नख्खु कारागारका डिएसपीको बयान- भदौ २४ मा रविलाई भीडले बाहिर लग्यो
काठमाडौं । नख्खु कारागारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका डिएसपी संगम श्रेष्ठले भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट भागेको बताएका छन्।
जाँचबुझ आयोगसँगको बयानमा श्रेष्ठले राज्यविहीनताको मौका छोपेर लामिछाने जेलबाट निस्किएको बताएका हुन्। उनले तीनदेखि चार हजारको संख्यामा जम्मा भएको भीडले लामिछानेलाई दश मिनेटभित्र बाहिर निकाल भनी चेतावनी दिएको र दिउँसो ३ बजेतिर कारागारबाट बाहिर निकालेको बताएका छन्।
‘उहाँले भीडलाई सम्झाउँछु भनी माइकसमेत खोजी रहनुभएको थियो भने म कानूनी रुपमा कारागारभित्र छु, पत्र नलिईकन बाहिर जान्न भन्नुभएको थियो। हल्लाका कारण भीडले सुरक्षाकर्मीलाई हम्मेहम्मे बनाएको अवस्था थियो। त्यही भीडले करिब ३ बजेतिर रवि लामिछानेलाई कारागारबाट बाहिर लिएर गएको थियो,’ उनले भनेका छन्।
अगाडी उनले भनेका छन्, ‘कारागारको मूलगेट २–३ पटकसम्म तोडफोड हुँदासम्म पनि डटेर भीडसँग व्यवस्थापन कार्यमा लागिरहेका थियौं। उक्त दिन भएको आगजनीलाई समेत एपीएफले निभाउने कार्य गरेको थियो। मैले मेरो बुद्धिविवेकले भ्याएसम्म व्यवसायिक रुपमा कार्य सम्पादन गरेको थिएँ। मैले कोही पनि कैदीबन्दीलाई भगाउने–भगाउन सहयोग गर्ने कुनै कार्य गरेको छैन भनी आयोगसमक्ष जाहेर गर्दछु।’
यस्तो छ डिएसपी श्रेष्ठको बयान
म नख्खु कारागारमा कमाण्डरको रुपमा मिति २०८२–०४–०१ गतेदेखि मिति २०८२–०७–०२ गतेसम्म कार्यरत थिएँ। २०८२ भाद्र २४ गते नख्खु कारागारमा बिहानको समय अरु दिनहरुको जस्तै सामान्य थियो। भाद्र २३ गतेको घटनाको कारण भीड जम्मा भई नख्खु कारागारमा समेत आउनसक्ने पूर्वानुमान गरी उपलब्ध कन्सोर्टिना र फलामको पोलहरुबाट मूलगेटमा राख्नको लागि व्यारिकेड बनाएको थिएँ।
बिहान करिब १०ः०० बजे नख्खु कारागारको सम्बन्धित निकायहरु कारागार प्रशासन,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगातार रुपमा हुनसक्ने सम्भावित भीडको घटनामा के कसरी व्यवस्थापन एवं नियन्त्रण गर्ने भन्ने विषयमा गहन रुपमा छलफल तथा उपायहरुमा जिल्ला सुरक्षा समितिलाई अनुरोध गरी थप सुरक्षाकर्मी कारागार बाहिर खटाउन आवश्यक निष्कर्षमा पुगी कारागार प्रशासकज्यूले सुरक्षा समितिलाई अनुरोध गरिरहनुभएको थियो। त्यसपछि कारागारमा रहेका तीन वटा ब्लकमा ताला लगाउने कार्य गरिएको र प्रत्येक ब्लकका नाइके,भाइनाइकेसमेत कारागार प्रशासनको कार्यालयमा डाकी सुरक्षित रहन भनिएको थियो।
कारागारबाहिर प्रदर्शनकारीहरुको आवागमन भइरहेको थियो भने ती प्रदर्शनकारीहरु भैँसेपाटी मन्त्री क्वार्टरतर्फ गइरहेका थिए। अन्दाजी १०ः३०–११ः०० बजेको समयमा नख्खु कारागारको उत्तर अन्दाजी ७००–८०० मिटर भीड भेला जम्मा भएको,नारा जुलुस एवं टायर बालेर नारा लगाइरहेको खबरसमेत एनआइडीका असई सा”ब रमेश चौधरीले जानकारी गराइरहनुभएको थियो।
त्यसैगरी ललितपुरको हरिसिद्धीलगायत बिआइसीसी भवन जलिसकेको र सुरक्षाकर्मीहरु हताहत भएको एवं हातहतियारसमेत लुटेको सोसल मिडियाबाट जानकारी प्राप्त भइरहेको थियो। कारागार प्रशासकज्यूले पटकपटक सम्बन्धित निकायमा थप सुरक्षाकर्मीको लागि रिपोर्ट गरिरहनुभएको थियो। उक्त दिन बिहानै सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेसबाट असईको कमाण्डमा मोबाइलमा १० जनाको नफ्री मन्त्री क्वार्टरमा खटाइएको थियो। त्यसैगरी कारागारको सुरक्षार्थ जु.प्र.अ.को कमाण्डमा मेनगेटमा १५ जना,प्रत्येक ब्लकमा ७–७ जना र पेरिमिटरमा लाईट पोइन्टमा नियमित ५ जनाको टोली खटाएको थिएँ।
करिब १३ः०० बजेतिर भीड कारागारको मेनगेटमा भेला हुन शुरु गरेका थिए। ३०००–४००० को संख्यामा जम्मा भेला भएकाले रवि लामिछानेलाई १० मिनेटभित्र बाहिर निकाल् भनी तोडफोड,आगजनी र आक्रमणको चेतावनी दिइरहेका थिए। सो विषयमा मेनगेटमा खटिएका स.प्र.स.नि.ले रिपोर्ट गरेपछि मैले सुरक्षाकर्मीहरुलाई बिफ्रिङ गर्नका लागि सामेल गरेर न्यूनतम बल प्रयोग गर्नका लागि निर्देशन दिइरहेको अवस्थामा नेपाल प्रहरीको कमाण्डर र कारागार प्रशासकले आदेश आयो रविलाई निकाल्ने भन्ने विषय जानकारी गराएपछि सिआरसी ब्लकबाट रवि लामिछानेलाई उहाँको परिवारलाई सम्म भेट्न दिने भनी कारागारभित्र रहेको मनोसामाजिक अस्पतालमा नेपाल प्रहरीको इन्स्पेक्टर र कारागार प्रशासकसमेत भएर मनोसामाजिक अस्पतालसम्म पुर्याएका थियौं।
करिब १४ः०० बजेतिर मेनगेट तोडफोड गरी आक्रोशित भीड कारागार परिसरभित्र आएको थियो भने सुरक्षाकर्मीले करिब १ घण्टासम्म सम्झाईबुझाई गर्ने,लाठीचार्ज गर्नेगरी भीड सम्हालि रहेको थियो। त्यही क्रममा रवि लामिछाने अस्पतालबाट भीड भएको मेनगेटमा जानुभयो। उहाँको सुरक्षा हाम्रो जिम्मेवारी भएको हुँदा भीडबाट अलग गरी उहाँलाई केही मिटर पछाडि कारागारभित्र रहेको पिपलबोट चौतारीमा पुर्याइएको थियो। उहाँले भीडलाई सम्झाउँछु भनी माइकसमेत खोजी रहनुभएको थियो भने म कानूनी रुपमा कारागारभित्र छु, पत्र नलिईकन बाहिर जान्न भन्नुभएको थियो। हल्लाका कारण भीडले सुरक्षाकर्मीलाई हम्मेहम्मे बनाएको अवस्था थियो। त्यही भीडले करिब १५ः०० बजेतिर रवि लामिछानेलाई कारागारबाट बाहिर लिएर गएको थियो।
फेरि भीड १५ः३० बजेतिर कारागारमा आई ढुंगामुढा,तोडफोड र आगजनी गरेको अवस्थामा सम्झाईबुझाई गर्ने,संयम अपनाउने तथा न्यूनतम बल प्रयोग गर्नेगरी म स्वयम् फिल्डमा उत्रँदा भीड केहीबेर तितरवितरसमेत भएको थियो। त्यसपछि नेपाल प्रहरीको टोली कारागार परिसर छाडी गयो। अब फिल्डमा हामी सशस्त्र प्रहरी बेसबाट खटिएको जम्मा नफ्री ४६ जनामात्र भयौं। नेपाल प्रहरीको ५२ जनाको नफ्री थियो। कारागार प्रशासनको कार्यालय तोडफोड,आगजनी,सवारीसाधनहरुमा आगजनी गर्दै कारागारमा रहेका ३ वटै ब्लक भीडले ताला तोडी कैदीबन्दीहरुलाई भगाएको थियो।
कतिपय कैदीबन्दीहरु सुरक्षाकर्मी रहेको स्थानमा सुरक्षित हुनसमेत आएका थिए भने भीडले हामीलाई हतियार फाल,चुस्ता खोली भागेर जाऊ भनिरहँदा उनीहरु पनि भागिरहेका थिए। नख्खु कारागारबाट कैदीबन्दीहरुलाई भीडले भगाएका थिए। यो घटना करिब १६ः०० बजेदेखि १६ः १५ बजेको समयमा भएको थियो। नेपाल प्रहरीको एक जवानसमेत सशस्त्र प्रहरीको सुरक्षा बेसमा सुरक्षित हुन आएका थिए। उनीसँग १ नाल ३०३ राईफल थियो। उहाँलाई एपीएफको चुस्ता लगाई उहाँको हतियारसमेत सुरक्षित गर्न सफल भएका थियौं।
उक्त सशस्त्र प्रहरी बलले २१ ग्यास सेल,६ राउण्ड ब्ल्याङ्क र ५ राउण्ड हवाई फायर गरेको थियो। हामी सशस्त्र प्रहरी बलका कर्मचारीले भीडलाई संयमित भई सम्झाईबुझाई गरी तथा कारागारभित्र रहेको मनोसामाजिक अस्पताल,विपश्यना ध्यान केन्द्र,कारागार प्रशासनको १ बोलेरो पिकअप गाडी, १ पानी ट्याङ्कर १, मनोसामाजिक अस्पतालको सवारीसाधन १,सिआरसी ब्लक जोगाउन सफल भयौं।
उक्त दिन भीडले गरेको तोडफोड,आगजनीको अवस्था र भीडको संख्यासमेत अधिक हुँदा भीडमा घातक हतियार प्रयोग गर्ने अवस्थामात्र रहेको अवस्थामा मानवीय क्षतिलाई मध्यनजर गरी कार्य गरिएको हो। सशस्त्र प्रहरी बलले आवश्यक पहल लिई उक्त अराजक स्थितिलाई कम र नियन्त्रण गर्न आफ्नो क्षमता,साधन एवं परिस्थितिमा भरपुर प्रयास गरेको थियो। उक्त दिन बिहानैदेखि सामाजिक सञ्जालमा सुरक्षाकर्मीको हातहतियारसमेत लुटी लगेको भन्ने विषयले भीडबाट समेत गोली चल्नसक्ने परिस्थितिलाई हरदम संयमित भई कार्य गरेको हो।
२०८१ भाद्र २४ गते कारागारमा १२८१ जना कैदीबन्दी थिए। कैदीबन्दीहरु लगभग १५ः५० देखि १६ः१५ सम्म कारागारबाट बाहिर भगाइएको थियो। सिआरसी ब्लकको चौकीदार रविन शाही, मूल नाइके अशोक खड्की,डिआरसी ब्लकको चौकीदार विशाल ध्वज कार्की,मूल नाइके उज्वल खत्री र न्यू ब्लकको चौकीदार नृप साउद,मूल नाइके सजल कार्की थिए। मूलभूत रुपमा आन्तरिक प्रशासनको जिम्मेवारी पाएका कैदीबन्दीले कारागार प्रशासन एवं सुरक्षाकर्मीलाई आ-आफ्नो तर्फबाट सहयोग गर्ने कार्य गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई कारागारभित्र पनि बाहिरबाट आएको आक्रोशित भीडका कारण सुरक्षा चुनौती थियो। उहाँलाई दिइएको पत्रको सम्बन्धमा मलाई केही जानकारी थिएन। म फिल्डमा भीड व्यवस्थापन कार्यमा खटिएको थिएँ। म आफैं पनि घाइते भएको अवस्था थियो। उक्त दिन मेरो इन्स्पेक्टरसमेत घाइते भएका थिए। रवि लामिछानेलाई रुपन्देही कारागारबाट नख्खु कारागारमा मिति २०८२–०४–३१ गते ल्याउँदा नख्खु कारागार बाहिर सुरक्षार्थ नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको थियो भने २०८२ भाद्र २४ गतेको घटनामा कहीं कतैबाट थप सुरक्षाकर्मी आएको थिएन। घटनालाई विश्लेषण गर्दा २०८२ भाद्र २४ गतेको घटना अझ बढी हिंस्रक,अराजक एवं ठूलो संख्या थियो।
एपीएफ कारागार परिसर राति २२ः३० बजेसम्म पनि नछाडी तैनाथ नै रहेको थियो। नेपाली सेनाको टोली आएपछि मात्र हामी गणमा फिर्ता भएका हौं । राज्यका कार्यालयहरुको तोडफोड,आगजनी र हतियार लुटपाटको खबरले समेत हामी सुरक्षाकर्मीलाई प्रभावित गरेको अवस्था थियो। त्यससँगै कारागारमा खटिएको नेपाल प्रहरीको टोलीले आफ्नो युनिट छाडी गएपछि सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई संयमित डिउटीमा तैनाथी गर्न अझ चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो।
कारागारको मूलगेट २–३ पटकसम्म तोडफोड हुँदासम्म पनि डटेर भीडसँग व्यवस्थापन कार्यमा लागिरहेका थियौं। उक्त दिन भएको आगजनीलाई समेत एपीएफले निभाउने कार्य गरेको थियो। मैले मेरो बुद्धिविवेकले भ्याएसम्म व्यवसायिक रुपमा कार्य सम्पादन गरेको थिएँ। मैले कोही पनि कैदीबन्दीलाई भगाउने–भगाउन सहयोग गर्ने कुनै कार्य गरेको छैन भनी आयोगसमक्ष जाहेर गर्दछु।







डिसी नेपाल







Facebook Comment