वाचनलाई धेरै उलटफेरको चुनावको रुपमा चित्रण गरे । उनले भने,‘यो विश्वविद्यालयमा सिक्न चाहन्छौं । नेशन फस्ट भनेका छौं । राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता सबैलाई एक ठाउँमा केन्द्रित गर्छौं । राजनीतिक दलको हातमा पहलकदमी आईसकेको छैन । आउनुपर्छ र आउन अनिवार्य छ भन्ने कुरामा हामी सचेत छौं।’







डिसी नेपाल







Facebook Comment