पूर्व राजा ज्ञानेन्द्रको खतरनाक संकेत

डिसी नेपाल
१० फागुन २०८२ ७:४०
7.8k
Shares

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र ११ दिन बाँकी छ।

सरकार निर्वाचन सम्पन्न गर्न कुनै पनि कसर बाँकी नराखी काम गर्ने बताइरहेको छ। राजनीतिक दलहरुले सम्पूर्ण शक्ति चुनावमा लगाइसकेका छन्। निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। अर्थात् सम्पूर्ण रुपमा मुलुक निर्वाचनमय भएको छ।

तर, अझै पनि केहीको मनमा के चुनाव हुन्छ? भन्ने प्रश्न कायम रहेको देखिन्छ। त्यसलाई बल पुर्याएको छ, पूर्वराजा ज्ञानेन्द्रको प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशले।

प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजाले फागुन ६ गते जारी गरेको शुभकामना सन्देशमा ‘आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो,’ उनले थिए। उनले सबै पक्षबीच सहमति गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताएका थिए।

निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै पहिले सबै पक्षबीच सहमति हुनुपर्ने जोड दिएका थिए ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ,’ उनले भनेका छन्। उनले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रहसमेत गरेका छन्।

तर पूर्वराजाले खोजेको सहमति  कस्तो हो भन्ने विशेषमा कसैले पनि मुख खोलेका छैनन्। आवधिक निर्वाचनले नै लोकतन्त्रलाई बलियो बनाउने हो। अहिले कसैले पनि लोकतन्त्रको विकल्प खोजेको देखिँदैन। जेनजी आन्दोलनले पनि लोकतन्त्रमाथि कुनै प्रश्न उठाएको छैन। मुलुकमा लोकतान्त्रिक शासक व्यवस्था हुँदाहुँदै पूर्वराजाले कस्तो सहमति खोजेको हो?

के यो चुनावलाई पूर्व राजसंस्थाले असफल बनाउन खोजेको हो? किनभने मुलुकमा राजा चाहिन्छ भनेर सडक आन्दोलन गरिरहेका दुर्गा प्रसाईंले सक्रिय रुपमा चुनाव बहिष्कार गर्न आह्वान गरिरहेका छन्। उनी बारम्बार पक्राउ पर्दै र छुटुदै आएका व्यक्ति पनि हुन्।

अहिले पूर्वराजको पनि दुर्गा प्रसाईंकै शैलीमा चुनावले समस्याको समाधान नहुने अभिव्यक्ति आएपछि चुनाव रोक्न कसले चाहेको छ भन्ने गम्भीर प्रश्न खडा भएको छ। के पूर्वराजालाई सघाउने देशी विदेशी शक्तिले अहिलेको चुनाव रोक्न चाहन्छन्? यो गम्भीर प्रश्न हो। यदि त्यो सत्य हो भने पनि अब यो चुनाव रोकिन्छ सक्छ? यो गम्भीर विषय हो।

चुनाव रोकिनुपर्ने कुनै कारण छैन। किनभने किनभने मुलुक निर्वाचनमय भएको छ। सरकार कुनै पनि हालतमा चुनाव रोक्ने अवस्थामा छैन। दलहरु चुनावमा होमिइसकेका छन्। सेनतासमेत चुनावी सुरक्षाका लागि भन्दै ब्यारेकबाट बाहिर निस्किसकेको छ। यस्तो अवस्थामा कुन शक्तिले चुनाव रोक्न सक्छ?

पूर्वराजाले चुनाव नहुने संकेत गरेपनि आवधिक निर्वाचनले लोकतन्त्र बलियो हुँदै जाने हो,तर पूर्वराजाको अभिव्यक्तिले खतराको संकेत गर्छ। उनले कुन शक्तिसँग के को आशा गरेका हुन्? भविष्यले नै बताउला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.