ढोरपाटनमा नियन्त्रणमा आउन थाल्यो दादुरा

डिसी नेपाल
५ चैत २०८२ २२:२४
24
Shares

ढोरपाटन (बागलुङ)। बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ। गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो। फागुन २९ गतेदेखि यही चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमितको सङ्ख्या घट्दै गएको हो।

विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेको थियो। खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए।

खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ दादुराको शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा अहिले घटेर दैनिक एक÷दुई जना मात्रै आउने गरेका छन्। हालसम्म ११ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माले जानकारी दिए। दादुराको लक्षण देखिएका ३१ जनाको नमूना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ।

प्रमुख शर्माले भने, ‘खोप लगाएपछि सङ्क्रमति घट्ने अपेक्षा छ, पछिल्लो केही दिन यता दैनिक शङ्कास्पद बिरामी कम भएका छन्, अब केही दिनमा पूर्ण रुपमा सङ्क्रमण नियन्त्रणमा आउने देखिन्छ।’

हालसम्म १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ८५० बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। हालसम्म १३० शङ्कास्पद बिरामी छन्। हाल बुर्तिबाङ अस्पतालमा नौ र बोबाङ स्वास्थ्य चौकीमा ५ जना उपचाररत छन्। अहिलेसम्म ७२ जना उपचारपछि घर फर्किएका छन् भने, १५ जना उपचाररत छन्। पाँच जनालाई पोखरा रेफर गरिएको बुर्तिवाङ अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *