नियमित स्क्रिनिङ र समयमै पहिचानले क्यान्सरको जोखिम घटाउन सकिन्छ: डा. अन्जनीकुमार झा

डिसी नेपाल
११ असोज २०८३ १०:१६

काठमाडौं। नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले बताएका छन्। क्यान्सरको जटिल उपचारमा लाग्नुभन्दा रोगको समयमै पहिचान र जोखिम न्यूनीकरणका उपायहरू अपनाउनु बढी प्रभावकारी हुने उनको भनाइ छ।

डा. झाका अनुसार सबै प्रकारका क्यान्सर पूर्ण रूपमा रोक्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र धूमपानसँग सम्बन्धित फोक्सोको क्यान्सरजस्ता रोगहरूको जोखिम समयमै परीक्षण (स्क्रिनिङ) र जनचेतनामार्फत घटाउन सकिन्छ।

विशेष गरी ३५ देखि ४० वर्ष कटेका महिलाहरूमा म्यामोग्राम तथा पाठेघरको मुखको क्यान्सरका लागि ‘VIA’ लगायतका परीक्षणबारे अझै पर्याप्त जागरुकता नभएको भन्दै उनले अस्पतालहरूले निःशुल्क सेवा दिँदा समेत परीक्षण गराउने प्रवृत्ति अपेक्षाकृत रूपमा बढ्न नसकेको बताए।

शरीरमा समस्या देखिएपछि मात्र अस्पताल जाने परिपाटीले उपचार जटिल बन्ने भएकाले गाडी जस्तै मानव शरीरको पनि नियमित ‘प्रिभेन्टिभ सर्भिसिङ’ वा स्वास्थ्य परीक्षण आवश्यक रहेको उनले उल्लेख गरे।

यस्तै नेपालमा क्यान्सरलगायत जटिल रोगको उपचारका लागि दक्ष जनशक्ति भए पनि काम गर्ने वातावरण, उपकरण र पूर्वाधारको अभाव कायमै रहेको डा. झाले औंल्याए। चिकित्सकलाई मात्र एक्लै पठाएर गुणस्तरीय सेवा सम्भव नहुने भन्दै उनले नर्सिङ, फार्मेसी, ल्याब र रेडियोलोजीसहितको सम्पूर्ण टोली र पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए।

नेपालमा उपचार सम्भव छैन भन्ने नकारात्मक भाष्यका कारण केही बिरामी बाहिर जाने गरेको भन्दै उनले स्वदेशी स्वास्थ्य सेवामा विश्वास बढाउनुपर्नेमा जोड दिए। साथै, प्रत्येक अस्पतालमा एमआरआई र सीटी स्क्यानजस्ता महँगा उपकरण थुपार्नुभन्दा जनसङ्ख्या र बिरामीको चापका आधारमा नीतिगत रूपमा उपकरणको व्यवस्थापन गरिनुपर्ने उनको सुझाव छ।

स्वास्थ्य क्षेत्रको लगानीलाई तत्कालै प्रतिफल खोज्ने किराना पसलको नाफा-घाटा जस्तो दृष्टिकोणबाट हेर्न नहुने बताउँदै डा. झाले यसलाई स्वस्थ जनशक्ति निर्माणको दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने बताए।

काठमाडौं क्यान्सर सेन्टरले नयाँ बिरामीको रोग दुई-तीन दिनभित्रै पहिचान गरी तुरुन्त उपचार सुरु गर्ने तथा बिरामीलाई पर्याप्त समय दिएर परामर्श र हेरचाह प्रदान गर्ने प्रयास गरिरहेको जानकारी पनि उनले दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *