सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

डिसी नेपाल
५ चैत २०८२ १०:१०
324
Shares

रामेछाप। सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा डल्ले माझी (अन्दाजी ४५), मन्थली नगरपालिका-६ का बासिन्दाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका क्रममा चिकित्सकले राति १०:१५ बजे मृत घोषणा गरेका थिए।

यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ।

दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उनीहरूको केएमसी मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *