देउवाको बयान- मेरो घरमा भेटिएको रकम भन्दै फैलिएको भिडियो एआई जेनेरेटेड हुनुपर्छ
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाट ठूलो षड्यन्त्रपूर्ण रहेको बताएका छन्। जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले यस्तो बताएका हुन्।
उनले भदौ २४ को घटनामा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने मागसमेत गरेका छन्। जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले आफ्नो निवासमा भएको घटना र सामाजिक सञ्जालमा फैलिएका विवरणहरूबारे स्पष्टीकरण दिँदै ती सबै भ्रामक र एआई जेनेरेटेड हुन सक्ने बताएका छन्।
भदौ २३ गते आफू बुढानिलकण्ठस्थित निजी निवासमै रहेको र सोही साँझ बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन तत्कालीन प्रधानमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ।
भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू आफ्नो निवासमा भेला भई नाराबाजी गरेको र सुरक्षाकर्मीले रोक्दा-रोक्दै आफूहरूमाथि हातपात भएको उनले बताएका छन्। केही जेनजी युवाहरूले बचाएपछि मात्र राति १० बजेतिर सुरक्षित स्थानमा पुग्न सफल भएको भनाइ छ।
‘सामाजिक सञ्जालमा आएका मेरो घरसँग सम्बन्धित कतिपय विवरणहरू षड्यन्त्रपूर्वक बनाइएको छ। ती आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार पारिएका सामग्री हुन्,’ उनले भने।
प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको भन्ने आरोपलाई खण्डन गर्दै देउवाले आफूले कहिल्यै पक्षपातपूर्ण काम नगरेको जिकिर गरे। भदौ २३ र २४ गतेको घटनामा प्रहरीले सही आँकलन गर्न नसकेको विषयलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment