महिला मतदान अधिकृतले सम्हाल्दै छन् रामेछापका ३७ मतदान केन्द्र
रामेछाप। फागुन २१ गते गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सबै मतदान केन्द्रमा जाने कर्मचारी खटाइ सकेको छ।
जिल्लाका ९६ मतदानस्थलका २ सय ३० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरू खटाइसकिएको मुख्य निर्वाचन अधिकृत एवं रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए।
नेपालका अनुसार २ सय ३० मतदान अधिकृत मध्ये ३६ जना महिला छन्। ती मतदानस्थलको नेतृत्व महिलाले गर्ने छन्।
यस पटक निर्वाचनमा कुल १ हजार ३ सय ७४ कर्मचारी खटिएका छन्। ती मध्ये ३७ मतदान अधिकृत सहित ४ सय ४९ जना महिला कर्मचारी छन्। कर्मचारीहरू भोलिबाट मतदान केन्द्र तर्फ प्रस्थान गर्ने नेपालले जानकारी दिए।
जिल्लामा निर्वाचनको लागि आवश्यक सबै तयारी पुरा भइसकेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
थापाका अनुसार जिल्लाका ४१ मतदानस्थललाई अति संवेदनशील ३५ लाई संवेदनशील र २० मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखिएका छ। ती मतदानस्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना आवश्यकता अनुसार परिचालन गरिएको उनले जानकारी दिए।
रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टका अनुसार संवेदनशीलताको आधारमा सुरक्षाको आवश्यक तयारी गरिएको छ। मतदानस्थलको आसपासमा प्रहरी युनिट पुगिसकेको र भोलीबाट प्रहरी प्रहरी मतदानस्थलमा पुगेर सुरक्षामा खट्ने उनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment