१४ बुँदे ‘कोशी घोषणा पत्र’ जारी गर्दै कोशी मिडिया समिट सम्पन्न

डिसी नेपाल
८ चैत २०८२ २०:१०
12
Shares

विराटनगर। सुनसरीको इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। प्रदेश खबर अनलाइनको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमी, मिडिया सञ्चालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरी को समन्वयमा सम्पन्न भएको हो।

समिटमा पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरूबारे गहन अन्तरक्रिया गरिएको थियो। सोही छलफलबाट प्राप्त निष्कर्षलाई समेट्दै १४ बुँदे ‘कोशी घोषणा पत्र’ जारी गरिएको आयोजक प्रदेश खबर अनलाइनका अध्यक्ष तथा प्रधानसम्पादक पवन अधिकारीले जानकारी दिए। उनका अनुसार मिडिया क्षेत्रसँग सम्बन्धित समग्र विषयमा व्यापक छलफल गरी बुँदागत रूपमा घोषणा पत्र तयार गरिएको हो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघ का केन्द्रीय महासचिव रामप्रसाद दाहालले सहभागीहरूको जिज्ञासामा जवाफ दिएका थिए। त्यस्तै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थान का अध्यक्ष अखण्ड भण्डारीले सम्बन्धित संस्थाका गतिविधि तथा पत्रकारितासँग जोडिएका विषयमा जानकारी गराउँदै छलफलमा सहभागिता जनाए।

समिटमा पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, पारिश्रमिक, सामाजिक सुरक्षा कोष, नियुक्तिपत्र, वित्तीय सुदृढीकरणलगायत विषयमा व्यापक छलफल भएको थियो। पत्रकार शालिग्राम पाण्डे, सुविद गुरागाईं, बन्धु पोखरेल, सुमन पुरी, सञ्जीव वाग्ले, खेमचन्द्र अधिकारी, राजन केडी, विदुर खवास र मिनकुमार नवोदितलगायतले आफ्ना जिज्ञासा राखेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ सुनसरी का अध्यक्ष सन्तोष काफ्लेले स्वागत मन्तव्य राखेका थिए।

प्रदेश खबर अनलाइन (नयन एडभरटाइजिङ मिडिया प्रालि) को आयोजनामा सम्पन्न समिटमा घोषणा पत्र तयार पार्न नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काको संयोजकत्वमा हिमाल दाहाल र शिशिर भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो।

यस्तो छ घोषणापत्रको बुँदाहरू :

१. नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको अवस्थामा संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने उपयुक्त र अनुकुल वातावरण बनाउने गरी भूमिका निर्वाह गर्न यो मिडिया समिट माग गर्दछ।

२. अनुकुलका समाचार प्रकाशन÷प्रशारण नगरेको निहुँमा विभिन्न मिडिया र पत्रकारमाथि भौतिक आक्रमण तथा धाकधम्कीका घटनाहरू भइरहेका छन्। यस्ता घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ।

३. सूचना विभागबाट पत्रकारहरुलाई प्रदान गर्दै आएको प्रेस पासलाई सहज ढंगले प्रदान गर्ने वातावरण मिलाउन र प्रेस पासको दुरुपयोग रोक्न सम्मेलन माग गर्दछ।

४. सम्पादकीय स्वतन्त्रतालाई दृढतापूर्वक कार्यान्वयन गर्नको लागि वातावरण तयार गर्न सम्मेलन माग गर्दछ। साथै, समाचार कक्षको स्वतन्त्रताका लागि पनि उपयुक्त वातावरण मिलाउन सम्मेलनको निश्कर्ष रहेको छ।

५. मर्यादित पत्रकारिताको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्न प्रेस काउन्सिल नेपालसँग यो सम्मेलन माग गर्दछ।

६. ‘मिस इन्फर्मेसन र डिस इन्फर्मेसन’को बाढी आइरहेको बेला पत्रकारहरुले थप विश्वसनीय र जवाफदेहि भएर काम गर्नुपर्नेमा सम्मेलनले निष्कर्ष निकाल्यो। सम्पूर्ण पत्रकारले आचारसंहिताको पूर्ण पालना गर्ने संकल्प गर्दै पत्रकार आचारसंहितालाई समय सापेक्ष परिमार्जन र परिस्कृत गर्न यो सम्मेलन माग गर्दछ।

७. सूचना प्रविधिमा आएको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रिया पनि प्रभावित भएको कुरा अस्वीकार गर्न सकिदैन्। यस पृष्ठभूमिमा पत्रकारितासँग सम्बन्धित आचारसंहिता सम्बन्धमा नयाँ ढंगले छलफल गर्नुपर्ने सम्मेलनले निश्कर्ष निकाल्यो।

८. सामाजिक सञ्जाल र मिडिया तथा ‘कन्टेन्ट क्रिएटर’ र पत्रकारबिचको भेदलाई बुझाउने गरि मिडिया साक्षरता र चेतनामूलक अभियान सञ्चालन गर्न सरकारी नियमनकारी निकाय तथा सरोकारावाला पक्ष सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा सम्मेलन जोड दिन्छ।

९. सरकारले वितरण गर्दै आएको विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन माग गर्दछ। साथै संकटमा रहेका सञ्चार गृहलाई सरकारले अनुदान तथा ‘सफ्ट लोन’को व्यवस्था गर्न सम्मेलन माग गर्दछ।

१०. विज्ञापन बोर्डमार्फत लोककल्यणकारी विज्ञापनमा लाग्दै आएको कर छुट गर्न सम्मेलन माग गर्दछ।

११. सञ्चारगृहलगायत सरोकारवाला निकायहरुले श्रमजीवी पत्रकार ऐन तथा नियमावली लागू भए नभएको अनुगमन गरि त्यस्ता कानुनको सम्बन्धित निकायले सिघ्र लागू गर्नुपर्ने सम्मेलन माग गर्दछ।

१२. सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भई श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षाको सुनिश्चित गर्न यो सम्मेलन माग गर्दछ।

१३. लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्तिका साथै प्रेस स्वतन्त्रताको रक्षार्थ पेशागत संगठनहरूलाई थप सशक्त बनाउने संकल्प यो सम्मेलनले लिएको छ।

१४. कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम कोशी पर्यटन वर्ष २०८२ को अन्तिम चरणमा आइ पुगेकाले गर्दा यसलाई सफल बनाउन र समग्र कोशी प्रदेशको विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता यो सम्मेलनले जनाएको छ। पूर्वकै केन्द्रमा पर्ने इटहरीको समग्र दिगो विकासमा पनि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्दता सम्मेलनले गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *