स्वतन्त्रको बल के हुन्छ, म देखाइदिनेछु : स्वतन्त्र उम्मेदवार पोखरेल
काठमाडौं। प्रतिनिधिसभा सदस्य काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार डा.शम्भु पोखरेलले जनतालाई हरेक पटक बहानाबाजी गरेर मूर्ख बनाउन नसकिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा पुगेकाहरूले असफलताको दोष सेना, सुरक्षाकर्मी, समाज वा प्रणालीमाथि थोपर्ने प्रवृत्ति बढेको आरोप लगाए।
उनले भने,‘जनतालाई हरेक पटक मूर्ख बनाउन सकिँदैन। तपाईं नालायक हुनुभयो दोष दिनुभयो आर्मीलाई, सुरक्षाकर्मीलाई,समाजलाई दोष दिनुभयो। तपाईंलाई कुर्सीमा केको लागि राखेको ? के को लागि जानुभएको थियो ? तपाईंलाई कुर्सीमा राखेको कसैको कविता सुन्न र सुन्दरताको बयान गर्न लागेको हो ?’
उनले आफू स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा उत्रिएको उल्लेख गर्दै स्वतन्त्रको बल के हुन्छ आफूले देखाइदिने दाबी गरे। सत्य एक्लो भएपनि सत्य नै हुने र झुटको बहुमत भएपनि त्यो झुट नै उनले बताए।
‘अब यस्तो भयो त्यस कारण गर्न सकिएन भन्ने छुट कसैलाई हुँदैन। शम्भु पोखरेल उभिएको छ। स्वतन्त्र छ,अब म देखाइदिन्छु स्वतन्त्रको बल के हुन्छ। स्वतन्त्र उम्मेदवारले के गर्न सक्छ। सत्य एक्लो भएपनि सत्य नै हुन्छ। झुटको बहुमत भएपनि झुट हुन्छ। देश परिवर्तनको सिंगारमा छ।’
उनले देशको प्रणाली कमजोर बनेको र गलत नेतृत्वका कारण मुलुक संकटतर्फ गएको टिप्पणी गरे। अहिले देश कठिन मोडमा रहेको उल्लेख गर्दै उनले नागरिक, देशभित्र र बाहिर रहेका सबै नेपालीलाई परिवर्तनका लागि समय दिनुपर्ने बताएका छन्।
नेतृत्वमा पुगेकाहरू पदमा टाँस्सिएर बस्ने प्रवृत्तिले जनअपेक्षा विपरीत काम भएको भन्दै उनले अब मतदाताले सचेत भएर निर्णय लिनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment