फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ डीएसपी लम्साल घोषित

डिसी नेपाल
३ चैत २०८२ १९:४१
100
Shares

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

डीएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै कुनै अप्रिय घटना हुन नदिई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी, ‘जेन–जेड आन्दोलन’ का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजी गर्ने क्रममा कार्यालय नजिकैको झाडीबाट वाइ १३४८७ नम्बरको मार्का–४ राइफल बरामद गरिएको थियो। साथै, विभिन्न स्थानबाट १९ जना प्रतिवादीलाई पक्राउ गर्न पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

फागुन महिनामा दर्ता भएका ३५ मुद्दामध्ये ‘जेन–जेड आन्दोलन’सँग सम्बन्धित १० वटा मुद्दा सबै फर्छ्यौट गरिएको प्रहरीको भनाइ छ। आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालयको पुनर्निर्माण तथा मर्मत कार्यमा स्थानीय तह, संघसंस्था र स्थानीय बासिन्दासँग समन्वय गर्दै कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउने काममा समेत उनले सक्रियता देखाएका थिए।

यस्तै, ध्वनि प्रदूषण गर्ने २१७ मोटरसाइकललाई कारबाहीको दायरामा ल्याउनुका साथै चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा पनि समन्वयकारी भूमिका खेलेका थिए। हालसम्म विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ गर्न समेत उनको भूमिका महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.